logo
२०८० चैत्र १६ शुक्रवार



डारफरमा जारी हिंसामा परी ६० जनाको ज्यान गयो

अन्तर्राष्ट्रिय |


डारफरमा जारी हिंसामा परी ६० जनाको ज्यान गयो


खार्तोम
साउन १२ गते । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएको हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उक्त हिंसामा परी अरु ६० जना जति नराम्ररी घाइते भएका संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरूले जानकारी दिएका छन् ।
पश्चिमी डारफरको मास्तेरी भन्ने गाउँमा करिब ५०० को सङ्ख्यामा आएका सशस्त्र हतियारधारीहरूले आक्रमण गरेका थिए । सो हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ भने अरु ६० जना नराम्ररी घाइते भएका छन् । उक्त क्षेत्रमा शनिबार अपराह्न सो हिंसा भएको राष्ट्रसङ्घीय सुरक्षा अधिकारीका साथै अधिकारवादी संस्थाहरूले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त क्षेत्रमा विगत लामो समयदेखि हिंसा भइरहेको भन्दै यसलाई पछिल्लो समयमा भएको एक ठूलो हिंसाका रुपमा लिइएको छ ।
उक्त मस्तेरी गाउँमा घरहरू भत्काइएका र जलाइएका छन् भने अरु पनि कैयाैँ पूर्वाधारहरू नष्ट भएका पनि बताइएको छ ।पश्चिम डारफरको सरकारी समाचार समिति सुनाले सो समाचार दिएको छ । सुनाले उक्त गाउँका विभिन्न जातीय समूहबीच सो हिंसा भएको बताएको छ ।
विभिन्न जातीय समूहरूका आ–आफ्ना सशस्त्र विद्रोही समूहहरू रहेका र उनीहरू एक आपसमा भिडन्त पनि गरेका सो समाचार समितिको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि हिंसा भएको सो क्षेत्रमा गएको जुलाई १३ मा सुरक्षा सङ्कटकालको घोषणा गरिएको थियो । तर त्यस यता पनि हिंसा भने रोकिएको छैन ।
सुडानी प्रधानमन्त्री अब्दुल्लाह हामदकले उक्त क्षेत्रका नागरिकको जीवन रक्षाका लागि सेना पठाउने जानकारी दिनुभयो । उहाँले हाल त्यहाँ खेतीबालीको मौसम रहेकाले यस समयमा हुनसक्ने हिंसा रोक्नका लागि पनि त्यस क्षेत्रमा आवश्यक परेको सङ्ख्यामा हामी सुरक्षाकर्मीहरू पठाउने तयारी गरेका छौँ भन्नुभयो ।
पश्चिमी सुडानी क्षेत्र डारफरमा गएको सन् २००३ देखि ठूलो हिंसा मच्चाइएको छ । त्यहाँ जातीय विद्रोही र सुरक्षा अधिकारीहरूका बीचमा त्यसयतादेखि नै हिंसा जारी रहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?