logo
२०८१ बैशाख ७ शुक्रवार



कम गुञ्जन थाल्यो असारे भाका

मुख्य समाचार |


कम गुञ्जन थाल्यो असारे भाका


यलु जोशी

काठमाडौंँ, असार १६ गते ।

हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो ।
जनकविकेशरी धर्मराज थापाको यो सदाबहार गीत असारमा मात्र होइन, अन्य महिनामा पनि उत्तिकै गुञ्जन्छ । थापाको यो गीत मात्रै होइन हाम्रा गाउँबेँसी र तराईका फाँटमा असारमा आफ्नै परम्परा र संस्कृति झल्काउने खालका असारेगीत प्रचलनमा छन् ।
विशेषगरी असार १५ को दिन धान रोपाइँ गरी दही र चिउरा खाएर कृषि पर्व मनाउने गरिन्छ । कृषि सभ्यतामा असारलाई मानो खाएर मुरी उब्जाउने अवसरका रूपमा लिने गरिन्छ । सँगै विशेष महìव बोकेको नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ । लोक गायिका ज्ञानु पहारी भन्नुहुन्छ, ‘‘असारे भाका लोप हुने अवस्थामा छ ।’’
उहाँ भन्नुहुन्छ, “यसपटक मात्रै होइन, केही समययता असारे गीतलाई बिर्सिन थालेको छ । वैशाख नलाग्दै तीजका गीत आउन थाल्छन्, असार लागिसक्दा त कलाकारलाई भ्याइनभ्याइ हुन्छ । तीजका गीत रेकर्डिङ र म्युजिक भिडियोको छायाङ्कनमै कलाकारको दिन बित्छ । असारे गीतहरू छिटफुट रूपमा आउँछन् ।
असारे गीतले बालीनाली सप्रियोस् भनेर गाइने लोक गायक पुरुषोत्तम न्यौपानेको भनाइ छ ।
‘चाहे त्यो पूर्वमा गाइने असारे भाका होस्, चाहे त्यो पश्चिममा । पहाडमा गाइने होस् वा तराईका फाँटमा । असारे गीतले धानमा कीरा नलागोस्, असिनाले नथिचोस् र राम्ररी धान फलोस् भनेरै कामना गर्दछ’, लोकगायक न्यौपाने भन्नुहुन्छ ।
हाम्रा लोक संस्कृतिको जगेर्ना र संरक्षण गर्न सम्बन्धित पक्षको ध्यान गएको देखिँदैन लोक गायक न्यौपानेले बताउनुभयो । बजारमा अरू गीत जस्तो असारे गीतले व्यावसायिक सफलता हात नपार्ने भएकाले कलाकारहरूले चासो नदिएको उहाँ बताउनुहुन्छ ।
गायक रामकृष्ण दुवालले नयाँ पुस्ता आयातीत सङ्गीतमा झुम्न थालेपछि नेपाली लोक संस्कृति र सभ्यता झल्काउने असारे गीत ओझेलमा परेको बताउनुभयो ।
मानो रोपी मुरी उब्जाउने बेलो हो यो मित्र,
हिलो छ्याप्दै प्रिय असारे गीत गाउन आऊ ।
गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानहरूले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई लोभ्याउने गर्दछ । असार १५ का दिन हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोपिन्छ । गीत गाउँदै हिलो खेल्दा आपसमा मित्रता बढेर हर्ष खुसी छाउने तथा चर्मरोग निको हुन जनविश्वास छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?