logo
२०८१ बैशाख ८ शनिवार



आर्थिक सहरका रूपमा विकास हुँदै बाँके

अन्तरवार्ता |


आर्थिक सहरका रूपमा विकास हुँदै बाँके


चार लाख ९१ हजार ३१३ जनसङ्ख्या रहेको बाँकेमा सङ्घीयतापछि आठवटा स्थानीय तह रहेका छन् । साबिक मध्य र सुदूरपश्चिम विकास क्षेत्रको प्रमुख सहरका रूपमा रहेको नेपालगन्ज अहिले पनि प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको आर्थिक केन्द्र बन्ने प्रयत्नमा छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामात्रै नभएर यहाँ नरैनापुर गाउँपालिकाजस्तो पिछडिएको क्षेत्र समेत पर्छ । नेपालगन्ज विमानस्थल रहेको यो जिल्ला शैक्षिक र स्वास्थ्यको ‘हब’ का रूपमा पनि रहेको छ । सामाजिक र धार्मिक सद्भावको नमुनाका रूपमा रहेको बाँके जिल्ला पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै छ । सङ्घीयतापछि प्रदेशको राजधानी दाबी गरिरहेका बाँकेवासी केही निराश देखिए पनि बाँके जिल्ला आर्थिक हिसाबले पश्चिम नेपालका तीन प्रदेशको मेरुदण्डका रूपमा छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना यही जिल्लामा निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आर्थिक विकास र समृद्धि सिङ्गो मुलुकको नै एजेन्डा भइसकेको छ । समृद्ध नेपाल सुखी नेपालीको अभियानमा स्थानीय सरकार, निजी क्षेत्र र नागरिक समाजले यसलाई कसरी बुझेका छन्, आफ्नो तर्फबाट के–कस्ता प्रयास गर्दै छन् भनेर गोरखापत्रले यसपटक बाँकेको कोहलपुरमा संवाद गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी वली र जिल्ला बार एसोसिएसन बाँकेका अध्यक्ष मोहम्मद अयुव सिद्दिकीसँगको संवादको सम्पादित अंश : 

यस क्षेत्रको विकास र समृद्धिका निम्ति के सोच्नुभएको छ । विकासमा कसरी अघि बढ्न सकिन्छ ?

रावत : २०७२ असोज ३ गते नयाँ संविधान आइसकेपछि स्थानीय सरकारमा ठूलो जिम्मेवारी सुम्पिएको छ । विकास जादुको छडी होइन । छु मन्तर भनेर केही भइहाल्ने त होइन । त्यसमा ऐन नियमावली, निर्देशिका, कार्यविधि बनाउनुप¥यो । सुरुमा कर्मचारी अभाव भयो । समायोजन गर्दा भर्खर पदपूर्ति हुने अवस्था छ । अहिले पनि प्राविधिक कर्मचारीको अभाव छ । हामीले कोहलपुरलाई शैक्षिक हब बनाउन सोचेका छौँ, हरियाली नगर र पर्यटकीय नगरी बनाउन सोचेका छौँ । हरेक योजना समृद्धिका लागि जोडिएका छन् । आधुनिक कृषि प्रणालीमा बढावा दिन उपकरण, बीउविजन वितरण गरेका छौँ । पश्चिमका तीन प्रदेशको केन्द्र कोहलपुर नगरपालिका भएकाले यहाँबाट प्रवेश गर्दा पनि केही देखियोस्, केही बुझियोस्, केही महसुस हुनु सकोस् भनेर लागिपरेका छौँ । पर्यटकीय नगरी बनाउन लागिपरेका छौँ । अहिलेसम्म अल्झेको थियो, विकासले अब केही गति लिनेछ ।

वली : हामीले आर्थिक मुद्दा उठाउँदै आएका छौँ । हाम्रो संस्था दबाबमूलक संस्था हो । सरकारलाई सुझाव र दबाब दिन्छौँ । बाँकेको विकासका लागि निरन्तर लागिपरेका छौँ । नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिय बनाउनुपर्छ । दिल्ली–नेपालगन्ज, नेपालगन्ज–बैङ्ग्लोर, नेपालगन्ज–पोखरा किन उडान गर्न नसक्ने ? भारतीय पर्यटक यहाँ बसेर पोखरा किन जान नसक्ने ? यसमा राजनीतिक दलहरू पनि लागिरहेका छन् । सरकारले पनि चासो दिएको छ । अहिले बाँकेमा थुप्रै काम भएका छन् । बाटोघाटो, शैक्षिक अवस्था हेर्नुस् । हिजोभन्दा राम्रो भए पनि अझ धेरै हुन बाँकी छ । हिजो पनि शैक्षिक हब हो यो । हिजोभन्दा अहिले उच्च शिक्षा पढ्न आउने विद्यार्थीको सङ्ख्या बिस्तारै कम हुन थालेको छ । यसमा सङ्घीयतामात्रै कारण नभएर, शैक्षिक स्तर उठ्न नसकेको पनि हो कि भन्ने छ । स्वास्थ्यको कुरा गर्ने हो भने धेरैको रोजाइमा अहिले पनि भेरी अस्पताल परिरहेको छ । भेरी अस्पताल साबिक मध्य र सुदूरपश्चिमको ‘रिफर’ अस्पताल हो । यसलाई ब्रान्ड किन बनाउन नसक्ने ? बिरामीलाई थप स्तरीय उपचार दिनेतर्फ लाग्ने हो कि ? धेरैले भन्छन्– बाँकेको सम्भावना समाप्त भइसकेको छ तर त्यो होइन, यसको सम्भावना धेरै छ । नेपालगन्ज जमुनाह–हिल्सा सडकको सर्वे भइसकेको छ, छिटोभन्दा छिटो निर्माण गर्ने हो भने त्रिदेशीय करिडोर बनाउन सकिन्छ । भारतबाट यहाँ बाँकेमा बसेर हिल्सा पुग्न सकिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलको कुरा छ, यहाँबाट मानसरोवर जाने यात्रुको सङ्ख्या जसरी बढेको छ, यहीअनुरूप पाँचतारे होटलको सङ्ख्या र लगानी बढेको छ, यो सबै अन्तर्राष्ट्रिय पर्यटन कसरी बढाउन सकिन्छ भनेर नै हो । पर्यटकलाई कसरी राम्रो सुविधा दिन सकिन्छ भनेर यहाँ पाँचतारे होटल थपिएका हुन् । नाम चलेका छड कम्पनीले यहाँबाट उत्पादन सुरु गरेका छन् । जनशक्ति यहीँको प्रयोग भएको छ । सहज रूपमा प्राप्त गर्न सकिएको छ । यी सबै कुराले बाँकेमा भएका राम्रा पनि छन् गर्नुपर्ने पनि थुप्रै छन् । प्रदेश राजधानीलगायतका कारण व्यापार कम भएको महसुस भएको छ । सीमापार व्यापार व्यवसायले स्वदेशी व्यापार व्यवसाय चौपट भएको अवस्था पनि छ । औद्योगिक क्षेत्र नौवस्तामा बन्दै छ, त्यसलाई छिटो सम्पन्न
गर्नेतर्फ लाग्नुपर्छ ।

विक : खजुरा गाउँपालिकाको चिनारी बाँकेका अन्य स्थानीय तहभन्दा फरक पहिचान छ । आन्तरिक आम्दानी हुने स्रोत छैनन् । जग्गा, जमिन र बसोवास छ । बसोवास मिश्रित छ । शिक्षा, स्वास्थ्य, रोजगारीमा योजनाबद्ध हिसाबले शैक्षिक हब बनाउने परिकल्पनाका साथ अघि बढेका छौँ । उर्वरा भूमिलाई उत्पादनसँग जोड्न खोजेका छौँ । स्वास्थ्यमा पनि एकदम सम्भावना बोकेको छ । रणनीतिक र गुरुयोजना पनि बनाइसकेका छौँ । बाँकेमा रहेका दुईवटा नमुना माध्यमिक विद्यालय खजुरा गाउँपालिकामा रहेका छन् । तिनमा एउटामा इन्जिनियरिङ र एउटामा कृषि विषयमा पढाइ हुँदै छ । प्राकृतिक स्रोत व्यवस्थापन कलेज पनि सञ्चालनमा आइसकेको छ । शिक्षामा धेरै राम्रो फड्को मारिरहेको छ । प्रदेश सरकारले विश्वविद्यालय बनाउने अवधारणाअनुसार हामीले एक सय बिघा जग्गा दिने निर्णय गरेपछि जिल्ला समन्वय समितिले पनि निर्णय गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र १५ शøयाको अस्पतालका रूपमा स्तरोन्नति हुन लागिरहेको छ भने नेपाल क्यान्सर अस्पताल जो समुदायले निर्माण गर्नुभएको हो, त्यो पनि सञ्चालन हुँदै छ । जनतालाई उत्पादनसँग जोड्दै हामीसँग भएको भूमिबाट उत्पादन गरी कसरी आम्दानी गराउने भनेर चीनसँग कार्यक्रम नै सम्झौता भइसकेको छ । सबै भूमिमा बाह्रै महिना खेती गराउन प्राविधिकको साथ लिएर अघि बढेका छौँ । दूध उत्पादनको क्षेत्र छ । कृषि र पशुपालन जोड्दै जनशक्तिलाई गाउँमै खपत गर्न खोजिरहेका छौँ । सडक सञ्जालमा गत वर्ष १८ किमि सडक कालोपत्रे भएको छ । यो वर्ष २१ किमि सडक कालोपत्रे हुँदै छ ।

सिद्दिकी : बाँकेको विकास कसरी हुन सकेन भने बाँके जिल्ला पञ्चायतदेखि नै वक्रदृष्टिमा परेको छ । विकास केन्द्र खडा गरियो । सबै केन्द्र पहाडमा राखियो । विकास केन्द्रको नाममा भएका क्षेत्रीय कार्यालय सुर्खेत सारियो । त्यसले यहाँ धेरै नकारात्मक प्रभाव प¥यो । गणतन्त्र आएपछि केही अपेक्षा गरिएको थियो । सङ्घीयताका लागि नेपालगन्ज क्षेत्रका जनताले आन्दोलन गरे । गोली खाए, ज्यान गुमाए, घर, पसल जले । सङ्घीयतापछि के अपेक्षा गरेका थियौँ भने बाँके जिल्लाले प्रदेशको राजधानी पाउँछ । सङ्घीयताका लागि उसको लगानी थियो । संविधान बनाउनुभन्दा अगाडि जसरी ५ नम्बर प्रदेशको नक्सा कोरियो, बाँकेका सचेत नागरिकले राजधानी यहाँ नहुने भयो भन्ने बुझिसकेका थिए । विकासको कुरा गर्ने हो भने पञ्चायतकालमा ठुल्ठूला सलाइ फ्याक्ट्री, स्टिल फ्याक्ट्री थिए, अहिले अस्तित्वमा छैनन् । कत्था उद्योगको अस्तित्व छैन, ठूला राइस मिल थिए, अहिले अस्तित्वमा छैनन्, खाद्य उद्योगको अस्तित्व छैन । अहिलेको विकास राज्यले भन्दा जनताले स्वस्फूर्त गरेको विकास हो । आजभन्दा ३५ वर्षपहिले र अहिलेको कोहलपुरमा आकाश जमिनको फरक छ । कोहलपुर राजमार्गसँग जोडिएको छ । अर्को मेडिकल कलेज । यहाँका जनताको सकारात्मक उत्साहले गर्दा यहाँको विकास भयो । सरकारी योगदान त्यति छैन । राज्यबाट ठूलो योजना देखिएको छैन । खजुराको कुरा गर्ने हो भने २०३९ सालमा एयरपोर्ट मनिकापुरमा नसारेको भए खजुराको छुट्टै अस्तित्व रहने थियो । त्यसपछि सरकारको योजना देखिएन । कुनै बेला खजुरा दोस्रो सहर थियो । सानै हुँदा खजुरामा व्यवस्थित सहर बसाउने भन्ने हल्ला पनि सुनिएको थियो । यो क्षेत्रको विकासका लागि यहाँका प्रमुख राजनीतिक दलले कुममा कुम मिलाउनुपर्छ । आफ्नो भेगको मात्रै विकास गरौँ भन्ने सोच त्याग्नुपर्छ । सरकारमाथि दबाब बढाउनुपर्छ । यो क्षेत्रको विकासका लागि अब राजधानी नपाउने त करिब–करिब पक्का छ तर विकासका लागि केवल राजधानीमात्रै पर्याप्त होइन । राजधानीको सट्टा औद्योगिक हब, पर्यटकीय क्षेत्र, व्यावसायिक केन्द्रका रूपमा, शैक्षिक, स्वास्थ्यको हबका रूपमा विकसित गर्न सकियो भने यसले पहिचान पाउँछ । भारतको राजधानी नयाँ दिल्लीभन्दा बढी विकसित जीडीपी मुम्बईको छ । भारतमा आईटी (सूचना प्रविधि) का लागि पहिलो रोजाइ बैङ्ग्लोर र हैदरावादको छ । राजधानीको आफ्नै महŒव छ । त्यो पोलिसी मेकिङ (नीति निर्माण) क्षेत्र हो तर आमनागरिकको काम त्यहाँ त्यति हुँदैन । राजधानीभन्दा विकसित अरू सहर पनि छन् । केन्द्रीय राजनीतिक दलहरूको बाँकेप्रति सकारात्मक सोच आउनुपर्दछ । पिछडिएको हो, ठगिएको हो, केही गर्नुपर्छ भन्ने जनताको सोच र सङ्घर्ष एकल वा सामूहिक जे–जस्तो भए पनि सकारात्मक परिणाम दिन सक्दैन । नेपालगन्ज ठगिएको हो । सङ्घीयताका लागि नेपालगन्जले आन्दोलन ग¥यो, गोली खायो, जनताले हडताल देखे, घरपरिवार गुमाए, बुटवलले आन्दोलन गरेन, त्याग गरेन तर राजधानी पायो ।

कोहलपुरलाई भारत र चीन जोड्ने गरी ट्राजिन्ट हब कसरी बनाउन सकिन्छ ?

रावत : कोहलपुरलाई चीनसँग जोड्ने करिडोरको ‘ट्रान्जिट पोइन्ट’का रूपमा लिइएको छ । बाँके जिल्ला भारतको युपीसँग जोडिएको छ । थुप्रै पर्यटकका लागि मानसरोवर जाने एकदमै छोटो बाटो भएकाले धेरैभन्दा धेरै पर्यटक यहाँबाट मानसरोवर जाने अवस्था छ, अहिले पनि गइरहेका छन् । सरकारले हिल्सा जोड्ने सडकको योजना ल्याएको छ । यसले बाँकेसँगै कर्णालीको विकासमा पनि फड्को मार्ने देखिएको छ । पक्कै पनि सरकारले योजनाअनुसार अघि बढेमा सफल हुन्छ । भारतमा टेकेर अन्य देशका पनि चीनको मानसरोवर जान यही बाटो आउनेछन् । मानसरोवरको प्रतीक पार्क बनाउने नेपालगन्जले भन्यो, कोहलपुरले भन्यो अन्त्यमा के कसको दबाबले हो, वैजनाथ पुगेको छ । त्यो अलि किनारमा, छेउमा भयो । त्यहाँ पर्यटक पुग्ने सम्भावना कम हुन्छ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्य कसरी गर्न सकिन्छ ?

रावत : नगरपालिकामा निजी क्षेत्रको प्रवेश छ । निजी क्षेत्रका व्यक्तित्वहरू कृषि क्षेत्रमा सहकार्य गरौँ, लगानी गरौँ, कृषकलाई आर्थिक हिसाबले माथि उठाऔँ भन्नुहुन्छ । कसरी गर्ने भन्नेमा हामी २५ गर्छौं तपार्इंहरू ७५ गर्नुहोस् भन्नुहुन्छ । यो उहाँसँग भएका जनशक्ति पाल्नेमात्र हो कि भन्ने पनि छ । निजी क्षेत्रको प्रवेश र सहकार्य गर्दा राम्रो हुन्छ, उहाँसँग विज्ञ जनशक्ति हुन्छ । यसबाट यहाँको विकासमा राम्रो हुन्छ । विकासले फड्को मार्छ ।

वली : सरकारले निजीको सहयोग भएन भन्ने अनि निजीको सरकारले पेल्यो भन्ने धारणा छ । कताकता सही पनि हो । प्रदेशमात्रै भन्ने तर समृद्ध नबनाउने वा यसैलाई राम्रो बनाउन लाग्ने भन्ने कुरा विचारणीय हो । ५ नम्बर प्रदेशमा अहिले १२ जिल्ला छन्, सबैको आशा राजधानी बनिदिए होला भन्ने होला तर हुने त एउटामै हो । नेपालगन्ज आफैँमा पूर्वाधार सम्पन्न भएकाले यसको अलि बढी दाबी हो । तर, राजधानी भएन भने बर्बाद भइहाल्छ, खत्तम भइहाल्छ भन्ने पनि होइन । हामी व्यवसायी खाली कर तिर्नेमात्रै त होइनौँ । राजधानीको विषय राजनीतिक विषय हो । बाँके, बर्दिया कर्णालीमा जाने कि भन्ने पनि छ । भोलि जनताको आन्दोलनबाट त्यो हुन पनि सक्छ । अहिलेको अवस्थामा समृद्ध बाँकेका लागि बाँके राष्ट्रिय निकुञ्ज २०६८ घोषणापछि बाघ संरक्षणमा राम्रो भएको छ, पर्यटक भित्रिएका छन् । ब्रान्ड बनाउन सकिन्छ । ट्रान्जिट पोइन्ट भनेको खाली यहाँ बस्नेमात्र त होइन नि । मानसरोवरको प्रतीक जहाँ बने पनि पर्यटनका लागि राम्रो हुन्छ । बागेश्वरी भारतमा पनि प्रसिद्ध छ । यसबाट पनि पर्यटनमा जोडिन सक्छ । महानगरपालिकाको अभियानले बाँकेलाई समृद्धतर्फ लैजान सक्छ । तर, निजी क्षेत्र सशङ्कित छ । गाविसबाट जति माथि पुगेको छ, व्यापार बढेको छैन, कर बढेको छ, व्यवसाय घटिरहेको छ । कर उठाउनेमात्रै राज्यको पाटो होइन होला नि । व्यापार व्यवसाय बढाउन पनि सोच्ने हो कि ? व्यवसायी पनि राज्यप्रति वफादार हुनुपर्छ । कर तिर्नुपर्छ भन्ने भावना आउनुप¥यो । अहिले कर कार्यालयको गाडी देखेपछि भाग्ने अवस्था छ । टेबुलमुनिबाट पैसा बढी तिर्नुपर्ने अवस्था अहिले पनि छ । व्यवसायीमा पनि चेतनाको अभाव देखिन्छ ।

विक : नेपालगन्ज पुरानो सहर हो । साबिकका २४ जिल्लाको केन्द्र हो । ऐतिहासिक सहरलाई कायमै राख्न अहिलेका ऐतिहासिक धरोहर कायम राख्दै अघि बढ्नुपर्छ । बेरोजगारीको जगजगी छ । लागूऔषध सेवन र कारोबारजस्तो जघन्य अपराधमा युवा पुस्ता फसेको छ । यसलाई व्यवस्थापन गर्न उत्पादनमा जोड्नुपर्छ । अहिलेको व्यापार अरूसँग परनिर्भर रहेको छ । हामी खजुरा गाउँपालिकामा निजी क्षेत्रको आवश्यकताबारे अध्ययन गरेर सहकार्यका लागि आह्वान गर्ने चरणमा छौँ । निजी क्षेत्र र सरकार अलग रहन सक्दैन । निजी क्षेत्रको सहकार्यमा गरिने क्षेत्रको पहिचान गरेका छौँ । महानगरपालिका भए के हुन्छ, अध्ययन गर्नुपर्दछ । महानगरपालिका बनाइरहँदा खजुराको मधेसी र मुस्लिम बाहुल्य वडामा स्थानीय तहको सजिलै आँखा पर्न सक्छ कि सक्दैन ? स्रोत–साधन हुनुपर्दछ, समतामूलक विकास हुनुपर्दछ भन्ने लाग्छ । अहिले पनि स्थानीय तहमा जनशक्तिको अभाव छ, विकास स्थानीय तहले गर्ने हो । निजी र सरकारबीच समन्वय हुनुपर्दछ ।

सिद्दिकी : कर्णाली प्रदेशमा गएर समस्या समाधान हुन्न, झन् पछाडि पर्छौं । ५ नम्बरजस्तो उन्नत प्रदेश छोड्ने होइन । निजी क्षेत्रको सहकार्यको कुरा गर्दा, यहाँ सबै निजी क्षेत्रको देन हो, राज्यको केही योगदान छैन । कोहलपुरकै कुरा गर्दा मेडिकल कलेज निजी क्षेत्रबाट खुल्यो । नौवस्ता औद्योगिक क्षेत्रको कुरा गर्दा एक हजार बिघा भनियो, जग्गा कम छ, हल्लैहल्ला हुने हो कि भन्ने पनि छ । बाँकेमा क्रियाशील राजनीतिक दल र नेताहरू आग्रह पूर्वाग्रह त्यागेर कुममा कुम मिलाएर लाग्नुपर्छ । आफ्नो क्षेत्रका लागि मिल्नुहोस् । सङ्घीयता सुदूरपश्चिममा देखिएको एकताजस्तै हुनुपर्दछ । नमिलेसम्म राज्यबाट सियोसमेत पाउनेवाला छैनौँ । एयरपोर्ट क्षेत्रीयस्तरमा विकास नभएसम्म भारतसँग कनेक्टिभिटी हुन्न, जमुनाह–हिल्सा सडक छिटो सकियोस् भनेर लाग्नुपर्छ । नेपालगन्ज मेडिकल कलेज छ, अब सरकारी मेडिकल कलेज चाहिन्छ । कम्तीमा एउटा प्राविधिक विश्वविद्यालय त देऊ । नभए सामान्य विश्वविद्यालय चाहिन्छ । रेल कनेक्टिभिटीका लागि विगतमा सम्झौता भएको थियो । कोहलपुरसम्म विस्तार गर्न चाहेको छ । यसरी यो क्षेत्रको विकासमा सबै लाग्नुपर्छ । एकीकृत भन्सार चौकीका लागि मिलेर पहल गर्नुपर्छ ।

महानगरपालिका बनाउने सन्दर्भमा के छ मत ?

रावत : प्रदेशको राजधानी र महानगरपालिकाका सन्दर्भमा जनताको मत कस्तो छ भनेर बुझ्नुपर्छ । बुटवलबाट दाङसम्म राजधानी प्रवेश गरेन भने बाँके, बर्दिया कर्णालीमा जान तयार रहनुपर्छ भन्ने जनताको मत छ । मधेसी, मुस्लिम, थारूलाई यहाँभन्दा कर्णालीमा अवसर बढी हुन्छ । नेपालगन्जआसपासका स्थानीय तह जोडेर महानगरपालिका बनाउनुपर्छ । कोहलपुरमा वैजनाथ र राप्ती–सोनारी जोडेर उपमहानगरपालिका बनाउनुपर्छ भन्ने जनताको अभिमत छ ।

प्रस्तुति : गोविन्द शर्मा / सिराज खान
तस्बिर : सागर बस्नेत

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?