logo
२०८१ बैशाख ८ शनिवार



सम्पूर्ण व्यवसायीको हितमा काम गर्नेछौँ

अन्तरवार्ता |


सम्पूर्ण व्यवसायीको हितमा काम गर्नेछौँ


गत चैतमा नै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन यही मङ्सिर ११, १२ र १३ गते हुँदै छ । निजी क्षेत्रको छाता सङ्गठन महासङ्घको नेतृत्व विधानतः शेखर गोल्छाले गर्दै हुनुहुन्छ भने त्यसपछिको नेतृत्व वरिष्ठ उपाध्यक्षको चयन यस निर्वाचनको मुख्य आकर्षण हो । त्यही नेतृत्वका लागि हाल महासङ्घको उपाध्यक्षमै रहनुभएका व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आआफ्ना प्यानलसहित वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसै सन्दर्भमा महासङ्घको निर्वाचनमा प्यानलको तयारी र एजेन्डालगायतका विषयमा किशोर प्रधानसँग गोरखापत्रका पत्रकार गोपालचन्द्र सुवेदीले गर्नुभएको अर्थवार्ता यहाँ प्रस्तुत गरिएको छ :

निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको प्रक्रियामा म एउटा समूह निर्माण गरेर हिँडेको छु । यो समूहले भविष्यमा मिलेर काम गर्नेछ । यो समूहलाई सबैको साथ छ । यो सशक्त समूहले देशको अर्थतन्त्रको निर्माणमा ठूलो सहयोग गर्ने इच्छा राखेको छ । व्यवसायीको हित जहाँ हुन्छ त्यहाँ काम गर्ने हाम्रो लक्ष्य छ । व्यवसायीको हित रक्षा गर्ने कर्तव्य सम्झेर हामी समूहबद्ध भएर आएका हौँ । यहीका लक्ष्यसाथ हाम्रो तयारी सहज रूपमा अघि बढेको छ ।

निर्वाचनका लागि तपाईले निर्धारण गरेका एजेन्डा के के हुन् त ?
समूहमा रहँदाका एजेन्डामा मूल कुरा भावी अध्यक्षले निर्धारण गरेका एजेन्डा कार्यान्वयन गर्नु पनि रहन्छ । दुई/तीन वर्षका लागि अब नयाँ अध्यक्ष बन्न लाग्नुभएका शेखर गोल्छाज्यूको एजेन्डा कार्यान्वयन गर्ने नै हाम्रो पनि एजेन्डा हो । हामी उहाँकै एजेन्डामा जाने हो । उहाँले १० वर्षे, १५ वर्षे योजना बनाउनुभएको छ । त्यसैमा हाम्रा एजेन्डालाई समाहित गरेर संयोजन गरेर जाने हो ।
मेरा एजेन्डाका कुरा गर्दा मैले १५/१६ वटा सोच बनाएको छु । कृषि क्षेत्रलाई पहिलो आधार बनाएको छु । यसको उद्यमशीलता विकास गर्नुपर्ने हुन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सङ्गठन र सचिवालयकोे सुदृढीकरण अर्को योजना छ । अहिले व्यवसायीको मानमर्यादा खस्किएको छ । जुन मानमर्यादा हामीले पाउनुपर्ने हो त्यो पाएका छैनौँ । त्यो हासिल गर्न कुनै पनि हदसम्म सरकारसँग लबिङ गर्नेछौँ । उद्योगी–व्यवसायीको प्रतिष्ठा बढाउनैपर्छ । अर्को कुरा पछिल्लो समय निर्यात व्यवसाय खस्केको छ त्यसको अवस्था सुधार गर्नलाई हामी सक्रियता बढाउन पहल गर्नेछौँ । यस्ता व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने छ । बैङ्क करलगायतका विषय पनि छन्, त्यसमा सम्पूर्ण साना, मझौला व्यवसायीको हितमा काम गर्नेगरी हामीले सोच बनाएका छौँ ।

आफ्नो विजयप्रति कति आश्वस्त हुनुहुन्छ ?
मेरो विजयप्रति म पूरै आश्वस्त छु । त्यही भएर नै निर्वाचनमा लड्न लागेको हुँ । जित्छु भन्ने पहिलो र सबैभन्दा ठूलो आधार मेरो संलग्नताको हो । म यो क्षेत्रमा २७/२८ वर्ष काम गरिसकेको छु । अहिलेसम्म कर्तव्यनिष्ठ भएर लागेको मान्छे हुँ म । मेरो इमानदारीलाई सबैले स्वीकार्नुहुन्छ भन्ने लाग्छ । इमानदारीको आधार बलियो पनि छ ।
त्यसभन्दा बढी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण उद्यमी–व्यवसायी साथीहरू मेरा आधार हुन् । मैले सबैको माया पाइरहेको छु, निर्वाचनमा पनि पाउने छु । अझ अर्को आधार भनेको महासङ्घका पूर्वअध्यक्षहरूको आशीर्वाद पनि छ मलाई । वर्तमान र हुनेवाला अध्यक्षले पनि सहयोग गरिरहनुभएको छ । यो पनि ठूलो आधार छ । जित्ने आधार मेरा प्रशस्त छन् ।

भावी अध्यक्षले पनि सहयोग गर्नुभएको छ भन्नुभयो । यसो गर्दा विधानको मर्ममा असर पार्दैन ?
विधानमा कहीँ पनि त्यस्तो गर्न पाइँदैन भनिएको छैन । केहीले यसलाई गलत भनेको सुनिन्छ तर उहाँहरूले आफूले गरेको यही काम ठीक अरूले गरेको फेरि बेठीक भनेजस्तो गर्नुभएको छ । पहिले आफूले त्यस्तै गर्ने अनि अहिले हामीले यसो गर्दा बेठीक भन्ने कुरा हुँदैन । यो ठूलो कुरा होइन, विगतमा यस्तो हुँदा ठीक हुने अहिले हाम्रो पालमा बेठीक भन्नु मूर्खता होजस्तो लाग्छ ।

यो चुनावमा पनि व्यवसायीबीच चरम राजनीति देखियो नि, कस्तो लाग्छ ?
हो, यो बढेको छ । त्यो राम्रो होइन । यो कुराको सुरुवात हामीले गरेनौँ । निर्वाचित अध्यक्षले आफ्नो पदाधिकारी छान्न त पाउनुपर्छ । यसलाई राजनीति नै भन्न मिल्दैन । यो निर्वाचित अध्यक्षले आफूले भविष्यमा काम गर्ने पदाधिकारी छान्न पाउने कुरा हो । राजनीतीकरण बढेको छ तर त्यो हाम्रा कारणले होइन । महासङ्घमा केही व्यक्तिका कारण राजनीतीकरण बढेको छ । महासङ्घमा एक खाले प्रदूषण बढेको छ । त्यही प्रदूषण हटाउनका लागि महासङ्घका भावी अध्यक्ष गोल्छाज्यूले प्रयास गर्नुभएको छ । र हामी पनि त्यसका लागि समूह बनाएर लागेका छौँ । यो टिमले कहीँ पनि राजनीतिक कुरा नगर्ने भनेका छौँ । हामी स्वाधीन रूपमा काम गर्ने हो । नेपाल उद्योग वाणिज्य महासङ्घ भनेको नेपाल सरकारको सधैँजसो प्रतिपक्षका रूपमा काम गर्नुपर्ने हुन्छ । त्यसका लागि हामी सक्रिय हुनुपर्छ, चनाखो हुनुपर्छ ।

सहमतिको सम्भावना कत्तिको रहेको छ ?
मैले सहमति हुनुहुँदैन भनेको छैन । सहमतिको सम्भावना त सधैँ रहिरहन्छ । सहमतिको वातावरणले व्यवसायीको एकीकृत स्वरूप पनि देखाउँछ । कुनै पनि बेला हुनसक्छ । समय आएर वातावरण बनेमा राम्रै छ । केही पूर्वअध्यक्षज्यूले पहल पनि गरिरहनुभएको छ । उहाँहरूले निश्चित मापदण्ड बनाउनुहुन्छ होला । त्यस्तो मापदण्ड बनाएर हामीलाई बोलाउनुहुन्छ होला । छलफल होला, सम्भावना अझै छन् । वातावरण बन्यो भने राम्रै होला ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?