logo
२०८१ बैशाख १३ बिहीवार

  इटालीमा कार्यरत नेपाली चिकित्सकको सुझाव  



लक डाउनको पूर्ण पालना नै संक्रमण नियन्त्रणको विकल्प र उपाय हो

अन्तरवार्ता |
मुख्य समाचार |


लक डाउनको पूर्ण पालना नै संक्रमण नियन्त्रणको विकल्प र उपाय हो


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख २५ गते । इटालीमा विश्वकै दोस्रो उत्कृष्ट स्वास्थ्य प्रणाली छन् । स्वास्थ्य प्रणाली लागि सहजता र पहुँच, स्वास्थ्य असमानता, प्रतिक्रिया र स्वास्थ्य उपचारका लागि हुने खर्च जस्ता तत्वमा आधारित रहेर निर्धारण गरिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्समा स्वास्थ्य अवस्था भने सर्वोत्कृष्ट स्वास्थ्य प्रणाली अन्तगर्त पर्छ । विश्वका १९० राष्ट्रमा गरिएको अध्ययन सर्वेक्षण बमोजिम स्वास्थ्य प्रणालीमा नेपाल १५० औं स्थानमा पर्छ । भारत भने वैश्विक अनुक्रममा ११२ औं स्थानमा छन् ।
स्वास्थ्यमा देखिने समस्यालाई उपचार र सुधार गर्न राज्यले देखाउने तत्परताका आधारमा विश्व स्वास्थ्य प्रणालीलाई वर्गीकरण गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार उच्चतम जिम्मेवार स्वास्थ्य प्रणाली अन्र्तगत् प्रविधियुक्त सक्षम स्वास्थ्य कार्यकत्र्ता, व्यवस्थित सुविधा, स्वास्थ्यसँग सम्बन्धित सुविधाको सूचनामा नागरिकको सहज पहुँचलाई केलाइन्छ । यी मापदण्डका आधारमा नागरिकलाई स्वस्थ्य जिवनशैली जिउन सघाउँछ । नागरिकको स्वास्थ्य बिमाको अवस्था पनि स्वास्थ्य प्रणालीको मापदण्डमा जोडिन जान्छ ।
कोरोनाभाइरसको महामारीका बीच उत्कृष्ट स्वास्थ्य प्रणाली हुँदाहुँदै इटालीले तीब्र संक्रमण र मृत्युदरलाई अपेक्षाकृत रुपमा रोक्न सकेनन । इटालीमा मानिसको सरदर आयु ८३.२४ वर्ष छन् । नेपालमा सरदर आयु ७०.६० वर्ष छ् । इटालीको रोमस्थित एक अस्पतालमा कार्यरत नेपाली चिकित्सक डा. अनिल दासका अनुसार कुनै दुर्घटना वा स्वास्थ्य सम्बन्धी समस्या भए आकस्मिक सम्पर्क नम्बरमा फोन गरेको पाँच मिनेट भित्र इटालीमा एम्बुलेन्स सेवा उपलब्ध हुन्छ । दुर्गममा एम्बुलेन्स पुग्न असहज भए हेलिकप्टर उतारिन्छ । यस्तो सुविधा भने राज्यले नागरिकका लागि निःशुल्क प्रदान गर्छ ।
कोरोनाभाइरसको संक्रमण विश्व महामारीको रुप लिदै गर्दा चीनबाट इटाली पुगेको अवस्था पछि यसले कारुणिक र हृदय विदारक रुप लियो । इटालीको सबैभन्दा बढी प्रभावित लोम्बार्डीमा एकैदिन मृतकको संख्या करिब पाँचसयसम्म पुग्यो । इटालीका प्रधानमन्त्री जोसेप कोन्टे पनि आत्तिनुभयो । र विश्वकै उत्कृष्ट मध्येको इटालीको स्वास्थ्य प्रणाली ध्वस्त हुने अवस्थामा आइपुग्यो । अस्पतालमा कार्यरत चिकित्सकहरु तनाबपूर्ण अवस्थामा हुनुहुन्थ्यो । रोम शहर पनि त्यसबाट अछुतो थिएन । अस्पतालमा कार्यरत चिकित्सक दैनिक १८ घण्टासम्म ड्युटीमा बस्नुपर्यो ।
इटालीमा अमेरिका, स्पेनपछि अझै सबैभन्दा बढी संक्रमित छन् । इटालीमा संक्रमितको संख्या करिब दुई लाख १३ हजार पुगेको छ । बुधबारसम्म इटालीमा २९ हजार ३१५ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । जुन अमेरिका र बेलायतपछि सबैभन्दा बढी हो ।
इटालीको रोमस्थित पोलिक्लिनिक अस्पतालमा वरिष्ठ कन्सल्टेन्टका रुपमा सेवारत जनकपुरधाम, नेपालका चिकित्सक डा. अनिल दास भन्नुहुन्छ, “फेब्रुअरी पहिलो साता पडोभा शहरमा दुईजनाबाट सुरु भएको संक्रमण दैनिकरुपमा २० गुणाले बढ्दै गयो र बिस्तारै इटालीभरि छरियो ।” इटालीमा कोभिड–१९ को संक्रमण र अनुभव तथा नेपालले अपनाउनुपर्ने साबधानीबारे डा. दाससँग गरिएको अन्र्तवार्ताको अंश –
इटालीमा अहिलेको अवस्था के छ ?
व्यक्तिको हिंडडुलमा अझै स्वतन्त्रता दिइएको छैन् । संकटकाल लागू नै छ । राज्यले लागू गरेको साबधानीका उपाय अझै नागरिकले अबलम्बन गरेका छन् । संकट आइपरेको बेला अस्पताल वा उपभोग्य सामग्री खरिद गर्न निस्किनुअघि सरकारले जारी गरेको फर्म अनिवार्य भरेर निस्किनुपर्छ । उक्त सचेतनाको उल्लघंन भएको पाइएमा तीन हजार यूरोसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । अप्रिल महिनाको अन्तिम दिन करिब एक हजार जना कोभिड–१९ का संक्रमित आईसीयूमा भर्ना छन् । संक्रमण फैल्ने दरमा कमी आएको छ । मृतकको संख्या पनि दैनिकरुपमा घट्दो क्रममा छन् ।
अस्पतालमा बिरामीको चाप कत्तिको छ ?
महामारीको उच्च अवस्थाभन्दा यतिबेला बिरामीको चाप कम भएको छ । बिरामी भएको अवस्थामा पनि सर्वसाधारण अस्पताल पुग्न रुचाएको देखिन्न ।
महामारी निम्तिनुअघि सरकारी तयारी कस्तो थियो ?
स्वास्थ्य प्रणाली विश्वकै दोस्रो उत्कृष्ट रहेकोले मैले थप भन्नुपर्ने आवश्यक छैन् । यद्दपी संक्रमण तीब्ररुपमा फैलिदा आत्तिएको अवस्था थियो । तर राज्यले निर्धारण गरेको साबधानीका उपाय नागरिकले सहजरुपमा स्वीकार गर्दा सरकारी तयारी बमोजिम नै सबैथोक चल्यो । उपभोग्य सामग्री खरिदका लागि अतिरिक्त र बोनस कूपन उपलब्ध हुनुले नागरिकलाई महामारीको बेला समेत घरमै बस्न अप्ठ्यारो भएन ।
दैनिक हजारौं संक्रमित थपिएको बेला नियन्त्रणमा कसरी आयो ?
महामारी र कारुणिक अवस्थाका बीच विश्व स्वास्थ्य संगठन र इटाली सरकारले तय गरेको मापदण्ड पालना हुनु नै सबैभन्दा प्रमुख तत्व रहन गयो । नागरिकले थोरै पनि अत्तालिएको वा अवरोध गर्ने अवस्था आएको भए इटाली सोच्नै नसकिने अवस्थामा पुग्थ्यो । नागरिकलाई घरभित्रै राख्न प्रशासनले जोडबल गर्नुपरेन ।
सबैभन्दा उच्च जोखिम र संक्रमित बढ्ने अवस्था कहिले रह्यो ?
मार्च अन्तिम साता अस्पतालको अवस्था निकै हृदयविदारक रहयो । सबै अस्पताल बिरामीले भरिभराऊ थियो । अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मी दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्यो ।
भारतमा कोभिड–१९ को संक्रमण उच्च दरमा फैलिदैछ, नेपालमा के कस्तो साबधानीका उपाय अपनाउनुपर्ने देख्नुभएको छ ?
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना नै कोभिड–१९ को संक्रमण नियन्त्रणको विकल्प र उपाय हो । जसलाई सबैले सहृदयदेखि पालना गर्नुपर्छ । सामाजिक दूरी बनाउनु र भिड हुने गरी जमा हुनुहुन्न । नियमित अन्तरालमा साबुनपानीले हात धोइरहनुपर्यो । बाहिरबाट आउने बित्तिकै जुत्ता, चप्पल घरबाहिरै राख्नु उपयुक्त हुनेछ । बाहिर जाँदा लगाएको कपडा घरमा घाम भएको स्थानमा अलग्गै राख्नुपर्यो । किनभने सतहमा भाइरस छ देखि सातघण्टा सक्रिय रहन्छ ।
तरकारी वा फलफूल तातो पानीले धोएर मात्रै खाने गर्नुपर्छ । सोडियम बाइकार्बोनेट(खाने सोडा) मिसाएर धुँदा अझै उपयुक्त हुन्छ । नाक, आँखा र मुख पटक पटक नछोए केही हदसम्म संक्रमण टार्न सकिन्छ । सरकारले स्वास्थ्यकर्मीलाई सबै व्यक्तिगत् सुरक्षा सामग्री सहजरुपमा उपलब्ध हुने बनाउनुपर्छ ।
सामाजिक दूरी बनाउँदा कम्तिमा एक मिटर टाढा बस्नुपर्छ । हाछ्युँ गर्दा वा खोक्दा कागज वा रुमाल प्रयोग गरी तुरुन्तै ‘डिस्पोज’ गर्ने वा साबुनपानीले धोएर मात्रै पुर्नप्रयोग गर्नुपर्छ । हातलाई साबुनपानीले धुनुपर्छ । हात धुँदा हाइड्रोअल्कोहलिक मिश्रणको प्रयोग गर्दा पनि हुन्छ । हात धोएपछि राम्ररी सुक्न दिनुपर्छ ।
चिकित्सकीय सुझाब कुनै छ ?
संक्रमितले वा लक्षण देखिएकोले चिकित्सकको सुझाब नलिइ एन्टीबायोटिक वा एन्टीभाइरल औषधीको प्रयोग गर्नुहुन्न । संक्रमण उच्च दरमा फैलिएको अवस्थामा सतहलाई नियमित रुपमा क्लोरिन वा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ले सफा राख्नुपर्छ । नाक र मुखमा माश्क अनिवार्य लगाए संक्रमण फैल्ने तीब्र दर रोक्न सघाउँछ ।
यदि तपाईमा ज्वरो, खोकी वा श्वास लिन कठीनाई जस्ता समस्या छन् वा संक्रमितको सम्पर्कमा आउनुभएको छ भने चिकित्सकसम्म समयमै पुगेर परीक्षण गर्नुले आफूसँगै समुदायमा सर्ने संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
कोभिड–१९ भाइरस वा लक्षणबारे केही भन्नुहुन्छ ?
कोभिड–१९ सार्ने भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाछयुँ गर्दा वा बोल्दा नजिकै रहेकोमा सर्ने सम्भावना बढी हुन्छ । यस प्रकृयामा निस्किएको थोपा हावामा झुण्डिरहन सक्दैन् । बोल्दा, हाछँयु गर्दा वा खोके लगत्तै थोपा सतहमा झर्छ । त्यस्तो सतहको सम्पर्कमा आए कोभिड–१९ को संक्रमण सर्ने सम्भावना बढी हुन्छ । यदी तपाई संक्रमितको एक मिटरको दूरीमा हुनुहुन्छ भने संक्रमितबाट सर्ने सम्भावना त्यत्तिबेला पनि बढी हुन्छ ।
(डा. अनिल दास इटालीमा सन् २०१८ मा ‘उत्कृष्ट चिकित्सक’को पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?