logo
२०८० चैत्र १६ शुक्रवार



‘साउदीमा कम्पनीहरू सुचारु भइसके, हामी काममा छौँ’

पढ्नै पर्ने |


‘साउदीमा कम्पनीहरू सुचारु भइसके, हामी काममा छौँ’


कमल आचार्य, साउदी अरेबिया

पाँच वर्षदेखि म साउदी अरबको दम्माम शहरमा रहँदैआएको छु । वैदेशिक रोजगारीको सिलसिलामा विगत आठ वर्षमा यूएई, सिङ्गापुर, बहराइन, मोरक्कोलगायत देशमा गएको छु ।
अहिले साउदी अरबमा एक प्रतिष्ठित ट्रेडिङ कम्पनीमा सेल्स कोअर्डिनेटरको रुपमा काम गर्छु ।

विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव साउदी अरबमा पनि परेको छ । यहाँको सरकारले कोरोना सङ्क्रमण थप फैलन नदिन कडा सतर्कता अपनाएको छ । यद्यपि साउदीमा एक महिनादेखि लकडाउन भने खुला भएको छ ।

लकडाउन खुलेसँगै यहाँको जनजीवन सामान्य अवस्थामा फर्किएको छ । सडकमा गाडी पहिलेकै अवस्थामा चलेका छन् ।

होटल, रेस्टुराँ, सुपर मार्केट, खाद्यान्न पसल, अस्पताललगायत धेरै कम्पनी खुला भएका छन् । एक महिनाभन्दा बढी लकडाउनका कारण काममा जान नपाएका नेपालीहरू काममा फर्किएका छन् ।

पहिले बन्दका कारण घर फर्कने सोच बनाएका नेपालीहरू पनि काममा फर्किएका छन् । शुरुमा लकडाउनका कारण काम नभएपछि मैले पनि घर फर्कने सोच बनाएको थिएँ तर कम्पनी खुलेपछि तत्काल घर नजाने सोचमा छु । काम रोकिएपछि तनावमा भएका मजस्ता धेरै नेपाली काम सुचारु भएपछि खुसी देखिन्छन् ।

यहीँ अलपत्र परिने भइयो भनेर चिन्ता गर्ने धेरै साथीहरू काम खुलेपछि अहिले भिसा थपेर काम गर्न चाहेको देख्न सकिन्छ ।

लकडाउन खुले पनि मास्क नलगाउने र सामाजिक दूरी कायम नगरी अटेर गर्नेलाई सरकारले कारबाही गर्ने बताएकोले यी नियम पालना गरिएको छ । साउदीमा रहेका सबैले पूर्ण रुपमा सरकारको नियम, कानुन पालना गरेको देख्न सकिन्छ ।

बैङ्क, रेमिट्यान्स, होटल, सुपर मार्केट, अस्पतालगायत सम्पूर्ण क्षेत्रमा कम्तीमा एक मिटरको दूरी कायम गरिएको छ । होटल, रेष्टुराँमा बसेर खानेको लागि टेबलको दूरी कायम गरिएको छ ।
पहिलेभन्दा खाद्यान्नलगायत दैनिक जीवनमा प्रयोग हुने वस्तुको मूल्य केही बढेको छ, तर पनि काम चलेपछि नेपालीहरू खुसी नै छन् ।

साउदी सरकार, यहाँ रहेको नेपाली राजदूतावासलगायत विभिन्न संंस्थाहरूले समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छन् ।

(साउदी अरबको दम्माम शहरमा रहनुभएका आचार्यसँग गोरखापत्र अनलाइनका पत्रकार मुकुन्द गैरेले गर्नुभएको कुराकानीमा आधारित )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?