logo
२०७७ श्रावण ३१ शनिवार

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन

अन्तरवार्ता |


2020-07-23-19006


नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ । कोरोनाविरुद्धको लडाइँमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाल सरकारलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ । कोरोनाविरुद्ध नेपाल सरकारले गरेको कार्य प्रभावकारी रहेको निष्कर्ष डब्लूएचओका नेपाल प्रतिनिधि डा.जोस भ्यान्डेलरको छ । कोरोना महामारी र नेपालले यसविरुद्ध चालेका कदमलगायतका विषयमा गोरखापत्रका लागि गोपाल खनालश्रीओम श्रेष्ठले उहाँसँग लिनुभएको अन्तर्वार्ता :


 कोभिड–१९ को रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल सरकारलाई गरिरहेको सहयोग र सहकार्यबारेमा बताइदिनुहुन्थ्यो कि ?

नेपाल विश्व स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्रसङ्घको एक नियोगका रूपमा हामी विगत ६० वर्षदेखि नेपाल सरकारसँग सहकार्य गरिरहेका छौँ । विशेषतः हामी सरकार त्यसमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग काम गर्छौँ । महामारी बढ्न थाल्नेबित्तिकै नेपालले बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय ग¥यो । त्यस अवधिमा हामीले यहाँ कार्यरत हाम्रा कर्मचारीहरूलाई नयाँ प्रस्ताव ग¥यौँ । अहिले सबैजना कोभिडसँग जुध्न सरकार सँगसँगै गरिरहेका छौँ ।
हामीले सरकारसँग वृहत्तर क्षेत्रमा काम ग¥यौँ । एक शब्दमा भन्ने हो भने हामीले प्राविधिक सहयोग (टेक्निकल सपोर्ट) ग¥यौँ । प्राविधिक सहयोग थुप्रै क्षेत्रमा रहेको छ, जस्तो कि यस्तो बेला कुन–कुन सामग्रीहरू आवश्यक पर्छ भनेर पूर्वानुमान गर्न सहयोग ग¥यौँ, हामीसँग भएका समग्र महामारीको तथ्याङ्क विश्लेषण गर्न तथा यो कतातिर उन्मुख हुँदै छ भन्ने पत्ता लगाउन सहयोग ग¥यौँ । हामीले गाइडलाइन लेख्ने, हस्पिटलहरूलाई तयारी अवस्थामा राख्ने, तालिम दिने र सूचना प्रवाह गर्ने प्रक्रियामा पनि सहयोग ग¥यौँ । यी सबै क्षेत्रमा हामीले काम ग¥यौँ तर यी सबै सरकारले चालेको कदममा हाम्रो सहयोगमात्र हो ।

 अन्य मुलुकसँग तुलना गर्दा कोभिड रोकथाममा नेपालले चालेको कदमलाई तपाईं कसरी लिनुहुन्छ ?

विश्वव्यापी रूपमा हेर्नुहुन्छ भने अझै पनि ‘सङ्क्रमण’ बढिरहेको छ र मृत्युदर स्थिर देखिन्छ । हामीले अमेरिकाको वृद्धिदर देख्यौँ, त्यस क्षेत्रको वृद्धि पनि देख्यौँ । त्यसका साथै अफ्रिकी क्षेत्रमा केस बढिरहेको छ, युरोपमा धेर–थोर उस्तै–उस्तै देखिन्छ । कैयौँ देशमा सङ्क्रमण तीव्र देखिन्छ । हामीले नेपालमा पनि त्यही देखिरहेका छौँ तर नेपालले जसरी सङ्कटको सामना गरिरहेको छ, मलाई लाग्छ– नेपालले राम्रो गरिरहेको छ । सरकारले निकै छिटो बन्दाबन्दी घोषणा ग¥यो, भारतबाट मानिसले नेपाल प्रवेश गर्न थालेपछि तत्काल उनीहरूलाई क्वारेन्टाइनमा राख्यो ।
नेपालमा हामीले देखेको यो महामारी निकै विशेष र फरकखालको छ । सङ्क्रमितको सङ्ख्या वृद्धि भएर फेरि घट्न थालेको छ । नेपालमा सङ्क्रमितमध्ये ठूलो सङ्ख्या भारतबाट फर्किएकाहरूको छ । निकै सानो सङ्ख्यामा मात्र ट्रान्समिसन (फैलिएको) देखिएको छ । यहाँ समुदायगत रूपमा अहिलेसम्म त्यत्रो ठूलो सङ्क्रमण फैलिएको छैन । सङ्क्रमित बढ्नुका कारण पनि भारतबाट फर्किएकाहरूको सङ्ख्याकै कारण हो । जति भारतबाट फर्किनेको सङ्ख्या छ, त्यति नै सङ्क्रमितको बिन्दु माथि पुगेको छ । त्यसैले यो नेपालको विशेष परिस्थिति हो । यो निकै भिन्न छ, ९० प्रतिशत विदेशबाट फर्किएकाहरूमध्ये जसमा अधिकांश भारतबाट फर्किएकाहरू छन्, तिनमा ९० प्रतिशतको पीसीआर टेस्ट पोजिटिभ देखिएको छ ।
यसका अलावा हामीले नेपालमा अर्को तथ्य पनि देखिरहेका छौँ कि अधिकांश भारतबाट फर्किकाहरू युवा, त्यसमा पनि पुरुष छन् । त्यसैले यहाँका सङ्क्रमितहरूको तथ्य हेर्दा अधिकांश युवा पुरुषहरू देखिन्छन् । हामीलाई थाहा छ कि विश्वव्यापी अनुभवमा कोभिडले युवालाई कम प्रभाव पार्छ, युवामा कि त लक्षण नै देखिँदैन देखिए पनि निकै कम देखिन्छ र तिनीहरूको मृत्यु हुँदैन । त्यसैले नेपालमा नेपालको केस गैरलक्षणयुक्त छ र मृत्यु निकै कम छ ।
अहिलेसम्म समुदायगत रूपमा सङ्क्रमण फैलिएको नदेखिुनमा चाहिँ बन्दाबन्दी र क्वारेन्टाइनलाई धन्यवाद भन्नैपर्छ । क्वारेन्टाइनको व्यवस्थापनबारे केही विवादहरू रहेकोबारे हामी जानकार छौँ । सुरुमा क्वारेन्टाइनमा क्षमताभन्दा बढी मानिस हुने, चाहिनेजति सुविधा नहुने समस्या थियो । तर, त्यहाँबाट छनोट भएर पोजेटिभ देखिएकाहरूलाई अस्पतालमा राखेका कारणले सङ्क्रमण समुदायमा सर्न पाएन । हामीसँग खराब नतिजा नभए पनि सङ्क्रमणको ठूलो खतरा अझै टरेको छैन । कुनै न कुनै बिन्दुमा पुगेर सङ्क्रमण समुदायमा फैलन सक्छ । यदि तपाईं सहरी क्षेत्रको वरिपरि हेर्नुहुन्छ भने मानिस भौतिक (सामाजिक) दूरी कायम गरिरहेका छैनन् । मानिसले जे गर्नुपर्ने थियो त्यो गरिरहेका छैनन्, भाइरस सर्नका लागि जे चाहिन्छ त्यो गरिरहेका छन् । यदि तपाईं आपसमा अति नजिक भएर बस्नुहुन्छ, हात धुनुहुन्न, मास्क प्रयोग गर्नुहुन्न भने भाइरस सर्न सुरु हुन्छ ।
मलाई नेपालमा सङ्क्रमण फैलिन्छ कि भनेर एकदम डर लागिरहेको छ । अन्य देशहरूको अनुभवले भन्छ– एकपटक त्यस्तो भएमा नियन्त्रण गर्न निकै कठिन हुनेछ । सम्भवतः नयाँ बन्दाबन्दी वा स्थानीयस्तरको बन्दाबन्दी पुनः एकपटक आवश्यक पर्नेछ । म किन यसो भनिरहेको छु भने हामीले अन्य देशहरूमा देखेका छौँ– यो बिस्तारै सुरु हुन्छ र ह्वात्त बढ्छ । अन्य देशको फरक के छ भने उनीहरूमा नेपालमा जस्तो आप्रवासनबाट फर्किएकाहरू धेरै सङ्ख्यामा थिएनन् ।

 यसको मतलब, डब्लुएचओको प्रतिनिधिका रूपमा तपाईं नेपाल सरकारले चालेको कदमप्रति सन्तुष्ट हुनुहुन्छ ?

मैले सबै एकदम ठिकठाक छ भनिरहेको छैन । जहिले पनि गरिरहेकोभन्दा राम्रो गर्ने ठाउँ हुन्छ । मैले भनेँ– बन्दाबन्दी निकै कठिन निर्णय हो तथापि निकै चाँडो गरियो र यसले काम गरेकोजस्तो पनि देखियो । क्वारेन्टाइन पनि मानिसका लागि कठिन निर्णय हो तर यसले पनि काम गरेको देखियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई तयारी अवस्थामा राख्यो । स्वास्थ्य सामग्रीहरूको तयारी राम्रो छ, जुन अझै जारी राख्न जरुरी छ । मलाई लाग्छ, सङ्क्रमण बढ्नेबित्तिकै, जुन सम्भावना देखिँदै छ, यसका लागि धेरै मानिस प्रशिक्षित
भइसकेका छन् ।
सरकारले राम्रो गरेको छ तर जिम्मेवारी अझै सक्किएको छैन । अब कन्ट्र्याक ट्रेसिङतिर ध्यान दिनु जरुरी छ । यो निकै महŒवपूर्ण छ । सरकारले अब कन्ट्र्याक टे«सिङको काममा सुधार गर्न जरुरी देखिन्छ । मलाई लाग्छ, सङ्घीय सरकारले जे गर्न सक्छ गरिरहेको छ, त्यसमा स्थानीय र प्रादेशिक सरकारले पनि आफ्नो भूमिका बढाउनुपर्छ । यदि फेरि सङ्क्रमण बढेमा स्थानीय र प्रादेशिक सरकारको भूमिका निकै महŒवपूर्ण हुनेवाला छ ।

 तीनै तहका सरकारबीच आवश्यक सहकार्य भइरहेको देख्नुभएको छ ?

मैले के भन्न खोजेको हो भने ठूलो सङ्ख्याका डब्लुएचओका कर्मचारीहरू स्थानीय र प्रादेशिक सरकारसँग काम गरिरहेका छन् । नेपालमा अझै सङ्घात्मक व्यवस्थाले पूर्णता पाउनेक्रम जारी छ । यसले केही अप्ठ्यारो सिर्जना गरेको छ । प्रत्येकले एकआपसमा कसरी काम गर्ने ? सङ्घात्मक सरकारमा कसको जिम्मेवारी के हो भन्ने सिक्न जरुरी छ ।
मलाई थाहा छ, सङ्घीय सरकारले प्रादेशिक सरकारले चालिरहेको कदमसँग सहकार्य गर्न तथा एक आपसले के गरिरहेका छन् भन्ने बुझ्न साप्ताहिक भिडियो बैठक गरिरहेको छ । तर, यसमा अझ थप सहकार्य आवश्यक छ । सङ्घात्मक व्यवस्थाले सरकारलाई ७५३ वटा स्थानीय पालिकाहरूसँग काम गर्ने र सहयोग गर्ने अधिकार दिएको छ । यसमा सबैले साथ दिन जरुरी छ ।
हाम्रोतर्फबाट प्रत्येक प्रदेशमा धेरैभन्दा धेरै कर्मचारीहरू राखेर सहयोग गर्न तयार छौँ । र, स्वास्थ्य प्रणालीमा काम गरिरहेका हाम्रा कर्मचारीहरूले महामारी तथा इम्युनिटाइजेसनमा प्रादेशिक र स्थानीय सरकारलाई बलियो बनाउन सहयोग गरिरहेका छन् ।

 अहिलेसम्म कोभिडविरुद्ध चालेको कदम हेर्दा दक्षिण एसियाली देशहरूको तुलनामा नेपाल कुन स्थानमा रहन्छ ?

समग्रमा हेर्दा दक्षिण–पूर्वी एसियामा सङ्क्रमण बढिरहेको छ र यसमा मुख्य हिस्सा भारतको छ । त्यहाँ सङ्क्रमण बढिरहेको छ । विभिन्न मिडियाबाट आएको तथ्याङ्क हेर्दा मलाई लाग्छ, त्यहाँ करिब दस लाख सङ्ख्या पुगिसकेको छ । यसले यो क्षेत्रको तथ्याङ्कमा वृद्धि गरेको छ । बङ्गलादेशमा पनि सङ्ख्या बढिरहेको हामीले पाएका छौँ । थाइल्यान्डजस्ता केही देशले राम्रो गरिरहेका छन् । इस्ट टिमोरमा केही महिनायता कुनै सङ्क्रमण छैन । अन्य केही देशहरूमा तीव्र वृद्धि पनि देखिएको छ भने केहीमा त्यस्तो तीव्र वृद्धि छैन । नेपाल सम्भवतः यसैमध्ये बीचतिर पर्छ ।

 महामारीले विश्वभरको राष्ट्रिय आर्थिक प्रणाली ध्वस्त पारेको छ । नेपाल पनि यसबाट अछुतो छैन । आर्थिक गतिविधि चलायमान बनाउन पर्यटन, यातायात तथा व्यापार व्यवसाय खोल्नुपर्ने ठूलो दबाब छ । के तपाईंलाई लाग्छ कि यो व्यापार पुनः खोल्ने उपयुक्त समय हो ?

सरकार निकै अप्ठ्यारो अवस्थामा छ । यदि तपाईं पूरापूरा स्वास्थ्यको दृष्टिकोणबाट हेर्नुहुन्छ भने बन्दाबन्दी गर्नुपर्छ, यसले काम गर्नेछ । हामीले देखेका छौँ, जब बन्दाबन्दी हुन्छ, त्यस्तो बेला निकै कम केसहरू देखापर्छन् । तर, मानव समाजलाई सामाजिक संवाद पनि आवश्यक पर्छ । त्यसैले सरकारको जिम्मेवारी मानिसको आवश्यकता र स्वास्थ्यबीच सन्तुलन मिलाउनु हो । हामीले खतरा र आर्थिक प्रभावमध्ये कुन महŒवपूर्ण हो भन्ने विचार पु¥याउनुपर्छ ।
बन्दाबन्दी खुकुलो पार्नाले त्यसै पनि आर्थिक गतिविधिमा केही सकारात्मक प्रभाव पारिसकेको छ । धेरैजसो क्षेत्र बिस्तारै खुल्दै गएका छन् । यद्यपि अहिलेसम्म पूर्ण खुला केही पनि छैन । पसल तथा रेस्टुरेन्टहरू केही खुल्न थालेका छन् । तर, अझै पनि हामी खतराभन्दा बाहिर छैनौँ ।
तपाईंले सोध्नुभएको पर्यटन र यातायातबारे चाहिँ मलाई भन्न गाह्रो छ । मेरो उत्तर भनेको कुनै उत्तर छैन । तपाईंले खतरा र फाइदालाई एक–आपसमा तौलिनुपर्छ । यदि तपाईं कुनै पनि यातायात सञ्चालन गर्नुहुन्छ भने मानिस सङ्क्रमित नहुने उपायहरू अपनाउनुपर्छ ।

 यी विषयहरूमा सीसीएमसी, स्वास्थ्य मन्त्रालयले सहकार्य गरिरहेको छ । तपाईंले नेपालले राम्रो गरिरहेको छ त भन्नुभयो, योभन्दा अझ राम्रो कसरी हुन सक्छ ?

त्यसमा एउटा विशेष क्षेत्र सञ्चार हो । मानिस के भइरहेको छ भन्ने जान्न एकदम उत्सुक छन् । हामीले गरेको यो छलफलले पनि परिस्थिति के भइरहेको मानिसलाई बुझ्न थोरै मद्दत गर्छ । सरकारको तर्फबाट सरकारले वास्तवमा के गरिरहेको छ भन्नेबारे अलि धेरै र प्रभावकारी ढङ्गले प्रचार गर्नपर्छ । मलाई लाग्छ, अधिकांश समय मानिस सरकारले के–कस्तो तयारी गरिरहेको छ भन्ने थाहा पाउँदैनन् । अस्पताल तथा स्वास्थ्य सामग्रीहरूको तयारीका लागि धेरै काम भइरहेको हुन्छ तर मानिसले वास्तविक के भइरहेको छ भन्ने जानकारी पाउँदैनन् । यसले उनीहरूमा आक्रोश पैदा गर्छ । मलाई लाग्छ, सरकारले सञ्चार प्रक्रियालाई सुधार गर्नुपर्छ । त्यसले स्वास्थ्य तथा गैरस्वास्थ्यको क्षेत्रमा पनि मानिसलाई किन यस्तो प्रकारका निर्णयहरू भइरहेको छन् भन्ने बुझ्न मद्दत गर्छ । जसले उनीहरूको जीवन, अर्थतन्त्र तथा समाजमा प्रभाव पार्छ । त्यसैले सञ्चार प्रक्रियामा सुधार ल्याउनु एउटा निश्चित काम हो ।
नेपाल सम्पन्न देश हैन । नेपालभन्दा सम्पन्न देशहरूले पनि कतिपय सन्दर्भमा जति नेपालले ग¥यो, त्यति गर्न सकेनन् । यसको मतलब मैले नेपालमा एकदम राम्रो भयो भनिरहेको छैन । ममात्र यो भनिरहेको छु कि बन्दाबन्दीले राम्रो प्रभाव पा¥यो, केही विवादबाहेक क्वारेन्टाइन राम्रो भयो । रोग नियन्त्रणको दृष्टिकोणबाट त्यो राम्रो देखियो ।
अब पछि धेरै सङ्क्रमण देखिएमा अस्पतालहरूको क्षमताले कसरी काम गर्छ ? अस्पतालमा सीमित शøया छन् । के त्यसले धान्ला त ? यी भने हेर्न बाँकी नै छ । तर, निश्चय पनि अस्पतालमा भएका केही कामहरूमा सुधार आएको छ । सङ्क्रमण नियन्त्रणका मापदण्ड, तालिम, अक्सिजन सिलिन्डर, भेन्टिलेटरहरू थपिरहेका छन् । यी सबै ठीक ठाउँमा राखिएका छन् । त्यसैले यदि ‘सिरियस केस’ आइहालेमा पनि उपचार गर्न सकिने छ ।

 एक मेडिकल डक्टरका रूपमा, यो भाइरसले विश्वलाई कहिलेसम्म सताउला भन्ने लाग्छ ?

मलाई थाहा छैन । साँच्चि नै मसँग कुनै स्पष्ट उत्तर छैन । ठूलो आशा भनेको नै भ्याक्सिन पत्ता लाग्नेछ, उपचार पत्ता लाग्नेछ भन्ने हो । जब भ्याक्सिन भेटिनेछ, सबै चीजहरूबारेको छलफल नै अर्कै तरिकाबाट हुनेछ ।

 डब्लुएचओले भ्याक्सिन विकासका लागि विभिन्न देशहरूसँग समन्वय गरिरहेको छ । संसारले त्यो भ्याक्सिनका लागि कति कुर्नुपर्ला ? के भ्याक्सिन निर्माण भएपछि साँच्चि नै सबै देशले त्यो समान ढङ्गले प्रयोग गर्न पाउलान् ?

सामान्यतः यस्तो कामका लागि वर्षौं लाग्छ । हाल विश्वमा करिब एक सयवटा संस्थाहरूले भ्याक्सिन निर्माणको प्रयास गरिरहेका छन् । जे भए पनि यो सुरक्षित र काम लाग्ने हुनुपर्छ । हामीलाई थाहा छैन भ्याक्सिन कसरी निर्माण गरिँदै छ र यसले काम गर्छ कि गर्दैन ? यदि तिनीहरू सुरक्षित भएनन् भने हामी बजारमा ल्याउन सक्दैनौँ । यदि तिनीहरू सुरक्षित भए भने पनि काम गर्छ कि गर्दैन भन्ने प्रश्न हुन्छ । केही भ्याक्सिनले जटिल केसमा मात्र काम गर्छ । थाहा छैन कुनचाहिँ भ्याक्सिन प्रयोगका लागि सबैभन्दा उपयुक्त हुनेछ । विश्वव्यापी रूपमा हेर्दा, उद्घोषलाई मान्ने हो भने अर्को वर्ष वा कुनै–कुनै त्यसभन्दा केही अगाडि पनि प्रयोगमा आउन सक्छन् । यी सबै भ्याक्सिनको परीक्षण विभिन्न चरणमा छ । महŒवपूर्ण प्रश्नचाहिँ यसको उत्पादन हो । विश्वका सात अर्ब मानिसका लागि यो उत्पादन गर्नुपर्छ । दोस्रो कुरा, भ्याक्सिनको मूल्य पनि हो । अहिले कसैले मूल्यको कुरा गरिरहेको छैन । तर, जसले उत्पादन गर्छ उसलाई त तिर्नुपर्छ । डब्लुएचओले गरिब देशहरूले पनि कसरी सामान्य मूल्यमा भ्याक्सिन पाउन सक्छन् भनेर काम गरिरहेको छ । जब भ्याक्सिन उपलब्ध हुनेछ, यो संसारका सबै देशमा वितरण गरिनेछ र नेपालले पनि अन्यले जस्तै पाउने सम्भावना हुनेछ ।

 अन्त्यमा, हाम्रा पाठकले जान्नैैपर्ने तर हामीले छुटाएको केही विषय रह्यो कि ?

सायद डब्लुएचओ र स्वास्थ्य मन्त्रालयबीचको सहकार्यबारे केही गलत बुझाइ रहेको छ ।
डब्लुएचओ एउटा सल्लाहकारमात्र हो । डब्लुएचओसँग यो गर्ने वा नगर्ने भन्ने कुनै निर्णयाधिकार हुँदैन । हामी विश्वभर राष्ट्रियस्तरमा के गर्न सकिन्छ भनेर सल्लाहमात्र दिन सक्छौँ । डब्लुएचओ सरकारसँग काम गर्छ तर आफैँ केही गर्दैन । हामी परिस्थिति हेरेर मानिसको स्वास्थ्यमा सुधारका लागि सहयोग गर्छौं, तथ्याङ्क उत्पादन गर्छौं, त्यसको विश्लेषण गरेर हाम्रो अनुभवका आधारमा सल्लाह दिन्छौँ । हामी नेपाली जनताको स्वास्थ्यमा सुधारका लागि सरकारसँग काम गर्छौं । हामी सदस्य राष्ट्रबाट निर्देशित हुन्छौँ । कोभिडजन्य परिस्थितिमा हामीले हाम्रा सहकर्मीहरूलाई सरकारका सहकर्मीहरूका साथसाथै खटाइरहेका छौँ । हामीलाई लाग्यो कि प्राविधिक तहमा हामीले सहयोग गर्न सक्छौँ, त्यसैले सहयोग गरिरहेका छौँ ।
सबैलाई मेरो अन्तिम सन्देशचाहिँ यो हो– कृपया दूरी कायम राख्नुहोस् ।

अनुवाद : राजेश चाम्लिङ राई
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?