logo
२०८० चैत्र १६ शुक्रवार



खेतमै उम्रिन थाल्यो धान

अर्थ |


खेतमै उम्रिन थाल्यो धान



धनगढी समाचारदाता

धनगढी, असोज ११ गते । कैलालीका किसानलाई धान भित्र्याउन समस्या भएको छ । मनसुन सकिने बेला पनि सक्रिय भइरहेका कारण पाकेको धान भित्र्याउन समस्या भएको हो ।
जिल्लाको विभिन्न स्थानमा फाटफुट रूपमा धान काट्ने कार्य सुरु भएको छ तर काटेको धानलाई पानीले भिजाउँदा नोक्सान भएको कृषकको भनाइ छ । काटेको धान भिजेर खेतमै उम्रिन थालेको धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका कृषक रामप्रसाद रानाले बताउनुभयो ।
धान काटेलगत्तै आएको पानीका कारण खेतबाट धान उठाउनै पाइएन, उहाँले भन्नुभयो, “काटेको धान भिजेर खेतमै उम्रिन
लागेको छ । ”
त्यसो त हावापानीले गर्दा कतिपय किसानको धान खेतमै ढलेको छ । पानी भएको खेतमा ढलेका धान पनि नोक्सान भएको किसानले बताएका छन् । धान पाकेर काट्नका लागि तयार भइसकेको उनीहरूको भनाइ छ तर खेतमा जमेको पानी र विभिन्न समयमा भइरहेको वर्षाका कारण काट्न नपाएको दुःखेसो पोखेका छन् ।
धान पाकेर तयार भइसके पनि भित्र्याउन नपाउँदा खेतमै नोक्सान भइरहेको कैलारी गाउँपालिका–७, रामपुरका कृषक रवीन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पाकेको धान बालीलाई फौजी कीराले नोक्सान गरिरहेको उल्लेख गर्नुभयो ।
धान काटौँ भने फेरि पानी पर्ने हो कि भन्ने चिन्ता, चौधरीले अगाडि थप्नुभयो, “नकाटौँ पाकेको धानलाई फौजी कीराले नोक्सान गरिरहेका छन् । ” आफ्नो क्षेत्रको खेतमा धान बालीलाई जङ्गली हात्तीले समेत नोक्सान गर्न थालेकाले आफूहरू धान बाली भित्र्याउनका लागि हतारिन थालेको उहाँले उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?