logo
२०८० चैत्र १६ शुक्रवार



विद्युत् आपूर्ति पर्याप्त

मुख्य समाचार |


विद्युत् आपूर्ति पर्याप्त


गोपालचन्द्र सुवेदी

काठमाडौँ, चैत १३ गते । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सबै बाह्य गतिविधि रोकेसँगै नेपालको विद्युत्को मागमा उच्च गिरावट आएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रक्षेपण केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार मङ्गलबार बिहानदेखि कार्यान्वयनमा ल्याइएको लकडाउन घोषणा भएसँगै विद्युत्को मागमा पनि उच्च गिरावट आएको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय बन्द भएपछि विद्युत्को माग घटेको हो । अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेको छ । खपत घटेसँगै भारतबाट विुद्युत् आयात पनि घटाइएको छ ।
लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमान्ड) एक हजार दुई सय मेगावाटको हाराहारीमा रहेकोमा मङ्गलबार घटेर नौ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमान्ड साँझ सात बजे रेकर्ड गरिएको हो । मङ्गलबार राति विद्युत्को माग ४८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमान्ड ६२८ मेगावाट छ । मङ्गलबार बिहान करिब आठ सय मेगावाटमा आएको थियो ।
लोड सेन्टर मानिने काठमाडौंँ उपत्यकाको विद्युत्को माग पनि घटेको छ । साढे तीन सय मेगावाट विद्युत् खपत गर्ने काठमाडौँले पिक आवरमा पनि २९० मेगावाट मात्र खपत गरेको देखिएको छ । काठमाडौँ उपत्यकामा मङ्गलबार बिहान विद्युत्को माग एक सय तीन मेगावाट र राति एक सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौँ उपत्यकाको विद्युत्को माग १०४ मेगावाट मध्यान्ह १२ बजे १८२ मेगावाट रहेको थियो ।
माग घटेपछि नेपालले भारतबाट नियमित रूपमा आयात गर्दै आएको दुई सय मेगावाट विद्युत् पनि कटौती गरेको छ । खासगरी नेपाल विद्युत् प्राधिकरणले निरन्तररूपमा (राउन्ड दी टेवल क्लक) लिने गरेको विद्युत्समेत यसपटक कटौती गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरण भार प्रक्षेपण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार कोरोनाको जोखिम भवितव्यका रूपमा आएको र जीवन रक्षाका लागि लकडाउन गरिएकाले सोही आधारमा विद्युत् आयात कटौती गरिएको हो । तत्काल आवश्यक हुँदा आपूर्ति गर्ने विद्युत्को शुल्क महँगो हुन्छ । जुन लोड तात्कालिक व्यवस्थापनका लागि माग गरिन्छ तर आरटीसी मोडेलमा ल्याउन सम्झौता गरेर र लिने पर्ने अन्यथा जरिवाना तिर्नुपर्ने हुन्छ तर कोरोना महामारी भवितव्यका रूपमा देखापरेकाले प्राधिकरणले आरसीटीकै विद्युत्समेत कटौती गर्दा जरिमाना तिर्नु पर्दैन । यसअनु्सार मुजफ्फरपुरबाट नियमित आउने गरेको २५० मध्ये २०० मेगावाट र टनकपुरबाट आउने गरेको ५० मेगावाटमध्ये ४० मेगावाट कटौती गरिएको छ ।
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग एकाएक घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । “उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वात्तै घटेको हो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “लकडाउनका कारण घरायसी प्रयोजनका लागि ग्यासको अभाव भएमा इन्डक्सन चुलोलगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनुहोला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ । ”
घिसिङले पानी, हुरी, प्राविधिकलगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुनसक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारी चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताउनुभयो । विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । जलाशययुक्त कुलेखानी पनि
चलाइएको छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?