logo
२०७७ जेष्ठ १६ शुक्रवार

चुनौती सम्बोधन गर्ने बजेट आउँछ

अन्तरवार्ता |


2020-05-06-13798


कोरोना सङ्क्रमणले आम मानिसको जीवनशैली र आय आर्जन मात्र होेइन देशको अर्थतन्त्रमा समेत नराम्रो धक्का लागेको छ । वार्षिक वृद्धिदर, उत्पादन तथा रोजगारी जस्ता अर्थतन्त्रका प्रायः सबै आयाम खलबलिएका छन् । सीमित साधन स्रोतबीच अर्थतन्त्रको पुनरुत्थानमा सरकार जुट्नुपर्ने चुनौतीसँगै सरकारसँग नागरिक र निजी उद्यमी व्यवसायीका अपेक्षा पनि बढेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडासँग गोरखापत्रका पत्रकार अच्युत अधिकारी तथा भेषराज बेल्वासेले गर्नुभएको कुराकानी ।

० विश्वका सम्पन्न र शक्तिशाली राष्ट्र कोरोना विरुद्धको वैश्यिक युद्धमा निकै ठूलो चुनौतीको सामना गरिरहेका छन् । नेपालले पूर्व तयारी र सचेतना अपनाएर यो युद्ध सफलपूर्वक लडिरहेको छ । यो कसरी सम्भव भयो ?
– मानव जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हो । जीवन रक्षित भए मात्र व्यक्तिगत स्वतन्त्रता उपयोग गर्न पाइन्छ भन्ने सम्माननीय प्रधानमन्त्रीको दृष्टिकोण र अप्ठ्यारो परिस्थितिमा निर्णय गर्न सक्ने क्षमता यो सफलताका कारण हुन् भन्ने मलाई लाग्छ । म यहाँ दुईवटा कुरामा जोड दिन चाहन्छु । जुनबेला देशमा कोरोनाको केस नै भेटिएको थिएन त्यो बेलामा नै चीनबाट सुरु भएको कोरोना युरोप अमेरिका हुँदै दक्षिण एसियातिर पनि फैलिँदै थियो । दक्षिण एसियामा आउने भनेको हामी पनि सङ्क्रमित हुने हो । यो सन्दर्भमा प्रधानमन्त्रीले सम्भवतः अहिले सम्मकै साहसिक कदम खुला सिमाना रोकौँ भन्ने आँट गर्नुभयो र हामीले रोक्यौँ पनि । हवाई मार्ग बन्द गर्नु पछिको मुख्य कदम त्यो थियो ।
भारतबाट आउने सामग्री, भारत सँगको सीमावर्ती क्षेत्रको दैनिक आवागमन र त्यहाँ पर्न सक्ने सामाजिक दबाबले यो आवागमन रोक्न त्यति सजिलो थिएन । यो व्यवस्थापन गर्न सकिने कुरा थियो तर कोरोना जोखिम व्यवस्थापन गर्न सकिँदैन भन्ने भएर प्रधानमन्त्रीज्यूले आँट गरेर निर्णय गर्नुभयो । मन्त्रिपरिषद्ले त्यसलाई अगाडि बढायो । जसले गर्दा हामी ठूलो सङ्क्रमणको जोखिमबाट बच्यौँ । त्यतिले मात्रै नपुगेर हामीले भोलिपल्टबाटै बन्दाबन्दीको निर्णय ग¥यौँ ।
सुरुमा सरकार कति डराएको होला, किन यति हतार गरेको होला, सबै त ठीकै त छौँ नि भनेर आलोचना पनि भयो । पछि जब सङ्क्रमण बढ्दै गयो त्यसपछि त यो पहिले नै गर्नुपथ्र्यो नि भन्ने कुरा पनि आए । पहिला यो कदम हतार भयो भन्ने साथी सङ्क्रमण देखिन थालेपछि सरकारले ढिलो ग¥यो भन्नुहुन्छ । जे गरे पनि एउटा–एउटा बहस त आउँछ । समग्रमा विश्वव्यापी मूल्याङ्कन, डब्लूएचओको मूल्याङ्कन अति जोखिमको मुलुकबाट जोखिममा झा¥यो । अहिले नेपाल कोरोना सङ्क्रमण व्यवस्थापन गर्न धेरै सफल मुलुकमध्ये एक रहेको डब्लूएचओले भनिरहेको छ । छिमेकी मुलुकका राष्ट्राध्यक्ष, प्रधानमन्त्रीले शुभकामना दिइरहनुभएको छ, बधाई दिइरहनुभएको छ । एउटा पनि नेपालीले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छैन । जो सङ्क्रमित छन उनीहरू घर फर्किदै छन् ।

० सरकारको योे प्रयासमा कत्तिको सकारात्मक सहयोग मिलेको छ ?
– यो सरकारले मात्रै गरेको कामले भएको हो भनेर म भन्दिन । यसमा प्रतिपक्षी दलको पनि सहयोग छ । उहाँहरू आफैँ मिडियामा आएर लकडाउन सफल पारौँ, घरमै बसौँ, सरकारको राम्रो कदमको सहयोग गरौँ भनि पनि रहनुभएको छ । त्यसलाई हामीले सहर्ष धन्यवाद पनि दिनुपर्छ । नागरिक समाजका संस्था, निजी क्षेत्रका संस्था अनि परिवार, व्यक्ति, समुदाय सबैले यो पालना गरिरहनुभएको छ ।
मन्त्रिपरिषद्ले बारम्बार भनिरहेको छ, आम नेपाली नागरिक, दाजुभाइ दिदीबहिनी जसले लकडाउन पालना गर्नुभयो उहाँहरूलाई सहर्ष धन्यवाद दिन्छौँ । जोखिम अझै पनि छ । अनुशासन पालना ग¥यौँ र बुझ्यौँ भने अझै पनि हामी ठूलो सन्त्रासबाट बच्छौँ ।

० अबको लकडाउन कसरी जान्छ ?
– लकडाउन हेर्ने सामान्य सिद्धान्त जोखिमको मात्रा हो । यो घट्दै गयो भने लकडाउनको विधि र कडाइ पनि घट्दै जाने हो । पछिल्ला दिनमा केही आइसोलेटेड ठाउँमा सङ्क्रमणका क्षेत्र भेटिए । ती पनि नियन्त्रणभन्दा बाहिर छैनन् । सीमा पारिबाट आउने सङ्क्रमणको जोखिम बाहेक आन्तरिक रूपमा धेरै समस्या छैनन् । त्यो हुनाले मूलतः हामीले अन्तर्राष्ट्रिय सीमा जोडिएका क्षेत्र जोखिममै राखेका छौँ । त्यस बाहेकका भित्री क्षेत्र तुलनात्मक रूपमा सुरक्षित हुँदै गएको हाम्रो अनुभूति छ । जोखिमको मात्रा हेरेर अब आउने दिनमा लकडाउन कायमै राखेर पनि कतिपय क्रियाकलाप र आवतजावत व्यवस्थित गर्न सकिन्छ कि भन्नेतर्फ सरकारले गृहकार्य गरिरहेको छ । अबको आउने मन्त्रिपरिषद् बैठकले यसमा निर्णय गर्छ ।

० सरकारले आफँैलाई समीक्षा गर्दा स्थलमार्ग बन्द गर्ने कुरामा ढिलाइ भएको महसुस गर्नुभएको छ कि छैन ? भारतमा रहेका नेपालीलाई नेपाल ल्याउने अवस्था नरहेको हुँदा त्यहाँको व्यवस्थापनमा दूतावासले सक्रियता देखाएको छ त स्पष्ट पारिदिनूस् न ?
– कसैले आँट गरेर त्यो भन्दा अगाडि लकडाउन गर्ने सुझाव दिएको भए हामी धन्यवाद दिन्छौँ । सरकारलाई लकडाउन गर्नुपर्छ र सीमा नाका बन्द गर्नुपर्छ भनेर कसैले भनेन । पछि टिप्पणी गर्न सजिलो हुन्छ । पहिले त्यो आँट देखाउन सक्नुपथ्र्यो । त्यो आँट प्रधानमन्त्रीज्यूले नै देखाउनुभएको हो । त्यो चाहिँ दाबी गर्छु ।
त्यसो हुनाले त्यो ढिलो भएको होइन बरु हतार ग¥यो भन्ने धेरै हुनुहुन्थ्यो । दोस्रो कुरा अहिले हामी जतिसुकै विरोध गरे पनि अन्तर्राष्ट्रिय सीमा नाका खोल्न सक्ने अवस्थामा छैनौँ । यो अवस्थामा दिल्लीका मान्छे हुन् कि मुम्बईका होऊन्, साइप्रस, अस्ट्रेलियाका सबैलाई एउटै आदेश लागू हुन्छ । जो जहाँ–जहाँ हुनुहुन्छ त्यहीँ नै व्यवस्थित गर्ने हो । प्रधानमन्त्रीज्यूले प्रायः सबै देशका राष्ट्राध्यक्ष र प्रधानमन्त्रीसँग यस विषयमा कुरा गर्नुभएको छ । जो जहाँ छन् त्यहीँ राखिदिनोस् ती मुलुकका अथवा बाहिरका मान्छे नेपालमा छन् भने तिनीहरूलाई पनि यहीँ राख्छौँ भनेका छौँ । अहिले १२, १३ सय विदेशीलाई त यहीँ सीमा नाकामै पालेर राखेका छौँ नि ।
तैपनि कोही भोकै बस्ने स्थिति बन्यो भने दूतावासले हेरचाह गर्छ । त्यसमा स्रोतको अभाव भयो भने वैदेशिक रोजगार कोषबाट या सरकारका अरू कोषबाट नेपालीलाई भोकै पर्न दिँदैनौँ । अहिले उहाँहरूलाई ल्याउँदा उहाँहरू र अरूको पनि जीवन जोखिममा हुन्छ । यो यात्रा गराउने काम हामी गर्दैनौँ ।

० सरकारले जो जहाँ छन् त्यहीँ बसौँ भनेर निर्णय गरेको छ तर नेतृत्व तहकै मान्छेले आ–आफ्ना जिल्लाका मान्छेलाई लगे, यसको निकै टिप्पणी पनि भयो । सरकारले यसको समीक्षा गरेको छ ?
– त्यो टिप्पणी ठीक हो तर मेरो एउटा प्रतिप्रश्न छ । घर जाने मान्छेलाई किन जान नदिएको । नागरिक स्वतन्त्रता हो । आफ्नो घर जान पनि नदिने । सरकार के हेरिरहेको छ भनियो । मिडिया र सामाजिक सञ्जालमा धेरै आलोचना भयो । हामीले हिँड्डुल नगर्न आदेश नै जारी गरेको बेलामा जो जहाँ छन् खान दिन्छौँ, राहत दिन्छौँभन्दा पनि उहाँहरू दृष्टता गरेर हिँड्नुभयो । बाटोमा गएर हिँड्न सक्नुभएन । अनि त्यस्तालाई रेस्क्यु गरेर जो जहाँ छन् अब पठाइदिउँ सबैको मनसाय त्यही हो भन्ने आम धारणा बुझेर आ–आफ्नो गन्तव्यमा पु¥याइदिने भन्यौँ ।
अलपत्र परेकालाई ल्याउने भनेको प्रदेशका साथीले बस पठाउन थाल्नुभयो । त्यो गलत भयो । त्यसमा हाम्रो सञ्चार समन्वय, सूचना समन्वय र हाम्रो आदेशको पालना गराउने कुरामा हामीले अलिकति सामञ्जस्यताको अभाव भयो त्यो नितान्त ठीक कुरा थिएन । अहिले हामीले त्यसलाई सुधार गरिसकेका छौँ ।

० अहिले खाडी मुलुकमा सयभन्दा बढी लास आउनुपर्ने छ भनिन्छ, तिनको व्यवस्थापन कसरी हुन सक्छ ?
– अन्तर्राष्ट्रिय उडान बन्द छन् । कसैले प्लेन चार्टर्ड गरेर ल्याउन सक्छ भने त्यो बेग्लै कुरा हो । केही समय अरू धैर्य गरौँ । अलिकति सहज हुने बित्तिकै प्राथमिकतामा उहाँहरू नै पर्नुहुन्छ ।

० लकडाउन गरेको डेढ महिना पुगेको छ । अर्थतन्त्रमा परेको प्रभावको मूल्याङ्कन कस्तो रहेको छ ?
– राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक भइसकेको छ । २.३ प्रतिशतको हाराहारीमा गर्हस्थ्य उत्पादन हुन्छ भनेर । हामीले घटीमा पनि साढे छ प्रतिशत वा साढे सात प्रतिशतको बीचको आर्थिक वृद्धि अनुमान गरेका थियौँ । हाम्रो लक्ष्य साढे आठ प्रतिशतको थियो । हामीलाई पहिलो तीन महिनामा धानको उत्पादनले एउटा झड्का दियो ।
सार्वजनिक खरिद नियमावलीमा गरिएको संशोधनबाट निर्माण व्यवसायीले इक्विपमेन्ट डाउन गरेर एक दुई महिना हाम्रो विकास निर्माण अलमलियो । त्यसो हुँदा हाम्रो अपेक्षित आर्थिक वृद्धि हुँदैन कि भन्ने मङ्सिरमा नै सङ्केत मिलेको थियो । त्यसपछि डिसेम्बरसम्म आउँदा पर्यटकको सङ्ख्या पनि सामान्य मात्रै वृद्धि भयो । त्यसपछि जनवरीबाटै जब चीनमा कोरोनाको समस्या आयो अनि अन्तर्राष्ट्रिय उडान नियन्त्रित हुन थाल्यो । पर्यटक आवागमन कम हुन थाल्यो । माघ र फागुनमै हामीले बुझिसकेका थियौँ । अब अन्तर्राष्ट्रिय रूपमा व्यापारदेखि पर्यटकको फ्लो कम हुन्छ । त्यसो हुनाले साढे आठ प्रतिशतको वृद्धि नहोला भन्ने अनुमान गरेका थियौँ ।
अब अहिले साढे दुईको कुरा गर्दा चार प्रतिशत विन्दुको नोक्सानी यसै पनि भयो । ३५ खर्बको हाम्रो जीडीपी हो । त्यसको चार प्रतिशत भन्नुभयो भने डेढ खर्ब यसै भयो । त्यो भनेको अहिले लकडाउन सम्मको अवधिको हो । अनुसन्धान गर्ने संस्थाले तीन खर्बको नोक्सान भनिरहनुभएको छ । दुई खर्बदेखि तीन खर्बको बीचको नोक्सानी त अनुमान गर्न सकिने नै भयो । आयको मात्रै कुरा भएन, अर्को आर्थिक वर्षमा सिर्जना हुने आयको संरचना पनि त भएन नि । अब अहिले पनि लकडाउन खोलिहाल्यौँ भने पनि हाम्रा केही क्रियाकलाप जोडिन केही समय लाग्छ । त्यसो हुनाले बाँकी अवधिमा पनि आर्थिक क्रियाकलाप ठ्याक्कै भने जस्तो वृद्धि हुने देखिँदैन । परसम्म पुगेर मात्रै उकालो लाग्ने जस्तो देखिन्छ होला ।

० यसको दीर्घकालीन असर चाहिँ कस्तो पर्ला ?
१५औँ योजनामा वृद्धिदर नौपछि साढे नौभन्दा माथि लैजाने भनेका थियौँ । अर्को वर्षको आर्थिक वृद्धि पनि बेस नै तल रहेपछि अलिकति असर पर्छ । त्यसपछि अहिलेसम्म भएको लगानी सुरक्षित गर्ने चुनौती पनि हामीसँग भयो किनभने त्यो लगानीको डिप्रिसेसन हुन्छ, त्यो लगानीको ऋण लिएको रहेछ भने ब्याज तिर्नुप¥यो । त्यो दुईवटा त नोक्सानी भयो नि । अनि त्यो बीचमा श्रमिकको ज्याला पनि दिनुपरेको भए, सञ्चालन खर्च पनि गर्नुपरेको भए त्यो पनि नोक्सानी भयो । यी चाहिँ अपुरणीय नोक्सानी हुने भए । त्यसकोे कारणले यसको असर यो आर्थिक वर्षमा मात्रै नभएर आगामी आर्थिक वर्षमा पनि कुनै कुनै रूपमा पर्छ । हामी रिकभरी चाहिँ धेरै छिटो गर्छौं । हाम्रो जगै तल भएपछि, जगै साढे सात या साढे आठ प्रतिशतको वृद्धिको जगबाट माथि उठ्नु र साढे दुई प्रतिशतको जगबाट माथि उठ्नु भनेको निकै ठूलो उचाइ हामीले नाघ्नुपर्ने हुन्छ । यसका लागि थप प्रयास गर्नुपर्ने हुन्छ ।
वर्षमा एकदेखि दुई प्रतिशत विन्दुका दरले गरिबी घटाउँदै थियौँ । अब यो त ब्रेक लाग्यो । छिट्टै लकडाउनबाट मुक्ति पाइयो भने र व्यवसाय सामान्य अवस्थामा फक्र्यो भने धेरै गरिबी नघट्ला ।

० बेरोजगारीका कारणले गर्दा अति गरिब परिवार झनै गरिबीतर्फ धकेलिने देखिएको छ, ज्यालादारी श्रमिकलाई रोजगारी दिने भनिएको छ । त्यसबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा दबाब पर्ने भयो । के यो व्यवस्थापन गर्न सकिएला ?
– गरिबी हामीकहाँ दुई किसिमका छन् । एउटा सिजनलजुन खाद्य गरिबी हो । पाँच÷छ महिना खान पुग्दैन । उनीहरू आप्रवासी कामदारका रूपमा बाहिर जान्छन र यो लामो समयको गरिबी होइन । स्थायी रूपमा जसले रोजगारी गुमाउँछन् ती फेरि गरिबीमा फस्ने डर हुन्छ । स्थायी रूपमा रोजगारी गुम्ने अवस्था आउन हामी दिँदैनौँ । सामाजिक सुरक्षाका यावत् कुराबाट न्यूनतम जीवनयापन गर्न कुनै न कुनै किसिमको सामाजिक सुरक्षाको दायरामा परिवारलाई ल्याउनुपर्छ र ल्याएका पनि छौँ । त्यो प्रावधानले गर्दा धेरै गरिबी बढेर जाने स्थिति रहँदैन ।
दोस्रो प्रधानमन्त्री रोजगार कार्यक्रममा बढीभन्दा बढी काम गर्न चाहने मानिसलाई रोजगारीमा जोड्ने कुरा हो । त्यसमा हामी उल्लेख्य रूपमा काम गर्छौं । साँच्चि नै उत्पादक र अर्थपूर्ण नै रोजगारी सिर्जना गरेर जाने हो । त्यसो हुँदा गरिबीमा रोजगारी टुटेका कारणले ठूलो असर पर्दैन ।

० परिस्थिति फेरिएको छ, यो वर्षको बजेटको ढाँचाबारे कसरी सोच्नुभएको छ ?
– यो पटक कोभिडका कारणले कतिपय आयोजना सुरु गर्दागर्दै, कतिपय सुरु नै नगरी, कतिपय आधा अवस्थामा छन् । तिनीहरूलाई उत्पादनमूलक ढङ्गले सम्पन्न गर्नुछ । त्यो कुरा छाड्नै सकिँदैन । त्यसका अतिरिक्त हामीले जनजीविकाका कुरा, नागरिकका जनअपेक्षाका कुरा छन् । ती जनअपेक्षा कोभिड हुँदा पनि र नहुँदा पनि कायमै छन् । त्यसलाई हामी त्याग्न पनि सक्दैनौँ, ती मौलिक हकको रूपमा पनि उल्लेखित छन् । ती राज्यका निर्देशक सिद्धान्त भनेर पनि आएकै छन् । पछिल्लो समयमा कोभिडको कारणले उत्पन्न भएका चुनौती छन् । स्वास्थ्य चुनौती, अर्थतन्त्रमा आएको शिथिल पन र साधन स्रोतमा आएको सङ्कुचन यी सबैलाई व्यवस्थापन पनि गर्नुप¥यो । हाम्रो १५औँ योजना, हामीले अहिलेसम्म चालेका नीति तथा कदम, बजेट तथा कार्यक्रम र पछिल्लो चरणमा देखिएका चुनौती सम्बोधन गर्नेगरी बजेट आउँछ । त्यो गरिरहँदा प्रदेश र स्थानीय तहमा पनि नयाँ प्रकारले प्राथमिकता दिएर हामीले दिने अनुदान पनि त्यसरी नै व्यवस्थित गर्दै जाने हो ।

० आन्तरिक स्रोत कटौती भएको छ । त्यो कसरी पूर्ति हुन्छ । यसले गर्दा बजेटको आकार पनि कम भएर जान्छ कि ?
– बजेटको आकारमा त हामी छलफल गर्र्दैछौँ । राष्ट्रिय योजना आयोगले तयार गरेको बजेट सीमाभित्र रहेर हामी काम गर्दैछौँ । चालू आर्थिक वर्ष जस्तै अर्को वर्ष त नरहला, कोरोना जोखिमको सङ्क्रमण त्यही तहमा त पक्कै नरहला र हाम्रा आर्थिक गतिविधि सामान्य अवस्थामा पक्कै फर्किन्छन् होला । त्यो सबैले अनुमान गर्ने कुरा हो । त्यो सामान्य स्थितिबाट धेरै माथि त कति उठ्न सकिन्छ त्यो बेग्लै कुरा हो ।
बाह्य सहायता अन्तर्गत अहिले नै अर्को वर्षका लागि करिब डेढ खर्बभन्दा बढी रकम परिचालित गरिसकेका छौँ । त्यसो हुनाले राजस्वमा आउने कमीलाई हामीले वैदेशिक स्रोतबाट पूरा गर्न सक्छौँ । कुरा के हो भने वैदेशिक स्रोत खर्च गर्ने हाम्रो क्षमता चाहियो । हाम्रो क्रियाशीलता र निर्णय क्षमता पनि चाहियो ।
आन्तरिक स्रोतबाट व्यहोरिने रकममा त्यसको सन्तुलन केही तलमाथि होला । सीमा र बजेट अनुशासनभित्रै रहेर सरकारले आन्तरिक ऋण लिन्छ । त्यसो गर्दा निजी क्षेत्रलाई चाहिने साधन स्रोत आकलन गरेर मात्रै सरकारले आन्तरिक ऋणबाट उठाउँछ ।

० उद्योग व्यवसाय रिभाइभलका लागि सरकारले प्याकेज दिनुपर्छ भन्ने निजी क्षेत्रको आग्रह छ । बजेटमा त्यस्तो के कुरा आउँछ ?
– पहिलो कुरा बजेट आफैँमा प्याकेज हो भनेर बुझ्नुपर्छ निजी क्षेत्रले । दोस्रो कुरा यो कुनै यस्तो समस्या होइन जुन सरकारले मात्र सिर्जना गरिदिएको होस् र त्यसको सम्पूर्ण भार सरकारले नै व्यहोर्नुपरोस् अथवा व्यहोर्नुपर्ने होस् । हामीले के बुझ्नुपर्छ भने सरकार परिचालक हो, वितरक हो तर स्रोत त चाहियो नि । त्यस कारणले हामी कुनै क्षेत्रलाई जति बढी राहत दिने हो त्यसको त्यति नै बराबरको रकम हामीले स्रोत सङ्कलन कहीँबाट परिचालन गर्नुपर्ने हुन्छ । त्यो परिचालन गर्न राजस्वकै स्रोत बढाउनुपर्ने हुन्छ ।
सरकारले नजिकबाट ध्यानमा राखेर पुनरुत्थानका कार्यक्रम ल्याउँछ जसमा उहाँहरूको पनि योगदान र सहकार्य चाहिन्छ । उहाँहरू भनेको व्यवसायी मात्रै होइनन्, बैङ्क पनि त निजी क्षेत्र नै हो । निजी क्षेत्रमै एउटाले अर्कोलाई सहयोग गर्ने कुरा सरकार मार्फत सहयोग गरिदिनुप¥यो भन्नु चाहिँ उहाँहरूले भएन । उहाँहरू छाता सङ्गठन हुनुहुन्छ । बैङ्क पनि उहाँहरूकै हुन्, ऋणी पनि उहाँहरू नै हो । त्यसैले उहाँहरू बसेरै समाधान गरे त भयो नि । हामी के चाहन्छौँ भने बैङ्क र व्यवसायीको समस्या तपाईंहरू नै बसेर समाधान गर्नुहोस् । धेरै टाढा जानुप¥यो त्यो राष्ट्रबैङ्कसम्म मात्रै हो । अर्थ मन्त्रालय त आउनैपर्दैन । मात्रै हामी सँगको समस्या करको समस्या हो । करको समस्या हामी हेर्छौं । निजी क्षेत्रलाई हाम्रो त सिद्धान्तै छ व्यवसायमैत्री कर प्रणालीको विकास गर्ने ।

० भुक्तानी सन्तुलन र विदेशी विनिमयमा पर्नसक्ने चाप कसरी व्यवस्थापन गर्छौं ?
– यो चाहिँ ठूलो समस्या होइन । किन होइन भने यो आर्थिक वृद्धिसँग जोडिएको कुरा हुन्छ, भुक्तानी सन्तुलनको कुरा । अघिल्लो वर्ष आर्थिक वृद्धि धेरै उच्च थियो । भुक्तानी सन्तुलन घाटामा गयो भनेर साराले गाली गरे । आर्थिक वृद्धि भएर के गर्नु भुक्तानी सन्तुलन घाटा भयो भनेर । अहिले आर्थिक वृद्धि अलिक कम छ, आर्थिक वृद्धि कम हुनु भनेको लगानी कम हुनु हो, लगानी कम हुनु भनेको आयात अलि कम हुनु हो, आयात कम हुनु भनेको व्यापार घाटा अलि कम हुनु हो, व्यापार घाटा अलि कम हुनु भनेको भुक्तानी घाटा सुधार हुनु हो ।
सानोतिनो भुक्तानी समस्या हुन लाग्यो भने मौद्रिक नीतिले त्यो सम्बोधन गर्न सकिन्छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहायताबाट र कर प्रणालीबाट पनि त्यसको सम्बोधन हुने ठाउँ छ । असार सम्मको स्थिति हेरेर हाम्रा उपकरण प्रयोग गर्छौं ।

० विपद्को बेला सामाजिक संयन्त्र नभएको जस्तो देखियो नि ?
– म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा हामीले राज्य सुविधा परिचयपत्र दिने भनेर २०६६ सालबाट सुरु गरेका हौँ । २०७६ सालमा आउँदा पनि सबै जिल्लामा परिचयपत्र बाँड्न सक्ने त के सर्भेक्षणसमेत गर्ने अवस्थामा छैनौँ । आउँदो आर्थिक वर्ष भरिमा त्यो गरिबीको पहिचान गरिसकौँला । तर अहिलेसम्म जो–जो पहिचान हुनुभएको छ उहाँहरूलाई सामाजिक सुरक्षाको दायरामा थपेर ल्याउँछौँ एउटा विषय त्यो छ ।
हामीसँग कुनै न कुनै रूपको सामाजिक सुरक्षाको दायरामा एक करोड जनता छन् । ती सबै गरिब चाहिँ होइनन् । लक्षित रूपमा भन्ने हो भने को चाहिँ गरिबीको रेखामुनि हो कसलाई दिनुपर्ने हो भन्ने छुट्याउन बाँकी छ ।
हामीले राहत वितरणको योजना क्याबिनेटबाट पास ग¥यौँ । काम गरे बापत हामी न्यूनतम ज्याला दिन्छौँ काम गर्नूस् खानूस् भन्यौँ । अब थाहा पाइन्छ नि काम गरेर खानुपर्ने सम्मकै आवश्यकता परेको परिवार पाल्नुपर्ने मान्छे त श्रम गर्न आउँछ नि । आएन भने एक चौथाइ लिएर बस्छ । ऊ गरिब होइन भन्ने कुरा हामीले बुझ्नुप¥यो । यो सेल्फ टार्गेटिभ मेकानिजम हो । अहिले हामीले गर्न खोजेको प्रधानमन्त्री रोजगार कार्यक्रम पनि सेल्फ टार्गेटिभ मेकानिजम हो ।

० गोरखापत्रको वार्षिकोत्सव, १२औँ पत्रकारिता दिवस पनि हो यसै अवसरमा नेपाली पत्रकारिताको ट्रेन्ड कस्तो महसुस गर्नुभएको छ ? खासगरी विश्वसनीयता, सरकारी सञ्चार माध्यमको औचित्य र आवश्यकताका बारेमा ?
– गोरखापत्र आफैँमा १२० वर्ष पुगेको उपलक्ष्यमा गोरखापत्र परिवारलाई मेरो शुभकामना छ । २०४७÷४८ सालभन्दा अगाडि ब्रोडसिट पत्रिका भनेकै गोरखापत्र र द राइजिड नेपाल हो । त्यो भूमिका आज पर्यन्त छ । त्यो बाहेक पनि आफ्नो साख बढाएर अघि बढ्ने स्थिति गोरखापत्रको छ । लामो इतिहास छ, लामो साथ पनि छ र अहिले अप्ठ्यारो परिस्थितिमा विशेष जिम्मेवारी पनि हँुदोरहेछ ।
एउटा जिम्मेवार सञ्चार निकायको रूपमा सार्वजनिक सञ्चार माध्यमले सही सूचना सही समयमा सबै पाठक श्रोता दर्शकसामु पु¥याउनुपर्ने हुन्छ । त्यो मानेमा रेडियो, टिभी, छापा माध्यमको भूमिका हुन्छ यस विषयमा धेरै टिप्पणी गर्दिन । मैले के भन्ने गरेको छु भने पूर्ण प्रेस स्वतन्त्रता हो । मेरो अनुरोध के हो भने हामी त्यस्तो समाचार सम्प्रेषण नगरौँ, त्यस्तो कुनै दृश्य नदेखाउँ, त्यस्तो कुनै कुरा ध्वनिबाट प्रसारण नगरौँ कि समाजले सञ्चार माध्यमप्रति एक किसिमको वितृष्णा जगाउने स्थिति बनोस् ।
मूलतः सञ्चार माध्यमको समाज परिवर्तन गर्न, समाजलाई सभ्य बनाउन, नागरिकलाई सु–सूचित गर्न सरकारलाई राम्रा कुराका लागि पृष्ठपोषण गर्न र सकारात्मक आलोचनाको माध्यमबाट गल्ती कमजोरी भएको रहेछ भने सच्याउने अवसर दिन आम सञ्चार माध्यमको भूमिका हुन्छ । त्यो भूमिकाको हामीले अपेक्षा गर्दछौँ ।
सञ्चार मन्त्रीको दृष्टिकोणले म के भन्न चाहन्छु भने आम सञ्चारकर्मी हामी सहकार्य गर्न सक्छौँ । साझा एजेन्डामा सँगसँगै अघि बढ्न सक्छौँ । फरक विचार छन् भने स्वस्थ ढङ्गले आ–आफ्ना तर्फबाट स्वस्थ आलोचना राख्न सक्छौँ, त्यसैले समाज सिर्जनशील ढङ्गले अघि बढ्न सक्छ । त्यो सिर्जनशील ढङ्गले अघि बढ्ने कुरामा सरकार आलोचना सुन्न पनि तयार छ तर निजी क्षेत्रले तटस्थ, निर्भीक र न्यायिक मनले आलोचना गर्नुप¥यो ।

० बजेट अधिवेशनसँगै केही विधेयक संसद्मा विचाराधीन छन् । त्यसमध्ये केही सञ्चारसँग सम्बन्धित छन् । खासगरी न्यु मिडियालाई नियमन गर्न आएका विधेयक कत्तिको आवश्यक छन् भन्ने यहाँलाई लाग्छ ?
– केही विधेयक चाहे ती सार्वजनिक प्रसारण सेवासँग सम्बन्धित हुन् चाहे ती मिडिया काउन्सिल भनेर हुन् वा अरू प्रकारका आम सञ्चारसँग सम्बन्धित विधेयक हुन् चाहे सूचना प्रविधि सम्बन्धी विधेयक हुन् यी सबै विधेयक अत्यावश्यक भएर सरकारले ल्याउन खोजेको हो । कुनै संसद्मा विचाराधीन छन् कुनै मन्त्रिपरिषद्मै रहेका छन्, यी कानुन हामीले अघि बढाएर स्वस्थ र आधुनिक सूचना प्रविधिलाई जोड्ने र पेसागत मर्यादा र अनुशासन सहितको पत्रकारिता र अर्को विश्वसनीय, सभ्य समाजलाई विकासको गतिमा अघि बढाउन आर्थिक, सामाजिक रुपान्तरणलाई सहयोग गर्ने हाम्रो आम सञ्चार माध्यमलाई अघि बढाउन ती कानुनमा संसद्ले परिमार्जन गर्नुपर्ने ठाउँमा परिमार्जनसहित र परिमार्जन गर्न नपर्ने भए स्वाभाविक रूपमा छलफल गरेर यिनीहरूलाई पास गर्न सञ्चार मन्त्रालयले आफ्नो तर्फबाट प्रयास गर्छ ।

० भर्खरै सत्तारुढ नेकपामा विवादको ठूलो तरङ्ग ल्यायो यसले बजेट निर्माणमा यहाँहरूलाई प्रभाव पा¥यो कि पारेन ?
– पार्टी भित्रको आन्तरिक सामान्य विवादले भन्दा पनि कोरोनाको जोखिम व्यवस्थापनले बढी प्रभावित ग¥यो । अर्को कुरा भूकम्प नै गए पनि, जति ठूलो विपद् भए पनि जेठ १५ गते बजेट त ल्याउनै प¥यो त्यसको त विकल्पै छैन । जस्तोसुकै विषम र जटिल परिस्थितिमा पनि बजेट निर्माणको काम कहिल्ले पनि रोकिँदैन ।

० कोरोना विरुद्धको लडाइँमा ठूला ठूला पावर पनि कमजोर देखिए, अबको शक्ति शन्तुलन एसियातिर केन्द्रित हुँदै समाजवादतर्फ अघि बढेको हो ?
– जो अहिले कोरोना सङ्क्रमणबाट आर्थिक रूपमा छिटो उठ्न सक्छन्, जसले छिटो आफ्नो शक्ति आर्जन गर्न सक्छन् त्यति नै रूपले शक्ति अब सन्तुलन दायाँ–बाँया हुनेभयो । पहिले कुरा यो र दोस्रो कुरा यसै पनि युरोप अमेरिकाको आर्थिक वृद्धिदर दुई÷तीन प्रतिशत हो । एसियाको औसत आर्थिक वृद्धिदर छदेखि सात प्रतिशत हो । यो प्रवृत्ति त २० वर्षदेखि छ । एसियन मुलुक उदारताबाट अघि बढेका होइनन् । नियोजित प्लान इकोनोमी योजनाबद्ध विकास समाजवाद उन्मुख अर्थतन्त्र र नीतिबाट हो ।
अबको विश्वव्यापी एजेन्डा भनेको धान्नै नसक्ने शैलीको उत्पादन, धान्नै नसक्ने वातावरण ह्रास, जलवायु परिवर्तन रोक्ने हो । त्यसो भएको हुनाले दिगो विकासको लक्ष्य आउँदा आउँदै त्यो हामीले लिवरलिजम त छोडिसकेका छौँ । राज्यको प्रमुख भूमिका हुन्छ भन्ने कुरा त्यो विश्वव्यापी रूपमा मान्यता प्राप्त गरेको दिगो विकास लक्ष्यमै सबै प्रतिविम्बित भइसकेको कुरा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?