logo
२०८० चैत्र १५ बिहीवार



घर फर्किए ९१३ विदेशी पर्यटक

पर्यटन |


घर फर्किए ९१३ विदेशी पर्यटक


काठमाडौँ, चैत १६ गते । सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो । यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाडौँ ल्याइएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले लुक्लालगायत गन्तब्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तब्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसरी काठमाडौँमा जम्मा भएका ९१३ विदेशी नागरिक घर फर्किएका छन् । ती नागरिकलाई सम्बन्धित मुलुकले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तब्यतर्फ लगेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३०४ र शनिबार दुई उडानमार्फत ६०९ युरोपेली मुलुकका नागरिक लगेको विमानस्थलले जनाएको छ । लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जनाएको छ ।

फ्रान्स, जर्मनलगायत मुलुकका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्टे«लिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ । अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने जनाइएको छ ।

लकडाउनका कारण मुलुकको अन्तरराष्ट्रिय उडान ठप्प प्रायः रहेपनि शुक्रबार र शनिबार दिनभरजसो आन्तरिक उद्धारका उडानहरु भए । आज पनि पाँचदेखि सात उडानबाट विदेशी नागरिकलाई र तिनका सहयोगी नेपालीलाई काठमाडौँ ल्याइने बोर्डले जनाएको छ । लुक्लामा रहेका विदेशी पर्यटकका गाइड तथा भरियालाई काठमाडौँ ल्याउन लागिएको हो ।

अन्य पर्यटकको भने अहिले जुन स्थानमा रहेका छन् सोही स्थानमा सहज वातारणका साथ राख्न र सम्बन्धित मुलुकले लैजान चाहेको खण्डमा काठमाडौँसम्म ल्याउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । “रोकिएका पर्यटक आइसके अब देशका विभिन्न गन्तब्यमा रहेका पर्यटकलाई उनीहरुको मुलुकबाट लैजाने व्यवस्था नभएसम्मका लागि हालकै स्थानमा व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

बोर्डको विवरणमा शनिबार लुक्ला र पोखराबाट गरी ६०४ र जोमसोमबाट ५८ पर्यटक उद्धार गरी ल्याइएको थियो । त्यस्तैअन्तर्गत गन्तब्यबाट विभिन्न तवरले बोर्डले नेपालका विभिन्न पर्यटकीय गन्तब्य तथा प्रमुख पर्यटकीय शहरमा रहेका पर्यटकको वास्तविक विवरण उपलब्ध गराइदिन होटल, घरबास कार्यक्रम (होमस्टे)लगायतलाई बोर्डले जरुरी सूचना निकालेर आग्रह गरेको छ । नेपालमा कति सङ्ख्यामा विदेशी पर्यटक छन् भन्नेबारे विभिन्न माध्यमबाट सङ्ख्या व्यवस्थापनको काम भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले अहिले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारीको व्यवस्था गरी सेवालाई नियमित गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । वसन्त ऋतुको यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा युरोपेली मुलुकका नागरिक नेपाल आएका थिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगिरहेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?