logo
२०८१ बैशाख ६ बिहीवार



पहिरो पीडितको हातमा जग्गाधनी लालपूर्जा   

प्रदेश |


पहिरो पीडितको हातमा जग्गाधनी लालपूर्जा   


तनहुँ, असोज १४गते।पहिरोमा पुरिएर तनहुँको ऋषिङ गाउँपालिकाका आमबहादुर थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो । गत असार २८ गते राति परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिका–८ भैँसीकिल्लीका थापा परिवारको पाँच सदस्यको मृत्यु भएको थियो भने पाँच घर पूर्ण रुपमा क्षति भएको थियो ।    
    
 पहिरोले थापासहित स्थानीयवासी हरिकुमार थापा, हिरासिं थापा, भविसरा सुनारी मगर र देवकुमारी थापाको घर पूर्ण रुपमा क्षति पु¥याएपछि ऋषिङ गाउँपालिकाले उनीहरुका लागि जग्गा किनेर जग्गाधनी लालपूर्जा प्रदान गरेका छन् ।    
    
 पहिरोको उच्च जोखिममा रहेकाले उक्त क्षेत्रबाट ती घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । जग्गा खरिद गरी हातमा लालपूर्जा प्रदान गरेपछि उनीहरुले घर निर्माणका लागि प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।    
    
 पहिरोका कारण घर तथा भौतिक संरचना पूर्ण रुपमा क्षति भएका पाँच घरपरिवारलाई रु एक लाखका दरले कूल रु पाँच लाख रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले प्रति परिवारका लागि सात आनाका दरले जग्गा खरिद गरी जग्गाधनी लालपूर्जा हस्तान्तरण गरेको हो । उहाँले भन्नुभयो, “गाउँपालिकाले प्रति परिवारका लागि २० हात मोहडा र ४० हात पिछाड भएको जग्गा घर निर्माण तथा अन्य प्रयोजनका लागिसमेत पुग्ने गरी सात आना उपलब्ध गराइएको छ ।” गाउँपालिकाले सुरक्षित स्थानमा जग्गा खरिद गरी स्थानान्तरण गरेपछि पीडित परिवारले सुरक्षितको अनुभूति गरेको स्थानीय देवबहादुर थापाले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?