logo
२०८१ बैशाख ७ शुक्रवार



काँग्रेसमा सर्वसम्मत नेतृत्वको बहस

मुख्य समाचार |


काँग्रेसमा सर्वसम्मत नेतृत्वको बहस


नारद गौतम

काठमाडौँ, असोज ११ गते । नेपाली काँग्रेसभित्र केन्द्रदेखि तल्लो तहसम्म गुटउपगुट हाबी भएको भन्दै गुुटविहीन सर्वसम्मत नेतृत्वको आवाज उठेको छ । सिद्धान्त, विचार, नीति, रणनीतिविहीन गुुटबन्दीले यस्तोे आवाजलाई भरथेग गरिरहेको छ । सिद्धान्तविहीन गुटले एक अर्कालाई धसाउने र खुट्टा तानेर ढाल्ने कसरत मात्र देखिएको कतिपयको भनाइ छ । यो प्रवृत्तिबाट आगामी दिनमा काँग्रेसलाई मुक्त बनाएर राष्ट्रको भरोसायोग्य पार्टी बनाउन सर्वसम्मत नेतृत्वको खोजी हुनुपर्ने बहस महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको हो ।
यही गुटको राजनीति कायमै रह्यो र १४औँ महाधिवेशनमा मतदानमा पुग्दा पद, पैसा, शक्तिको खेल हुने र त्यसबाट काँग्रेसभित्रको गुट झन् मौलाउने चिन्ता काँग्रेसभित्रै गरिँदैछ । कतिपय नेताले अमेरिकाजस्तो देशमा पनि निर्वाचनमा प्रसारको महìव हुन्छ भने नेपालमा नहुने कुरा छैन भन्दै काँग्रेसमा धन नहुनेले पनि चुनावमा उम्मेदवार भएर जित्न सक्ने वातावरण बनाउनु जरुरी रहेको बताउँछन् ।

सर्वसम्मत नेतृत्वका आधार

राजनीति शास्त्रका एक प्राध्यापकको विचारमा काँग्रेसमा वरिष्ठता, निरन्तरता, सार्वजनिक छवि, सङ्गठनमा प्रभाव, पार्टीका नेता तथा कार्यकर्तासँग घुममिल गर्न सक्ने क्षमता, निजी आचरण र व्यवहार, जातीय, क्षेत्रीय, भू–सन्तुलनलाई आधार मानेर सर्वसम्मतिको प्रयास गर्न सकिन्छ ।
यसैगरी, अब आउने नेतृत्वले पार्टीभित्रको एकता कायम गर्न सकोस्, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न सक्ने खुबी राखोस् । अन्य राजनीतिक दलसँग उभिएर संवाद गर्ने, तर्कसङ्गत जवाफ राख्न सक्ने, छिमेकी देश भारत र चीनसँग असल सम्बन्ध कायम गर्न सक्ने क्षमता राखोस्, यी आधारमा सर्वसम्मत नेतृत्वको खोजी गर्न सकिने भनाइ विज्ञहरूको छ ।
काँग्रेसभित्र हालसम्म स्पष्ट तीन धार देखिन्छ–सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । यी तीनै जना १३औँ महाधिवेशनमा प्रतिस्पर्धी हुनुहुन्छ । पछिल्लो समय सभापति देउवा निकट विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिको दाबी गर्नुभएको छ भने पौडेल समूहमा त सभापतिको उम्मेदवार बन्नेको सङ्ख्या लगातार बढ्दैछ । महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइरालादेखि अन्य नेताले पनि दाबी प्रस्तुत गर्नुभएको छ ।

 सर्वसम्मत नेतृत्वको प्रस्ताव

बीपी कोइरालाको जन्मजयन्तीको दिन भदौ २४ गते आयोजित कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले पार्टीमा सर्वसम्मत नेतृत्वको प्रस्ताव राख्नुभयो । उहाँको तर्क छ, पार्टीमा वैचारिक एकता–प्रस्टता र सङ्गठनात्मक एकता कायम गर्नसक्ने नेतालाई सर्वसम्मतिबाट चयन गर्दा राम्रो हुन्छ तर उहाँ सभापति देउवाको समर्थनमा आफैँ सभापति बन्न चाहनुहुन्छ । सभापति देउवाले जसरी विभागहरू गठन गर्दै हुनुहुन्छ, त्यसले उहाँ आफैँ मैदानमा उत्रने तयारीमा रहेको स्पष्ट हुन्छ ।
वरिष्ठ नेता पौडेल उपसभापति निधिको सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राम्रो हो, सर्वसम्मतका आधार स्पष्ट हुनुपर्छ भन्नुहुन्छ । उहाँ पनि काँग्रेसको सभापतिको उम्मेदवार बन्ने दौडमा हुनुहुन्छ । यसैगरी, प्रकाशमान सिंह अर्को दावेदार हुनुहुन्छ भने महामन्त्री शशाङ्क कोइराला त ‘आफूबाहेक सभापति देउवालाई कसैले पराजित गर्न नसक्ने’ दाबी गर्दै हिँड्नुभएको छ ।

 सम्भव छ सर्वसम्मत नेतृत्व ?

केन्द्रीय सदस्य गुरुराज घिमिरेको विचारमा पहिलो पुस्ता देउवा र पौडेलबाट अबको नेतृत्व सम्भव छैन । उहाँ भन्नुहुन्छ, ‘‘देउवा र पौडेल मार्गदर्शक भएर दोस्रो पुस्ताका नेता जोसुकैलाई सर्वसम्मत बनाउँदा हुन्छ तर देउवा र पौडेलले नै आफैँले चाहनुभयो भने हामीलाई जहाँ फाले पनि हुन्छ भन्ने अवस्थाले हामी मान्न तयार छैनौँ ।”
केन्द्रीय सदस्य गगनकुमार थापाको प्रश्न छ, “सर्वसम्मत नेतृत्व चयनको कुरा भनेको पुरानो नेतृत्व सर्वसम्मत हुने भयो । पहिलाकै जिल्ला समिति, पहिलाकै महाधिवेशन प्रतिनिधि, पहिलाकै क्षेत्रीय समिति सबै पहिलाकै घोषणा गर्ने त ? यस्तो पनि हुन्छ ? कसैले सर्वसम्मत गरौँ भन्छ भने त त्यही भनेको हो ।” नेता थापा त काँग्रेसको नेतृत्व अब युवा पुस्ताले गर्ने हिम्मत गर्नुपर्ने तर्क राख्नुहुन्छ ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल “सर्वसम्मत नेतृत्व चयनको कुरा जबर्जस्त र नक्कली कुरा हो, यो सम्भव छैन” भन्नुहुन्छ । उहाँको मत छ, “पार्टीमा यथास्थितिलाई बदल्नुपर्छ भन्ने कुरा आएको छ, यो कार्यशैलीप्रति कसैको सहमति छैन, महाधिवेशन भनेको नेतृत्व, कार्यशैली र मुद्दा परिवर्तनका लागि हो । नेतृत्व स्पष्ट विषयवस्तु लिएर आउनुपर्छ, प्रतिस्पर्धाको आधार स्पष्ट हुनुपर्छ ।”
केन्द्रीय सदस्य कल्याण गुरुङ भने पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको कुरा गर्दा भोलि पार्टी बहुमतमा आउँदा राज्य सत्ताका पद र पार्टीका पद मिलाएर लान सकिने सुझाव दिनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?