logo
२०८० चैत्र १५ बिहीवार

  दृश्य समाचार  



पार्टीले दे भन्दैमा प्रमले राजीनामा दिने होइन, दिन मिल्दैन : डा.अधिकारी

अन्तरवार्ता |
मुख्य समाचार |


पार्टीले दे भन्दैमा प्रमले राजीनामा दिने होइन, दिन मिल्दैन : डा.अधिकारी


लक्की चौधरी
काठमाडौं, मंसिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलको संसदीय दलमा वा प्रतिनिधिसभामा बहुमतको विश्वास नगुमाउँदै राजीनामा दिन नमिल्ने संविधानविद डा. बिपिन अधिकारीले बताउनुभएको छ । अहिले प्रधानमन्त्रीले राजीनामा दिन मिल्ने कुनै आधार नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओली आफ्नै दलको घेराबन्दीमा पर्नुभएका बेला गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै डा. अधिकारीले भन्नुभयो, “जसले उहाँलाई प्रधानमन्त्री बनायो, त्यहाँ बहुमत नगुमाउँदै कसैको चाहनाकाआधारमा प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन, प्रधानमन्त्रीसँग अहिले बहुमत छ, राजीनामा दिने कुरै हुँदैन ।” प्रक्रियाअनुसार अहिले संसदमा अविश्वासको प्रस्ताव लग्ने अवस्था पनि नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

“संविधानको व्यवस्थाअनुसार अहिले न राष्ट्रपतिले न प्रधानमन्त्रीले एकल रुपमा संसद भङ्ग गर्न सक्नुहुन्छ, निश्चित कार्याविधि र समय तोकेर गठन भएको संसद हो, यस्तो अवस्थामा संसद भङ्ग गर्न सकिदैन” डा। अधिकारीले भन्नुभयो, “संसदीय पद्धति भएको मुलुकमा पार्टीले चाहेर मात्र प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन, त्यसकालागि संसदीय प्रक्रिया पूरा गर्नुपर्छ ।”

अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएका उल्झन राजनीतिक विवाद भएको बताउनुहुँदै संविधानविद डा। अधिकारीले पार्टीभित्रको कलह विभिन्न रुपमा प्रकट भएपनि त्यो राजनीतिक भागबण्डामा केन्द्रित रहेको बताउनुभयो । “प्रधानमन्त्रीसँग बहुमतको सरकार छ, पार्टीले राजीनामा दे भन्दैमा उहाँले राजीनामा दिने होइन, दिन मिल्दैन” डा.अधिकारीले प्रधानमन्त्रीको राजीनामाको विषय कानुनीरुपमा निकै जटिल रहेको प्रष्ट पार्नुभयो ।

‘बैकल्पिक प्रधानमन्त्री को हो र संसदमा अविश्वासको प्रस्ताव गएपछि त्यसबारे सोच्नेबेला हुने, तर त्यस्तो अवस्था अहिले नरहेको’ डा.अधिकारीले बताउनुभयो । अहिले प्रधानमन्त्रीले चाहेमा ‘संसद भङ्ग गर्न सक्छन्’ आशंका गर्नु केटाकेटी कुरा भएको बताउँदै डा। अधिकारीले भन्नुभयो, “यो केवल राजनीतिकरण गरिएको कुरा हो, प्रधानमन्त्रीले यस्तो गर्न सक्ने संवैधानिक अवस्था नै छैन ।”

संसदीय व्यवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था हुने भएकाले पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा माग्ने बित्तिकै राजिनामा आउने विषय नभएको उहाँले प्रष्ट पार्नुभयो । पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्यले प्रक्रिया पु¥याएर राजीनामा मागे मात्र त्यो अवस्था आउने बताउनुहुँदै उहाँले अहिले दलको घरझगडाले प्रधानमन्त्रीको राजीनामा आउन नसक्ने दावी गर्नुभयो ।

“प्रधानमन्त्रीले स्वईच्छाले पदबाट राजीनामा दिनुभयो भने अर्कै कुरा हो, नत्र राजीनामाका लागि उहाँलाई अहिले बाध्य पार्न सकिदैन” डा। अधिकारीले भन्नुभयो, “पार्टीले प्रधानमन्त्रीलाई केरकार गर्न, दुःख दिन मात्र सक्छ, प्रक्रिया नपु¥याएसम्म पदबाट हटाउन सक्दैन ।” अहिले देखिएको नेकपाको आन्तरिक विवाद धेरै हदसम्म राष्ट्रिय राजनीतिको परिपेक्ष्य देखिदैन उहाँले भन्नुभयो ।

पार्टीले प्रधानमन्त्रीको विरोध गरेपनि संवैधानिक मसला थप्न नसकेको बताउनुहुँदै संविधानविद डा.अधिकारीले कोरोना महामारीकाबेला पार्टी नेतृत्वको सरकारलाई काममा सहयोग गर्न छाडेर पार्टीले आफ्नै दलका नेताको नेतृत्वमा बनेको सरकारको विरोध गर्नु उचित नभएको बताउनुभयो । “यदि प्रधानमन्त्रीको डुङ्गाभन्दा पार्टीको डुङ्गा ठूलो छ भने पार्टीले खोला टर्न सक्छ, तर यहाँ त पार्टी आफै डुब्ने अवस्थामा देखिन्छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीलाई संसदप्रति जावाफदेही बनाउन छाडेर पार्टीले प्रधानमन्त्रीलाई नचाउने ‘उग्र साम्यवादी चिन्तन’को बाटो लिएको भन्दै उहाँले त्यसरी देश चल्न नसक्ने बताउनुभयो । त्यसको कानुनी र संवैधानिक आधार नदेखिएको उहाँले प्रष्ट पार्नुभयो । “सरकारको कामकाज र कार्यशैलीमा प्रशस्त समस्या देखिएको हो भने त्यसको निदान पार्टीले नै खोज्नुपर्ने हो” उहाँले बताउनुभयो ।

“संसदीय प्रक्रिया पारदर्शी हुन्छ, त्यहाँ प्रतिपक्षी पनि हुन्छन्” भन्नुहुँदै डा.अधिकारीले भन्नुभयो, “कैफियत र जवाफदेही बनाउने ठाउँ संसद नै भएकाले पार्टीले त्यहाँ के गर्न सक्छ र पार्टीको झण्डा बोकेर संसदभित्र कामकारवाही गर्न त सक्दैन, त्यसले पार्टीको इमेज कमजोर बनाउँछ ।” अहिले बलियो सरकार भएकाले देश विकास गर्नमा सिङ्गो पार्टीले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

देशको प्रधानमन्त्री छान्नका लागि अरवौं रुपियाँ खर्च गरेर निर्वाचन गराइने गरिएकाले प्रधानमन्त्रीलाई संसद र जनताप्रति जवाफदेही बनाउनमा दवाव दिनुपर्ने भन्दै उहाँले समस्याको समाधान पनि संसदबाटै खोज्नु उपयुक्त हुने बताउनुभयो । “संविधानमा स्थीर सरकारको अवधारणा ल्याउनुको कारण पनि पारदर्शी र जवाफदेही बनाउनकै लागि हो” उहाँले भन्नुभयो । यो मान्छेलाई नै प्रधानमन्त्री बनाउँछौं भनेर निर्वाचनमा गएर मत ल्याएको पार्टीले अहिले आएर यस्तो विवाद गर्न सुहाउने विषय नभएको उहाँले प्रष्ट पार्नुभयो ।

सरकारको विकल्प खोज्नु अस्थिरता निम्त्याउनु हो
“सरकारले आफूलाई सुधार गर्नुपर्ने विषय छ भने त्यसमा समिक्षा गर्न सकिन्छ तर सरकारको विकल्प खोज्नु भनेको मुलुकमा फेरि अस्थिरता निम्त्याउनु हो” डा। अधिकारीले भन्नुभयो, “यो विकल्प तयार गर्न अहिलेको बहुमतलाई तोडमोड गरेर, विग्रह गरेर पुन निर्माण गर्न खोज्नु प्रजातान्त्रिक सोच होइन ।”

सत्तामा गएपछि भागबण्डा गर्नैपर्छ, पैसा कमाउनै पर्छ, अर्को निर्वाचनलाई तयारी गर्नुपर्छ, कार्यकर्तालाई जागिर दिनुपर्छ भन्ने सोच नै गलत भएको बताउनुहुँदै डा। अधिकारीले नेपालमा सही राजनीतिक संस्कृतिको विकास अझै हुन नसकेको बताउनुभयो । जनताका लागि अवसर खोज्नु, विकास गर्नु नै सही राजनीतिक संस्कृति भएको उहाँले प्रष्ट पार्नुभयो । गलत राजनीतिक संस्कृतिकै कारण यसअघिका पञ्चायती शासन व्यवस्था र राजतन्त्र नटिकेको उहाँले बताउनुभयो ।

संविधान आएको पाँच वर्ष भएपनि राजनीतिक संस्कृतिको विकास हुन नसकेको बताउनुहुँदै डा। अधिकारीले त्यसतर्फ दलका नेताहरुको ध्यान जानुपर्ने सुझाव दिनुभयो । “सरकार त आउँछन् जान्छन्, तर जनताप्रतिको शपथ जे लिएको हुन्छ, त्यसमा ध्यान दिनु नै जननिर्वाचित सरकारको दायित्व हो” उहाँले भन्नुभयो । प्रजातन्त्रकै हितका लागि पनि जनताको सेवामा केन्द्रित हुनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।

अहिले बलियो सरकार भएपनि संविधानमा भएका राम्रो व्यवस्थाको कार्यान्वयन गर्न सरकार असफल रहेको बताउनुहुँदै डा। अधिकारीले नेकपाका नेताहरुलाई त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । अहिले पनि पचासौं वटा विभिन्न विधेयकहरु संसदमा थुप्रिएर रहेको बताउनुहुँदै उहाँले संसदले कानुन चाँडो बनाउन नसके कार्यान्वयनको बाटो सफल हुन नसक्ने प्रष्ट पार्नुभयो ।

संसदले कानुन न बनाइदिने, बनाइएका कानुन कार्यान्वयन नहुने हो भने काम कसरी हुन्छ रु जिज्ञासा गर्नुहुँदै उहाँले भन्नुभयो, “संसद चलेन भने प्रजातन्त्रको रक्तसञ्चार हुन सक्दैन, संसद चलेमात्र सबै अङ्ग चलायमान हुन्छ, सरकारी पद्धतिको टिकाउपनाका लागि पनि संसद चल्न अनिवार्य हुन्छ ।” संसदको सर्वोच्चता कायम गरी निर्णयहरु जनमुखी गर्न उहाँले आग्रह गर्नुभयो ।

के हो निदान 
राजनीतिमा जहाँ पनि निकास हुन्छ भन्नुहुँदै डा। अधिकारीले राजनीतिमा स्पष्ट उद्देश्य, पद्धति, प्रक्रिया पनि हुनेगरेको बताउनुभयो । डा। अधिकारीले भन्नुभयो, “जहाँ राजनीतिको आधार एउटा हात अगाडि र अर्को हात पछाडि भयो, एक हातले जिन्दाबाद भन्ने अर्को हातले मुठ्ठी देखाउने हो भने निकास आउँदैन ।” नेकपा जनताप्रति जिम्मेवारी बोकेको पार्टी भएकाले उसले राम्रो काम गर्नमै केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

“केवल आफूलाई केन्द्रमा राखे राजनीति गर्ने हो भने निकास आउँदैन” भन्नुहुँदै डा। अधिकारीले पार्टीको पद्धति र प्रणालीलाई निकासमुखी, क्रियामुखी र परिणामुखी बनाउन सुझाव दिनुभयो । नेकपा अहिले नेपाली राजनीतिमा ठूलो शक्ति भएकाले उसले एकतावद्ध भएर सरकारको काममा सहयोग गरे सरकारको काम जनमुखी बनाउने अवसर भएको बताउनुभयो ।

“नेकपा पार्टीका राम्रा कुरा पनि होलान्, तर नराम्रो तरिकाले राम्रो कुरा स्थापित हुँदैन” डा। अधिकारीले भन्नुयो, “माउ पार्टीले माऊ भएर बस्ने अनि संसदीय दललाई अघि सारेर पार्टीका नीतिगत एजेण्डाहरु कार्यान्वयन गराए मात्र सफलता प्राप्त हुन्छ ।” ओली नेतृत्वको सरकारले तीन वर्ष बिताइसके पनि जनताको विषयमा छलफल गर्नुभन्दा दलकै विवादमा अल्झनु मुलुकको लागि विडम्बना भएको बताउनुभयो । यसरी जनमुखी काम हुन नसक्ने उहाँले तर्क गर्नुभयो ।

संसदीय व्यवस्थामा कुनै पनि प्रधानमन्त्री निर्विकल्प नहुने भए पनि भएको प्रधानमन्त्रीलाई काम गर्ने अवसर प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । बाह्य दवावलाई कम गरी संसदलाई बलियो बनाउनु नै समस्याको समाधान हो उहाँले सुझाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?