logo
२०७७ श्रावण ३१ शनिवार

नेपाल अत्यन्तै खराब समयका लागि तयार बस्नुपर्छ

अन्तरवार्ता |


2020-07-28-19379


नेपालमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या नियन्त्रित देखिन्छ । परीक्षण दरलाई लिएर एक प्रकारको असन्तुष्टि कायमै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिनसकेको दाबी गर्दैआएको छ । राजधानी काठमाडौँमा छिटफुट रुपमा सङ्क्रमित फेला पर्दैआएका छन् । तर राजधानीबाहिर प्रदेश १ को विराटनगर, प्रदेश २ को राजविराज र वीरगञ्ज तथा मध्यपश्चिमको दैलेखमा झुण्डमै सङ्क्रमित फेला परेका छन् । यसै सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोस भेन्डेलरसँग कोभिड–१९ सङ्क्रमण सम्बन्धमा नेपालको अवस्थाबारे गोरखापत्र अनलाइका ईश्वरचन्द्र झाले गर्नुभएको अन्तर्वार्ताको सारसंक्षेप -

पछिल्लो पटक केही शहरमा झुप्पोमै सङक्रमित फेला परेका छन् । बाहिरबाट आएका छैनन्, यात्रा वृत्तान्त पनि छैन तर पनि सङ्क्रमित भएका छन् । समुदायमा सङ्क्रमण फैलिएको भन्न मिल्दैन ? नेपालमा कोभिड–१९ को सङ्क्रमण कुन अवस्थामा छ ?
विश्व स्वास्थ्य सङ्गठनले सुरुदेखि नै नेपालमा समुदायमा सीमित मात्रामा सङ्क्रमण रहेको भन्दैआएको छ । तर ठूलो सङ्ख्यामा समुदायमा सङ्क्रमित छैनन् ।
वीरगञ्जमा झुण्डमै सङ्क्रमितको पुष्टि भयो । तर उक्त झुण्ड स्थानीय सङ्क्रमणको शृङ्खलाको कारणले भएको छ । र आवश्यक सतर्कता अपनाइए समुदायमा ठूलो मात्रामा फैल्न पाउन्न ।
प्रारम्भिक अवस्थामै ठूलो सङ्ख्यामा सङ्क्रमितको तरङ्ग देखिएको प्रदेश १ को उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा हो । तर परीक्षणको दायरा बढाएर सही तवरमा आइसोलेट गर्दै सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्दा ठूलो सङ्ख्यामा समुदायमा सङ्क्रमण फैलन पाएन । प्रदेश २ मा पनि उपयुक्त कदम चालिए स्थानीयमा देखिएको सङ्क्रमणको झुण्डले ठूलो सङ्ख्यामा समुदायमा फैलन पाउँदैन र नियन्त्रण गर्न सकिन्छ ।
हामी दैनिकरुपमा उपलब्ध डाटालाई केलाउँदैछौँ, डाटा उत्तम र पूर्ण छैन । तर पनि केही विशेषताहरू देखिएका छन् । गत जुन र जुलाइमा धेरै बढी बिरामी फेला परे । निगरानी गर्ने निकायले सबै बिरामीको अन्तवार्ता लिन पाएनन् र सबै बिरामीको यात्रा वृत्तान्त लिन पाएन । दुई तिहाइ बिरामीको यात्रा वृत्तान्त बुझ्न सकियो । प्रणालीमा उपलब्ध डाटा अनुसार ९५ प्रतिशत बिरामीले अन्तर्राष्ट्रिय यात्रा गरेको देखिएको छ ।
अझै बढी भन्नुपर्दा, देशभरि असमान रुपमा सङ्क्रमित फेला परे । र करिब ८६ प्रतिशत पुरुष सङ्क्रमित छन् (बाग्मती प्रदेशमा ६९ प्रतिशत अतिरिक्त अन्य प्रदेशहरूमा ७५ प्रतिशतभन्दा बढी पुरुष छन् ।) यसले के सङ्केत गरेको छ भने खतरामा पर्ने समूह जनसङ्ख्याको ठूलो हिस्सा छैन । खतरामा परेका समूह वैदेशिक कामदार छन् जो युवा उमेर समूहका छन् ।

यदि समुदायमा फैलिएको हो भने कुन कुन भूभागमा समुदायमा फैलिएको हो ?
सबैभन्दा पहिला हामीले सङ्क्रमणको अवस्थाबारे बुझ्न जरुरी छ ।
सङ्क्रमित फेला नपर्नु
– छिटफुट फेला पर्नु
– झुण्ड ‘क्लष्टर’मा फेला पर्नु
– समुदायमा सङक्रमण हुनु
यी चार चरण गतिशील हुन् । यसमा फेरबदल हुनसक्छ ।
नेपालमा गण्डकी र बाग्मती प्रदेशमा दोस्रो चरणको छिटफुट रुपमा सङ्क्रमित पाइएको छ । बाँकीको पाँच प्रदेशमा झुण्डमा सङ्क्रमित फेला परेका छन् । नेपाल अझै ठूलो सङ्ख्यामा समुदायमा सङ्क्रमणको अवस्थामा पुगिसकेको छैन । तर छिटफुट रुपमा सङ्क्रमित अवस्थामै पनि समुदायमा समेत व्यक्ति–व्यक्तिबीचको सम्पर्कले सङ्क्रमण निम्तिएको छ ।

राजधानी शहर काठमाडौँको अवस्था के छ ?
बाग्मती प्रदेश नेपालमै सबैभन्दा कम सङ्क्रमित फेला पर्ने मध्येको एक हो । तर यसो भनिरहँदा समुदायमा व्यक्ति–व्यक्तिबीच सङ्क्रमण नसरेको तात्पर्य होइन । सरेको हो, तर अझै ठूलो सङ्ख्यामा भइसकेको छैन ।
सात दिनको औसत सङ्क्रमित सङ्ख्या हेर्दा बाग्मती प्रदेश र देशैभरि पनि घातक रुपमा सङ्क्रमित वृद्धि भएको देखिन्न । यो सबै सकारात्मक सङ्केत हो तर आत्मसन्तुष्टि भने बिलकुलै दिन्न । यो आँधीबेहेरीपूर्वको शून्य पनि हुन सक्छ । नेपालले अत्यन्तै खराब समयको लागि तयारी गरेर बस्नुपर्छ ।

नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या थोरै छ के कारणले होला ? विश्वको अपेक्षा नेपालको मृत्युदर कहाँ छ ?
नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या करिब ४४ छ (सोमबार सम्म) । कुल सङ्क्रमित १८ हजार ३७४ छन् । जुन करिब ०.२४ प्रतिशत हुन आउँछ । विश्वको औसत ४.१ प्रतिशत छ । यसरी हेर्दा मृत्युदरमा नेपाल विश्वको औसतभन्दा धेरै मुनि छ । यसको मुख्य कारण सङ्क्रमित भएका अधिकांश वैदेशिक रोजगारमा गएकाहरू छन् । जुन युवा समूहका छन् । र तपाईंलाई जानकारी छ, अधिकांश मृत्युको घटना वृद्ध उमेर समूहको दर्ता गरिएको छ र त्यसमा पनि पहिलेदेखि नै बिरामी हुने मृतक बढी छन् । नेपालमै थोरै मात्रै वृद्ध उमेर समूहका व्यक्ति सङ्क्रमित छन् । मृत्युदर कम हुन गएको हो । त्यसो हुनाले समुदायमा सङक्रमण सीमित मात्रामा फैलिएको देखिन्छ । हामी अझै भन्छौँ – हाच्छ्यूँ गर्दा वा खोक्दा निस्किने छिटाबाट मुख्यरुपले कोभिड–१९ सर्छ । त्यसैले सामाजिक दूरी बनाउनु, मास्क लगाउनु र हात धुनु अझै महत्वपूर्ण हुन जान्छ ।

नेपालमा कोभिड–१९ को परीक्षणदर सन्तोषजनक छ ? विश्व स्वास्थ्य सङ्गठनको परीक्षण सम्बन्धमा मापदण्ड के छ ? प्रति हजारमा कति हुनुपर्ने हो ?
प्रकोपको आकारमा परीक्षण निर्भर हुनुपर्छ न की जनसङ्ख्यामा । कुनै पनि राष्ट्रमा नयाँ बिरामी कति थपिएका छन् र महामारीको कत्तिको प्रभावकारी रुपले समाना गरिएको छ । त्यसैले परीक्षणको सङ्ख्या जनसङ्ख्याको आधारमा गरिनु उचित उपाय होइन र जनसङ्ख्याको आधारमा कुनै राष्ट्रले कति परीक्षण गर्यो भन्नु पनि पर्याप्त होइन ।
यस्तै परिप्रेक्ष्यमा सरकारले यथार्थमा पर्याप्त परीक्षण गरिरहेको छ वा छैन केलाउन सङ्क्रमित फेला पर्ने दर (परीक्षण गरिएकोमध्ये सङ्क्रमित पुष्टि भएको) उपयुक्त र भरपर्दो माध्यम हो । उच्च दरमा सङ्क्रमित फेला पर्नुले सरकारले परीक्षणलाई उपचारको आवश्यकता रहेको बिरामीमा मात्रै केन्द्रित गरेको बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले सङ्क्रमण दर पाँच प्रतिशतभन्दा मुनि रहेको अवस्थामा मात्रै सामाजिक दूरीलगायत सतर्कताका उपाय खुकुलो बनाउने निर्देशिका जारी गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले तीन देखि १२ प्रतिशतसम्म सङ्क्रमित फेला पर्नुलाई सरकारले पर्याप्त परीक्षण गरिरहेको अवस्थालाई दर्शाउँछ । नेपालमा सङ्क्रमित फेला पर्ने दर करिब तीन प्रतिशत रहेको छ । डब्ल्युएचओले प्रत्येक सङ्क्रमितका लागि दश देखि ३० जनासम्मको परीक्षण गर्न सुझाव दिएको छ । नेपालमा एक जना सङ्क्रमितको पुष्टि हुँदा ३३ जनाको परीक्षण गरिएको छ ।
यसरी नेपालले दुवै मापदण्डमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र र अपेक्षित परीक्षण दरको नजिक परीक्षण गरिरहेको छ । र प्रयोगशाला तथा परीक्षण क्षमता विस्तारका लागि नेपाल सक्रिय प्रयास गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?