logo
२०८० चैत्र १५ बिहीवार



स्मार्टफोन बिक्रीमा ह्वावेइले सामसुङलाई उछिन्यो

अर्थ |


स्मार्टफोन बिक्रीमा ह्वावेइले सामसुङलाई उछिन्यो


बेइजिङ, साउन १५ गते । चीनको स्मार्टफोन निर्माता कम्पनी ह्वावेइले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार ह्वावेइले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो ।
क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको ह्वावेइले पाँच करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकी सामसुङले यही अवधिमा पाँच करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । अमेरिकी प्रतिबन्धका कारण ह्वावेइका मोबाइल सेटहरूको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमा ह्वावेइका सेटहरूको माग तीव्र छ । ह्वावेइका सेटहरूमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ ।
क्यानालिसका अनुसार ह्वावेइका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र ह्वावेइलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिनुभएको छ ।
दुरसञ्चार नेटवर्किङ उपकरण उत्पादनमा वर्चश्व कायम गर्न थालेको ह्वावेइलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले ह्वावेइका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदैआएको छ । अमेरिकाले हालैमात्र ह्वावेइलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?