logo
२०८१ बैशाख ८ शनिवार



पर्यटकको धमाधम उद्धार

मुख्य समाचार |


पर्यटकको धमाधम उद्धार


विश्वास रेग्मी

काठमाडौँ, चैत १४ गते । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण देशका विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकको उद्धार कार्य सुरु भएको छ । बिहीबार मात्रै सगरमाथा क्षेत्रमा पदयात्रामा निस्केका १५ जना पर्यटकलाई तारा एयरको चार्टर्ड विमानमार्फत नेपालस्थित फ्रान्सेली राजदूतावासले काठमाडौँ ल्याएको छ । त्यस्तै जोमसोममा अलपत्र परेका ४० पर्यटक र २० गाइडलाई पनि बिहीबारसम्म पोखरा ल्याइएको छ ।
अलपत्र पर्यटकलाई नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), स्थानीय निकाय र सम्बन्धित देशका नेपालस्थित राजदूतावाससँग समन्वयमा उद्धारको काम भइरहेको छ । टानका अनुसार स्याफ्रुबेँसीमा रहेका तीन जना फिनल्यान्डका पर्यटक र चितवनबाट दुई जना पर्यटकलाई समन्वयमा काठमाडौँ ल्याइएको छ ।
त्यस्तै मनास्लु क्षेत्रबाट त्यहाँको धार्चे मनास्लु गाउँपालिकासँगको सहकार्यमा १० जना पर्यटकको उद्धार गरिएको पनि टानले जनाएको छ । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा गएका पर्यटकको नामावली सङ्कलनको काम भने जारी छ । देशका अन्य भागमा अलपत्र परेका पर्यटकको नामावली तयार गरेर सम्पर्कमा ल्याउने प्रयास भइरहेको टानका अध्यक्ष खुमबहादुुर सुवेदीले जानकारी दिनुभयो ।
उद्धार गरेर काठमाडौँ ल्याइएका पर्यटक सम्बन्धित राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । कतिपय पर्यटक राजदूतावासको सम्पर्कमा आइसकेका छन् । सम्बन्धित राजदूतावासले आफ्ना देशका नागरिकलाई चार्टर्ड विमानमार्फत फिर्ता गराउने प्रबन्ध पनि गरिरहेका छन् । उद्धार गरेर ल्याइएका पर्यटकलाई आफ्नै किसिमबाट अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन गरिएको छ ।

अलपत्र पर्यटकलाई बस्न खान निःशुल्क
खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला क्षेत्रमा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना तथा बस्नेको व्यवस्था गर्ने भएको छ । होटल सङ्घ लुक्लासँगको सहकार्यमा लकडाउन अवधिभर पर्यटकलाई यस्तो सुविधा उपलब्ध गराइने उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष आङ् फुर्बा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विभिन्न देशका एक सय २२ पर्यटक सम्पर्कमा छन् । त्यस्ता पर्यटकको स्वास्थ्य परीक्षण गरेर होटलमा निःशुल्क सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो । अझै केही पर्यटक माथिल्लो क्षेत्रबाट आउने क्रम छ, उहाँले भन्नुभयो । आएका सबै पर्यटकलाई निःशुल्क नै सुविधा दिन्छौँ ।

अनलाइनबाटै खोजिँदै पर्यटक
नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटक खोज्ने पहलस्वरूप अनलाइनमार्फत साझा पहल सुरु गरेको छ । बोर्डले स्ट्रान्डेडइन नेपाल डट कम नाम पोर्टल निर्माण गरी अलपत्र पर्यटकका बारेमा जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ । त्यस्तै विभिन्न सम्पर्क नम्बरसमेत उपलब्ध गराएर पर्यटकलाई आफैँ सम्पर्क गर्नसमेत भनिएको छ । बोर्डले सामाजिक सञ्जालहरूमा पनि यही नामबाट अलपत्र पर्यटकको जानकारी लिने र उद्धार गर्ने प्रयास गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?