logo
२०८१ बैशाख ८ शनिवार



बचौँ र बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ

अन्तरवार्ता |


बचौँ र बचाऔँ भन्नेतिर सबैले ध्यान दिऔँ


चीनको हुवेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वव्यापी भइसकेको छ । अहिलेसम्म नेपालमा यो भाइरस सङ्क्रमण फैलिइसकेको छैन तर खुला सीमा र सघन आवागमन रहेको छिमेकी मुलुक भारतको नेपाली सीमावर्ती विहारसम्म यो भाइरस फैलिन भ्याइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ‘जोखिम क्षेत्र’ राखेको नेपाल र भारतसँगको खुला सिमानाका कारण व्यक्तिहरूको ओहोरदोहोर र सम्पर्कले भाइरस सर्ने बढी खतरा रहेको जनस्वास्थ्यका विज्ञहरूको तर्क रहँदै आएको छ । सरकारले मुलुकलाई ‘सेमी लक डाउन’का रूपमा घोषणा गरेको भए पनि पूर्ण लक डाउन घोषणा गर्नुपर्ने सुझाव आउन थालेको छ । आज गोरखापत्र संवाद कोरोना भाइरसबाट नेपालमा रहेको चुनौती र सामनाबारेमा केन्द्रित भएर मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी तथा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेसँग छ ।

कोरोना भाइरसबारे विभिन्न बुझाइ आमजनमानसमा देखिन्छ । यो कोरोना भाइरस सङ्क्रमणबाट जोगिन सरकारको तयारी कस्तो छ ?

डा. देवकोटा : चीनमा कोरोनाको सङ्क्रमण देखिँदासाथ, नेपालमा नदेखिँदैदेखि हामीले रोकथामको तयारी गरेका छौँ । विश्व स्वास्थ्य सङ्गठनले भनिरहेकै थियो, यो फैलिन्छ भनेर । त्यसैले प्रधानमन्त्री केपी ओलीले सुरुमै बैठक बोलाउनुभयो, हामी पटक–पटक बैठकमा गयौँ । मन्त्रालयमा विभिन्न कमिटी बनाएर सरकारको तर्फबाट काम भइरहेको बेला एकजनामा पोजिटिभ रिपोर्ट देखिएपछि हामी बढी केन्द्रित भएर काम ग¥यौँ । पोजेटिभ केसको निदान यहीँ सम्भव भयो, नेगेटिभ बनायौँ । यो घटनाले सन्देश दियो– यो भाइरस नेपाल आउन सक्छ । त्यहीँबाट रोकथामको तयारी यात्रा सरु ग¥यौँ । त्यसदेखि नै महामारी फैलियो भने के गर्ने भनी योजना बनाएर समन्वयात्मक ढङ्गले काम गरिरहेका छौँ । यो रोग आउनै नदिनेतर्फ हाम्रो तयारी छ । अहिलेसम्म सङ्क्रमण देखिएको छैन, यो हाम्रा लागि खुसीको कुरा हो । यो रोग नेपालमा छैन, बाहिरबाटै आउने हो । यसबारे ‘सर्भिलेन्स’ कसरी गर्ने ? ‘रिस्क म्यानेजमेन्ट’ कसरी गर्ने, अस्पतालको तयारी कसरी गर्ने ? क्वारेन्टाइनको व्यवस्थापन, लजिस्टिकको व्यवस्थापन कसरी गर्ने भनेर नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ । मुख्य सचिवको संयोजकत्वमा एक्सन कमिटी छ ।
त्यसबाहेक अन्य कमिटीहरू पनि छन्, सबै समितिले सक्रियतापूर्वक काम गरिरहेका छन् । अस्पतालको तयारीका बारेमा काम भइरहेको छ । अहिले कोरोना विश्वव्यापी भएको छ । त्यसैले हामीले पनि अत्यधिक होसियारी अपनाउनुपर्नेछ । चीनमा सुरुमा देखियो तर अहिले त्यहाँ बन्द भयो, अरू मुलुकमा फैलिएको छ । युरोप अमेरिकतिर डर बढेको छ, मृत्यदर बढेको छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि देखिइसकेको छ । हाम्रो सिमाना खुला छ, त्यसैले जोखिम अझ बढी भयो । अब हाम्रो रणनीति प्रवेशको नाका रोक्नेदेखि समुदायमा नफैलियोस् भनेर क्वारेन्टाइन र आइसोलेसनमा केन्द्रित हुनुपर्नेछ ।

डा. पाण्डे : कोरोना पहिले प्लेन चढेर आउँछ भन्थ्यौँ । प्लेन बन्द भयो अहिले । नेपालको उत्तरी सीमा तिब्बत छ । त्यहाँ कोरोना देखिएको छैन । अर्को पूर्व, पश्चिम र दक्षिणमा भारत छ । भारतमा कोरोना भाइरस देखिइसकेको छ । त्यसैले अब कोरोना भारतबाटै आउने ‘रिस्क’ बढेको छ । भाइरस लुकाएर त लुक्दैन, केही समय लुके पनि सधैँ लुकाउन सकिँदैन । भारतमा तीव्र गतिका साथ यो भाइरस फैलिनेक्रममा छ । भारतमा जनसङ्ख्या पनि ठूलो छ । नेपाली धेरै भारतमा काम गर्न जाने गर्छन् । नेपाली धमाधम भारतबाट नेपाल आइरहेका छन् । भारतीय पनि सुरक्षित छन् भनेर नेपाल प्रवेश गरेको अवस्था छ । त्यहाँको स्वास्थ्य चेतना पनि कमजोर छ, अनि बसको छत चढेर आवतजावत भइरहेको छ । यस्तो अवस्थामा सरकारले ‘रिस्क’ लिएर सबै सीमा बन्द गर्नुपर्छ । नेपालीलाई बचाउने उपयुक्त उपाय त्यही हो । होइन, हाम्रा सन्धि पनि तर यस्तो अवस्थामा ‘बोर्डर सिल’ नहुने हो भने सङ्क्रमण फैलिन्छ र हामी थेग्न सक्दैनौँ । एकैचोटि दसौँ हजार सङ्क्रमित भए भने हामीसँग अस्पतालको त्यति ठूलो क्षमता पनि छैन । कम्तीमा १५ दिन पूर्णतः लक डाउन गर्न सकेको भए यो–यो स्थिति फरक हुन्थ्यो । प्रधानमन्त्रीको सम्बोधनमा त्यो आउनुपथ्र्यो तर आएन ।
अहिलेको अवस्थामा हामीले सिक्ने चीनबाटै हो । त्यही मोडल हामीले अपनाउँदा सुरक्षित हुन सक्छौँ, युरोप मोडलले हुँदैन । चीनले त्यसरी कडाइ नगरेको भए थेग्न सक्दैनथ्यो । अहिलेसम्म दक्षिण एसिया सुरक्षित नै छ । म्यानमार, भुटान, भियतनामजस्तो देशमा अहिले पनि कोरोनाको असर देखिएको छैन । बङ्गलादेशमा थोरैमात्र देखिएको छ । यो सङ्क्रमणबाट बच्न हामीले कठोर कदम चाल्नैपर्छ । हाम्रो तयारी अहिले राम्रो छ तर महामारीको रूप लिएमा व्यवस्थापन
समस्या पर्छ ।

डा. सा’प, तपाईं त सरुवा रोग अस्पतालमै हुनुहुन्छ । अवस्था कति डराउनुपर्ने हो ?

डा. राजभण्डारी : म डराएको छैन । इन्फ्लुन्जाको महामारी हामी हरेक वर्ष खेप्छौँ । अहिले कोरोना भएर आयो । अलिकति ‘प्याटर्न चेन्ज’मात्र भएको हो । जनमानसमा सबैभन्दा बढी त्रास देखिएको छ । सामान्य ज्वरो र खोकी लाग्नेबित्तिकै कोरोना भयो भन्न लागे । मेडिकल सेक्टरका मानिसले पनि त्यही भनिदिन थाले । स्वास्थ्यकर्मीले नै कोभिड–१९ भनेर रिपोर्ट लेखिपठाइदिन थाले । लेखिदिन लागेको समस्या पारिरहेको छ । हामीले भनेका छौँ– विनापरीक्षण त्यस्तो लेख्न हुँदैन । अनि कोरोना–१९ हो भने खुला रूपमा किन पठाउनुभयो ? त्यसो गर्नु अपराध हो । कसैमा शङ्का लागे हरेक अस्पतालमा आइसोलेसनमा राख्नुस्, खबर गर्नुस्, एम्बुलेन्स पठाउँछौँ भनेका छौँ । सामान्य रुघाखोकी लाग्नेबित्तिकै टेकु अस्पतालमा पठाउने प्रवृत्ति देखिएको छ । जसरी हुन्छ सङ्क्रमण हुन नदिनेतर्फ हामी सजगता अपनाउनुपर्छ ।
हामीले कालाजार, डेङ्गु, एचआईभीलगायतको केस पनि कोरोना भाइरस सँगसँगै हेर्नुपर्ने अवस्था छ । अब डेडिकेटेड सेवा दिनुपर्छ । टेकु अस्पतालमा गत शुक्रबारदेखि अरू सेवाहरू (जनरल ओपीडी) बन्द गरेर पाटन, वीरतिर पठाएका छौँ । पाटन, एपीएफलगायतका अस्पतालमा मिलाएका छौँ । आइसोलेसन बेड पाँचबाट २५ बनाएका छौँ । तीनवटा आईसीयू थिए– २० वटा बनाएका छौँ ।
अहिले पनि कतिपय केस आइरहेको छ । रिपोर्ट नआउँदासम्म अस्पतालमै आइसोलेसनमा राख्ने गरेका छौँ । रिपोर्ट नेगेटिभ आएमा घरमा पठाउँछौँ । १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरेका छौँ । धेरैजसोलाई घरमै क्वारेन्टाइन बस्न बनेका छौँ । समस्या परे फोन गर्नुस् भनेका छौँ । अहिलेको प्राथमिकता आइसोलेसन हो । कोरोना सङ्क्रमित सबैलाई अस्पताल भर्ना गर्नुपर्दैन । ८० प्रतिशत घरमै उपचार गर्न सकिन्छ । सामान्य रुघाखोकी घरमै ठीक हुन्छ । १५ प्रतिशतलाई निमोनियाको लक्षण देखिएमा अस्पताल भर्ना गर्नुपर्छ किनभने अक्सिजन र एन्टी बायोटिक दिनुपर्छ । ५ प्रतिशतलाई आईसीयूमै राख्नुपर्ने हुन्छ । प्लान बीअनुसार हामीले काम गरिरहेका छौँ । अन्य बिरामीलाई अरू अस्पतालमा राखेर उपचार गर्छौं ।
कोरोनाबाट बढी असर पर्ने रोग प्रतिरोध क्षमता कम भएका ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमितहरू, मिर्गैला प्रत्यारोपण गरेकाहरूलाई हो, अतः उहाँहरूमा बढी सजग र केन्द्रित रहनुपर्छ । जाडो–गर्मी (तापक्रम) ले यसमा खासै फरक पर्दैन । यो कोरोना भाइरस नयाँ भाइरस हो । यसको अध्ययन दिनहुँ चलिरहेकै छ । जोडोमा धेरै गर्मीमा नहुने भन्ने हुँदैन । तापक्रम बढी भएको ठाउँमा नहुने भए कतारमा किन देखिन्थ्यो ? तापक्रमले खासै फरक पार्दैन । सचेत रहनुपर्छ ।

 कोरोनाविरुद्धको लडाइँमा नागरिकले कसरी सहयोग गर्न सक्छन् ? नागरिकको मनोवैज्ञानिक त्रासलाई कसरी कम गर्न सकिएला ? घरेलु उपचारले कोरोना ठीक हुन्छ कि हुँदैन ?

डा. देवकोटा : नेपालमा कोरोना भित्रिएको छैन, सुरक्षित छौँ भन्नु गलत हुन्छ । विश्वव्यापी भएको अहिले नै हो, उपयुक्त समय होसियारी गर्ने । जे गर्ने हो आजै गर्ने हो । त्यसैले सरकारबाट झन्झन् कडा निर्णय भइरहेका छन् । पूर्ण ‘लक डाउन’ पनि हुन सक्छ । किनभने हामीलाई बढी चुनौती अब भारततिरबाट भयो । यसबाट मृत्यदर कम छ भनेर हुँदैन, फैलावट बढी छ । कुनै व्यक्ति सङ्क्रमित देशबाट आयो भने त्यो सम्भावित सङ्क्रमित हो । त्यसैले १४ दिन आइसोलेसनमा बसिदिनुपर्छ । यहाँ आइसोलेसन, क्वारेन्टाइन भनेको नबुझ्दा पनि समस्या भएको छ । आइसोलेसन भनेको छुट्टै बस्ने हो । क्वारेन्टाइन भनेको सम्भावित सङ्क्रमित व्यक्तिबाट अरूलाई नसरोस् भनेर अलग बस्ने स्थिति हो । लाखौँ व्यक्ति बाहिरबाट आए ती सबैलाई राज्यले क्वारेन्टाइनमा राख्न सक्दैन । नागरिकले आफैँ त्यो गर्न सक्नुपर्छ । झन् नेपालभन्दा अपेक्षाकृत विकसित देशमा गएका नागरिकमा चेतनास्तर पनि केही बढी हुने अपेक्षा गर्दा उनीहरूले सरकारलाई सहयोग गर्नुपर्छ । म सम्भावित सङ्क्रमित हो, म १४ दिन आइसोलेसन बसेमा सङ्क्रमित हो वा होइन पत्ता लाग्छ, मैले मेरो परिवारलाई रोग सार्न हुँदैन, त्यसैले अलग बस्छु भन्ने सोच्नुपर्छ । अलिकति टाढै बस्दा पनि धेरै फरक हुन्छ अवस्था । सबै जिम्मेवार नागरिकको बन्नुप¥यो– चौध दिन अलग बस्दा आफैँ, आफ्नो परिवार, समुदाय र देश बचाउँछु भन्नुप¥यो । यस्तो जिम्मेवारी महुशस गर्नुप¥यो ।
कोरोनाले आर्थिक, सामाजिक, औद्योगिक सबै क्षेत्रमा असर गरिरहेको छ, त्यसलाई नियन्त्रण गर्नमा राज्यसँगै नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । एक सयजनामा ८७ जनामा उच्च ज्वरो र ६८ जनामा श्वासप्रश्वासमा समस्या भएको देखिएको छ । त्यसैले यस्ता लक्षण देखिए सङ्क्रमण भएको हुन सक्छ । हरेक अस्पतालमा फिभर (ज्वरो) क्लिनिक सञ्चालन गर्नुपर्छ । त्यसबाट सङ्क्रमितको पहिचान हुन्छ र त्यहीबेला आइसोलेसनमा राख्न पनि सघाउ पुग्छ । सङ्क्रमित लक्षण देखिएको बिरामीलाई टेकुमात्र नपठाऊँ, हरेक अस्पतालले त्यस्ता बिरामीलाई आइसोलेसनमा राख्नुपर्छ र नमुना परीक्षणका लागि पठाउनुपर्छ । जिम्मेवारी निर्वाह गर्नुपर्छ । अहिले एक दिनमै रिपोर्ट आउँछ । जाँच गर्ने सबै व्यवस्था अहिले स्वदेशमै छ ।
कतिपय हल्ला हुने गरेको छ– कुनै क्लिनिक, अस्पतालले कोभिड–१९ लागेको भनेर टेकु अस्पतालमा पठाइएको तर त्यसले जाँचेन भनेर । त्यसो भए, ती क्लिनिक, अस्पतालले सङ्क्रमितलाई बजारमा त्यसरी खुला रूपमा हिँडाएर टेकुमा पठाउन मिल्छ ? त्यसैले कुनै अस्पतालले सङ्क्रमित देख्नुहुन्छ भने आ–आफैँ आइसोलेसनमा राख्नूस् र नमुना पठाउनुहोस् ।
बाहिरबाट सङ्क्रमित आइसकेपछि ‘होम क्वारेन्टाइन’मा पनि बस्नुपर्ने हुन सक्छ । यसमा सबै पक्षको जिम्मेवारी हुन्छ । यो महामारीको पूर्वसन्ध्याको समय हो, दुई साता घरभित्रै बस्नु नै उत्तम उपाय हो । म सङ्क्रमित हुन सक्छु तर तपाईंलाई जोगाउनु छ भनेर सबैजना घरमा बसिदिएमा नेपालमा कोरोना सङ्क्रमण फैलिनै पाउँदैन । अहिले खाद्यसामग्री घरमा थुपारेर केही हुँदैन बरु तपाईंका कारण अरूलाई अभाव हुन्छ । सङ्क्रमित भइहाल्नुभयो भने त्यो सामान खाएर बाँच्न सक्नुहुन्छ त ? सङ्क्रमित भएपछि औषधि खान त धौ–धौ हुन्छ, खाद्यान्न कसरी खानुहोला ? त्यसैले सङ्क्रमण नहुँदासम्म सबै समान छौँ । सङ्क्रमित भएपछि त्यो खाद्यान्नले त बचाउँदैन नि ।

डा. पाण्डे : केही दिनदेखि पब्लिकको मोबिलिटी (सर्वसाधारणको ओहोरदोहोर) बढेको छ । बसमा झुन्डिएर गाउँतिर गएको देखियो । गाउँ जाने त गइसके । गल्ती ग¥यौँ भनेर फेरि फर्काउन त सक्दैनौँ तर अब वडामा नयाँ मान्छे को–को आयो, सूची बनाएर होम क्वारेन्टाइनमा राखौँ । काउन्सिलिङ (परामर्श)मा राखौँ । कोरोना पराईबाट हैन, आफ्नै मान्छेबाट सर्छ भन्ने कुरा वडा तहमा काउन्सिलिङ हुन सकेमा राम्रो हुन्छ । क्वारेन्टाइन भनेको एकान्त वास नै हो । घरमै एकान्त वास बस्नु भनेको क्वारेन्टाइन हो । अस्पतालमा एकान्त वास बस्नु भनेको आइसोलेसन हो । गाउँमा, वडामा मानिस बाहिरबाट आए भने त्यो उपाय अपनाउनुपर्छ ।
अदुवा, लसुनपानी खान त सकिन्छ तर यी खाएर कोरोना ठीक हुने भ्रममात्र हो । हर्बल मेडिसिनबाट कोरोना ठीक भएको उदाहरण अहिलेसम्म छैन । सङ्क्रमितहरू अस्पतालमा आएरै उपचार गराउनुपर्छ । भूकम्पले मानसिक रोग बढाएको थियो । तर, यो कोरोना त्यसभन्दा बढी खतरनाक हो । त्रास फैलाउने काम गर्नुहुँदैन । कोरोना सङ्क्रमित सबै मानिस मर्दैनन् । ८० प्रतिशतलाई त सामान्य रुघाखोकीमात्र हुन्छ । त्यसमध्ये केहीलाई मात्र बढी समस्या पर्छ । रोगसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको मानिस सङ्क्रमित भए पनि समस्या पर्दैन ।

 सरकारले २५ जनाभन्दा बढी भीड नगरौँ भनेको छ तर सार्वजनिक यातायात, वृद्धाश्रम तथा जेलमा मान्छे बढी छन् । त्यस्तै क्लिनकमा पनि मान्छेको भीड छ नि ? पछिल्लो समय सरकारको निर्णय उल्लङ्घन गरी विमानबाट यात्रु ल्याइयो । सरकारले कसरी लिएको छ ?

डा. देवकोटा : कागतीपानीमा बेसार राखेर खानु अनावश्यक त हैन । रुघाखोकीलाई ठिकै होला । तर, कोरोनासँग
त्यसलाई नजोडौँ ।
अस्पतालमा अनावश्यक परीक्षण र सर्जरी नगरौँ भनेका छौँ । रेगुलर फलोअपमा रहेका बिरामी पनि अब केही समय आफूलाई रोक्नूस् । चिकित्सकले गम्भीर बिरामीबाहेक नियमित अवस्थाका बिरामीको फलोअप रोक्नूस् भनेका छौँ । फलोअपमा आउने बिरामीलाई अझ कोरोनाको बढी सङ्क्रमित हुने डर हुन्छ । रोगसँग लड्ने क्षमता नभएका बिरामी घरमै उपचार गर्नुस् । होलबडी चेकअफ, अरू चेकअप दुई महिनापछि गरे पनि हुन्छ । सरकारसँग भएको उपकरणका विषयमा कुरा गर्दा चुनौती त छ तर हामीसँग पर्याप्त छ । बजारमा भएका सबै लिन्छौँ । छापा मारेर पनि लिइरहेका छौँ । भाइचारा, सहयोगको भावना सबैमा हुनुपर्छ यस्तो बेलामा ।
हवाईजहाजबाट आएकालाई क्वारेन्टाइनमा राख्ने हाम्रो बाध्यता हो । जनतालाई जोगाउन त्यस्तो गर्नुपरेको हो । लापरबाही गरेका विमान कम्पनीलाई सजायको कुरा पनि आएको छ । जेलभित्र रहेका, वृद्धाश्रममा रहेकाहरूको कुरा गर्दा उहाँहरूलाई भेट्न नदिने निर्णय भएकै छ । खाने, बस्ने सुविधा छँदै छ, बाहिरबाट गएर नभेटौँ । मन्दिरमा पनि गएर पूजाआजा नगरौँ । भगवान् जहाँ पनि छन्, घरमै पूजा गर्दा हुन्छ । क्लिनिकमा भीडभाडको कुरा पनि गम्भीर विषय छ । भीड लगाएरमात्र हुँदैन, त्यसले आफैँलाई नै जोखिम बढाउँछ । त्यसको व्यवस्थापनको कुरा भएको छ । यो दुई हप्तासम्म सबैले आफ्नो घरभित्र बसौँ ।

डा. राजभण्डारी : पहिलो कुरा नागरिकमा बढी त्रास छ । सामाजिक सञ्जालले पनि त्यसमा भूमिका खेलेको छ । सामाजिक मनोपरामर्शमा ध्यान दिऊँ । स्वास्थ्यकर्मी, चिकित्सक सबैलाई यो काउन्सिलिङ गराउनुपर्छ । अस्पतालमा पनि परामर्श सेवा चलाउनुपर्छ । बिरामीसँग कस्तो व्यवहार गर्ने विषयमा पनि काउन्सिलिङ गर्नुपर्छ । सामाजिक सञ्जालमा भ्रम छर्नेलाई राज्यले कडा कारबाही गर्नुपर्छ  चिकित्सकसँगसँगै समाजका सबै नागरिकले काउन्सिलिङमा लाग्नुपर्छ ।
आफ्नो विज्ञता यस्तैबेला हो लगाउने । सामाजिक रूपमा जनचेतना जगाउने काम जानेका सबैले गर्नुपर्छ । पर्सनल प्रोटेक्टिभ इक्वीमेन्ट (पीपीई)मा को व्यवस्थापन र प्रयोगमा ध्यान दिनुपर्छ । सबैले एन–९५ मास्क, सेनिटाइजर लगाउन, टाउको छोप्न आवश्यक छैन । रुघाखोकी लागेका, अरूसँगको सम्बन्धमा रहने चिकित्साकर्मी, उच्च जोखिममा रहेका र भीडभाडमा जानेहरूका लागि हुन् ती, घरमा बस्ने ती लगेर थुपार्नु अपराध हो ।

á टेकु अस्पतालमा कोरोना टेस्ट गरेन, कीटहरू मगाएन भन्ने बाहिर भ्रम छ नि ?

डा. राजभण्डारी : टेकु अस्पताल सङ्क्रमितलाई उपचार गर्नेमात्र हो, टेस्ट गर्ने ठाउँ होइन । फेरि सबै आमनागरिकको टेस्ट गरिरहनुपर्दैन । अहिले कोरोनाको टेस्ट गर्ने बेला हो, इन्फ्लुएन्जाको टेस्ट गर्ने बेला होइन । रुखा लागेर सिँगान बग्नु भनेको इन्फ्लुएन्जा भएको हो, कोरोना होइन । पक्कै पनि हामीसँग पर्याप्त मात्रामा उपकरण छैन । स्रोत–साधनमा हामी धनी छैनौँ । हामीले सबै सामान बाहिरबाट मगाउनुपर्छ । कस्ता धनी देशलाई त समस्या परिरहेको छ, हामी त गरिब देश हौँ । यो अवस्थामा सङ्क्रमितलाई मात्र हामीले बढी फोकस गर्छौं । एक्सरे गर्दा सङ्क्रमणको लक्षण देखिएमा हामीले उपचारका लागि लिन्छौँ । सामान्य अरू रोगबाट पीडितलाई अरू अस्पतालमा फर्काउने गरेका छौँ, त्यो सही हो । एक महिना भयो जाँच गर्न थालेको, अहिले प्रतिदिन ७०÷८० वटा टेस्ट हुन्छन् । कोरोना टेस्ट गर्ने उपकरण यहीँ छन् । हरेक दिन पाँच सयजनाको टेस्ट गर्ने क्षमता भएको छ । थप उपकरणहरू मगाएका छौँ । विभिन्न शिक्षण संस्थाका प्रयोगशालालाई पनि परीक्षण गर्न दिने कि भन्ने कुरा भइरहेको छ । सबै प्रदेशका अस्पताललाई उपकरण
पठाउँदै छौँ ।
अब हाम्रा लागि ‘रिस्क’ भारत हो । बोर्डर पूर्णतः बन्द गर्नुपर्छ । ‘थर्मल गन’मा ज्वरो जाँचेरमात्र पुग्दैन, त्यसले सही कुरा देखाउँदैन । सीमा नाकामा जनचेतना, प्रचार बढाउनुपर्छ । गाउँ–ठाउँमा नयाँ को आयो, पहिचान गरेर सामाजिक आइसोलेसनमा राख्नुपर्छ । अहिले विद्यालय, कलेज बन्द छन्, त्यो ठाउँमा आइसोलेसनमा राख्दा हुन्छ । अनावश्यक रूपमा औषधि स्टोर नगर्नूस् । जनचेतनामूलक प्रचार सबै मिडिया र सामाजिक सञ्जालमा पनि गर्नुपर्छ । नकारात्मक सन्देश प्रवाह नगरौँ । जनजीवनलाई त्रसित पार्ने काम कसैले नगरौँ । सेनिटाइजर प्रयोगभन्दा हात धुनु बुद्धिमानी हो । पटक–पटक साबुनपानीले हात धोऊँ । इटालीमा ज्येष्ठ नागरिकको जनसङ्ख्या बढी छ, त्यसैले बढी सङ्क्रमित भएका हुन् । अहिले नेपाल ‘सेमी लक डाउन’ छ, पूर्णतः बन्द गरौँ । भोजभतेर नगरौँ, पसल बन्द गरौंँ । मान्छेको सम्पर्कमा धेरै नआऊँ । अतिआवश्यक बाहेकका काममा ध्यान नदिऊँ ।

डा देवकोटा : स्वास्थ्यकर्मीहरूको पनि ज्यानको थ्रेट हुन सक्छ, त्यसैले सबै तयारी गरेर उपचारमा जानुपर्छ । अपनाउने सबै सतर्कता अपनाउने व्यवस्था सरकारले गर्छ । चिकित्सकहरूलाई विनाहतियार लडाइँमा जा भन्दैनौँ, केही न केही सुरक्षित हुने उपकरण उपलब्ध गराउँछौँ । आफू बचौँ र अरूलाई पनि बचाऊँ भन्नेतिर सबैले ध्यान दिऊँ ।

 मौसमी ज्वरो, रुघाखोकीको मौसम पनि हो यो । कस्तो अवस्थामा डराउनुपर्ने हो ?

डा. पाण्डे : ज्वरो आउनेबित्तिकै कोरोना भयो भनेर त्रसित हुनुहुँदैन । सिँगान आउनु, हाच्छ्यूँ आउनु कोरोनाको लक्षण होइन । कोरोनाको मुख्य लक्षण तीनवटा हो– उच्च ज्वरो, सुख्खा खोकी र श्वास फेर्न गाह्रो, एक्स–रेमा निमोनिया देखिएको छ भनेमात्र हो । नत्र अरू लक्षण भएमा कोरोना भयो भनेर डराउनुपर्दैन । अस्पतालमा भीड गर्नु भनेको दुई पक्ष हुन्छ ।
एउटा उपचार गर्नु र अर्को रोग सार्नु । त्यहाँ उपचार पनि हुन्छ, रोग पनि सर्छ । त्यसैले अति आवश्यक भएमात्र अस्पताल जाऊँ, अरू सामान्य रुघाखोकी आएमा घरेलु उपचार गरौँ । कोरोना भाइरस लागेका सबैजनाको मृत्यु हुँदैन । धेरैजना उपचार गराएर घर फर्किनुहुन्छ, थोरैमात्र मानिसको मृत्यु हुन सक्छ । कोरोना हावाको माध्यमबाट सर्दैन, मानिससँग कुरा गर्दा श्वासप्रश्वासमा
थुकको माध्यमबाट सर्ने हो । त्यसैले एक–अर्काको सम्पर्कभन्दा टाढै बसौँ ।

प्रस्तुति : लक्की चौधरी
तस्बिर : कविता थापा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?