logo
२०७७ कार्तिक ४ मंगलवार

खर्कमै बित्यो आधा शताब्दी

मुख्य समाचार |


2020-09-27-23463



राजन रावत

चुवाखोला (हुम्ला), असोज ११ गते । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उहाँहरूको दैनिकी यसरी बित्दै आएको छ । उहाँहरूको आधा शताब्दी खर्कमै बितेको छ ।
सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा अहिले ७० वर्षकी हुनुभयो । बीस वर्षको उमेरदेखि खर्कमा बस्दै आउनुभएकी लामाले अब त जिन्दगी पनि यसैमा बित्ने बताउनुहुन्छ । ठ्याक्कै आधा शताब्दी भयो अर्थात् ५० वर्ष । सदरमुकाम सिमकोटसमेत नदेख्नुभएकी लामालाई खर्कमै बस्न रमाइलो लाग्ने लाग्छ । जेठ महिनामा गाउँ छोडेर खर्कतिर लाग्ने खर्कालाहरू कात्तिक महिनापछि मात्र फिर्ता हुन्छन् । चुवाखोला क्षेत्रको राकार्बुसम्म खर्क सारिन्छ ।
अहिले त वन क्षेत्र उहाँहरूका लागि सामान्यजस्तो लाग्न थालेको छ । चिसो बढेसँगै खर्कहरू पनि सार्न थालिएको छ । लामाले आफू मात्र खर्क नभई नाति–नातिनी, बुहारी पनि राखेको बेलिविस्तार सुनाउनुभयो । किनकि हिमाली क्षेत्रमा एक वर्षमुनिका शिशु भएका आमा पनि खर्कमै राख्ने गरिन्छ ।

साना नानीलाई स्वच्छ हावापानी हुने हुँदा खर्कमा पठाइन्छ । “उति बेला पढ्ने चलन थिएन, खर्कै रमाइलो थियो,” उहाँ थप्नुहुन्छ, “अब पढ्ने चलनले नानीहरू खर्क ढुक्कले बस्दैन ।’’
वर्षाको पानीमा भने केही आपत् आउने र पानीमा भिज्दै चौँरी गाईलगायत पशु खोज्न जाँदाको पीडा भने उहाँलाई ताजै छ । दैनिक रूपमा काम गरिरहेको बानीले होला खर्कालुहरू बलिया पनि उस्तै देखिनुहुन्छ । अर्को खर्कमा बिहानै पशुलाई चराउन पठाउनु, खोले पकाउनु, मही पार्नु बिहान ९ देखि १० बजेसम्म दुहुने काम, दिउँसो वनमा पठाउनु, छुर्पी सुकाउनु, दाउरा जम्मा गर्नु त खर्कालाका लागि दैनिक दिनचर्या नै हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप