logo
२०७७ श्रावण २८ बुधवार

काममा वर्गीय पक्षधरता देखिनुपर्छ

अन्तरवार्ता |


2020-02-03-8088


सत्तासीन नेपाल कम्युनिस्ट पार्टीको निर्माणपछि केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । यही सिलसिलमा कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा हुनुपर्ने चरित्रको पहिलो पाठजस्तो आचारसंहिता सार्वजनिक गरिएको छ तर पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट हुन सकेको छैन । पार्टीको सरकार चलेको अढाई वर्ष भयो तर आधारभूत सिद्धान्तबमोजिम सरकारका कार्य आमजनतामा महसुस हुन नसकेको भन्ने टिप्पणी छन् । खासमा नेपाल कम्युनिस्ट पार्टी र यसको सरकारका कार्यलाई कसरी बुझ्ने ? यही विषयमा केन्द्रित भएर आजको गोरखापत्र संवादमा नेकपाको सल्लाहकार परिषद्का अध्यक्ष, स्थायी कमिटी सदस्य केशव बडाल र राजनीतिक दर्शनशास्त्रका सहप्राध्यापक डा. खगेन्द्र प्रसाईंलाई आमन्त्रण गरेका छौँ । प्रस्तुत छ– संवादको सम्पादित अंश :

कम्युनिस्ट भनेका के हुन्, कम्युनिस्ट पार्टीको हिजो र आजको दर्शन, व्यवहारमा के फरक छ ?

बडाल : सन् १८४८ मा घोषणापत्र प्रकाशित गर्नुभएका कार्ल माक्र्सको नेतृत्वमा माक्र्सवादी दर्शनको विकास र निर्माण हुँदै अगाडि बढ्दै गएको हो । उहाँ अहिले बाँच्नुभएको भए उहाँले लेख्नुभएको कुरा जस्ताको त्यस्तै आफैँले मान्नुहुँदैन थियो होला । किनकि उत्पादन प्रणाली र समाज विकासको स्वरूपसँगसँगै अरू तमाम विषय पनि निर्धारित हुने गर्दछन् । त्यो बेलामा अगाडि सारिएका विचारहरूमा पनि कुनै प्रकारको सामाजिक र साँस्कृतिको शोषण, उत्पीडनबाट समाजलाई मुक्त गर्ने ध्येय बोकेर हिँडेको र सो ध्येयलाई अगाडि बढाउनका लागि आफू सक्दो प्रयत्न गर्ने व्यक्तिहरूको समर्थनबाट नै कम्युनिस्ट पार्टी निर्माण हुन्छ ।
कार्ल माक्र्सले जतिबेला पुँजी लेख्दै हुनुहुन्थ्यो, त्यतिबेला बेलायतको म्यानचेस्टर, ग्लास्को र लन्डन सहरमा मात्र करिब चालीस लाख कपडा मजदुर काम गर्थे । त्यसमध्ये करिब तीस प्रतिशत दस वर्षमुनिका बालबालिका हुन्थे । उनीहरूलाई जिन्सीमा ज्याला दिइन्थ्यो । मालिकले जे दिन्थ्यो त्यसमै चित बुझाउनुपर्ने अवस्था थियो । त्यो परिस्थिति भएको ठाउँमा सन् १८१६ मा हाउस अफ कमनले बेलायत शाक्तिशाली भए पनि यहाँका आधाभन्दा बढी जनसङ्ख्याको अवस्था किन दयनीय छ भन्ने विषयमा अध्ययन गर्ने जिम्मेवारी रवर्ट ओवेनलाई दिइयो ।
रवर्ट ओवेनले चार वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदनमा न्यायपूर्ण समाज निर्माणका लागि दस वर्षमुनिकालाई कारखानामा काम लगाउन नपाइने, हरेक कलकारखानाअगाडि विद्यालयको स्थापना गरी मजदुरका छोराछोरीलाई अध्ययन गराउनुपर्ने, आठ घण्टाभन्दा बढी काममा लगाउन नपाइने, ज्याला नगदमा दिनुपर्ने सुझाव दिइएको थियो ।
हामी अतिरिक्त मूल्यको सिद्धान्तको चर्चा गरिरहेको अहिलेको अवस्थामा विश्वभरि नै कुल उत्पादनको करिब ५० प्रतिशत काम रोबोटले गर्दछ । मजदुर र मालिकको सम्बन्ध अहिले हिजोको भन्दा फरक छ । मुलुकमा बहुदल आएको समयमा पनि एक मुठी सिस्नुमा खोले खाने अवस्था थियो, तराईमा दिनभरि काम गरेबापत ‘दुई शेर’ ज्याला पाउने अवस्था थियो तर अहिले मुलुकभरि नै पाँच सय रुपियाँभन्दा कम ज्याला पाउने अवस्था छैन । अहिले हप्तामा कम्तीमा एकपटक मासु नखाने कमै परिवार छन् । अहिले गाउँगाउँमा हाम्रा दिदीबहिनीहरूले घाँस काट्दै मोबाइल चलाउने अवस्था छ ।
समाज विकासको परिवर्तनसँगै मान्छे अनुकूल हुनुपर्छ । हिजो चप्पल लगाएर हिँड्ने मान्छेले जुत्ता लगाए भनेर विभिन्न पत्रपत्रिकामा लेखेको पाइन्छ । म पढ्ने समयमा ३० प्रतिशतभन्दा बढी मानिसले चप्पल लगाउने पनि अवस्था थिएन । २५ प्रतिशत घरमा शौचालय थिएन, भए पनि बारीमा हुन्थ्यो । ज्याकेट लगाएको मानिस भेटिँदैनथ्यो, अहिले त एक भिखारी पनि ज्याकेट लगाएर बसेको हुन्छ ।
यसरी, हिजो र आजको समयमा धेरै नै परिवर्तन आएको छ । मानिसको जीवनस्तरमा परिवर्तन भएको छ । अहिलेको जीवनअनुसार ‘एडप्प’ हुुनुपर्छ । जीवनस्तर उठ्नेबित्तिकै ठग्यो भन्ने बुझाइचाहिँ गलत हो । जीवनस्तर फेरिएकोमा वैराग मान्नेखालको प्रवृत्तिलाई अलिकति कम गर्नुपर्छ । ठगेर, अपराध गर्दा पनि चुप लागेर बस्नु पनि गलत हो । लुटेर, ठगेर, भ्रष्टाचार गरेर, बदमासी गरेर, कसैलाई कमजोर बनाएर लाभ लिनुचाहिँ दण्डनीय हुन्छ । कम्युनिस्ट पार्टीका नेतामात्र होइन, जुनसुकै तहमा भए पनि गलत गर्ने दण्डित हुनुपर्छ ।

कम्युनिस्टबारे हिजो र आजको बुझाइमा के फरक छ ?

डा. प्रसाईं : हिजोको युरोपको वर्गको अवस्थामा कम्युनिस्ट पार्टीको सिद्धान्तको उत्पत्ति भयो, आधारभूत कुरा त्यही हो । आजका मितिमा वर्गसङ्घर्षको अस्तित्व छैन भनेर मान्ने हो भने माक्र्स वा माक्र्सवादको औचित्य सिद्धियो । आज पनि संसारमा वर्गसङ्घर्ष छ । संसारका देशदेखि अन्तर्राष्ट्रिय एजेन्सीहरू, पार्टीहरू वर्गसङ्घर्षकै वरिपरि छन् भनेर मान्ने हो भने आज कम्युनिस्ट कस्तो हुनुपर्छ भने प्रश्नको उत्तरमा आज कस्ता वर्गहरू छन्, ती वर्गका सङ्घर्षहरू, ‘अन्तरविरोध’ के हुन्, अन्तर्राष्ट्रियस्तरमा वर्गसङ्घर्ष कसरी अभिव्यक्त हुन्छ, वर्गसङ्घर्षमा कसले जितिरहेका छन् ? भन्ने कुरा एकदम महŒवपूर्ण हुन्छ । नेपालमा कम्युनिस्ट क्रान्ति वा परिवर्तन गर्न चाहने वर्ग कुन हो ? यदि किसान वा मजदुर त्यस्तो वर्ग हो भने त्यसको बहुमत छ कि
छैन ? चरम वर्गसङ्घर्ष छ कि सानातिना सुधारमै तिनीहरू रमाउँछन् ?
एउटा उदाहरणका रूपमा लिने हो भने नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै ठूलो विवाद आउने गर्दछ र कम्युनिस्ट र वाम आन्दोलनले त्यसमा नराम्रोसँग सघाउँछ । पुँजीवादी मुलुकहरूमै पनि शिक्षा र स्वास्थ्य राजकीय र सामुदायिक क्षेत्रमै हुन्छ । पुँजीवादकै नेता अमेरिकामा १२ कक्षासम्मको शिक्षाका लागि सरकारले नै जिम्मेवारी लिन्छ । युरोपमा त यसभन्दा बढी नै छ । छिमेकी भारतको केरलामै स्वास्थ्य र शिक्षाको अवस्था युरोपबराबरको छ । दुईतिहाइको छेउछाउ कम्युनिस्ट भएका नेपालमा हाम्रो अवस्था के छ ? शिक्षा र स्वास्थ्यमा नै एउटा वर्गसङ्घर्षको अभिव्यक्ति त होला नि कहीँ न कहीँ ।
आजको कम्युनिस्टले आधारभूत रूपले वर्गसङ्घर्ष अब अस्तित्वमा छैन भनेर कि त गोलमटोल गरेर जान्छ । यदि वर्गसङ्घर्ष सत्य हो भने त्यो कहाँ छ, हाम्रा सन्धि, कानुन, पार्टीहरू र दर्शनमा कसरी अभिव्यक्त हुन्छ भने कुरा समात्नुपर्छ तर अहिले हामीले त्यो समात्न सकेका छैनौँ ।

माक्र्सले वर्गसङ्घर्ष अथवा सर्वहारा वर्गको अधिनायकत्व पनि अस्थायीमात्र हो भन्नुभएको छ नि ?

डा. प्रसाईं : यदि वर्ग छैनन् भने वर्गहरू एकदम घमासान वर्गसङ्घर्षमा लाग्ने परिस्थिति छैन भने नेपालको सन्दर्भमा माक्र्सवादले विश्लेषणको कुनै विधि दिँदैन, । पुँजीवादकै वर्गसङ्घर्षको विश्लेषण हो– कार्ल माक्र्सको । समाजवाद कस्तो हुन्छ भन्नेबारेमा माक्र्सले थोरै व्याख्या गरेका छन् भने पुँजीको व्यवख्या ‘भोलुमका भोलुम’ गरेका छन् ।
माक्र्सका आधारभूत कुरा सर्वकालीन या शाश्वत छन् भन्ने कुरा म मान्दिनँ । यदि वर्गसङ्घर्षको वरिपरिको व्याख्या माक्र्सवादको चुरो हो भने आज तपाईं माक्र्सवादी हुने या माक्र्सवादी कम्युनिस्ट हुने भने कुरा वर्गसङ्घर्षकै वरिपरि घुमाउनुपर्छ । होइन भने वर्गसङ्घर्षको स्थिति अब नेपालमा रहेन, त्यसैले माक्र्सवादको विश्लेषणले हामीलाई अब काम दिँदैन भन्ने निष्कर्षमा पुग्नुप¥यो । यदि वर्गसङ्घर्षको स्थिति छ भन्ने मान्नुहुन्छ भने यो सार्थक छ भनेर मान्नुप¥यो । आजको कम्युनिस्ट वा वाम आन्दोलन कस्तो हुन्छ भने कुराको तय आजको वर्गसङ्घर्ष कस्तो छ भने कुराले तय गर्दछ । यो कमजोर हुनेबित्तिकै पार्टी र सिङ्गो सङ्गठनमै अन्योल, निराशा आउँछ ।

तपाईंको भनाइअनुसार नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक दस्तावेज अपडेटेड (अद्यावधिक) छैन ?

डा. प्रसाईं : हो, छैन तर केही पनि होइन भने होइन । अपडेटेड नभए पनि यसका उपलब्धि र अर्थ छन् । जुन क्रान्तिकारी गतिका साथ अपडेटेड हुनुपर्छ त्योचाहिँ छैन । फेरि सुधारवादी गतिका साथ अपडेटेड गर्ने हो भने त्यो चाहिँ काम लाग्दैन, तपाईं क्रान्तिकारी पार्टी बन्न सक्नुहुन्न । परिवर्तनको नाममा आफ्नो चुरो कुरो बिर्सियो भने त्यो कस्तो परिवर्तन हुन्छ ? परिवर्तन हुनु संसारको शाश्वत नियम हो भने कुरा गर्नुभयो भने त तपाईं भ्रष्टाचारी भएको कुरा पनि ‘जस्टिफाइड’ हुन्छ । त्यसैले कम्युनिस्टको चुरो वर्गसङ्घर्ष समात्नुभएकाले त्यसलाई बुझ्ने, खार्ने कुरामा परिवर्तन हुने हो ।

बडाल : नेपालको कुनै पनि पार्टीले अब वर्ग समाप्त भयो भनेको होइन, त्यस्तो छैन पनि । तर, वर्गसङ्घर्षको स्वरूपमा चाहिँ फेरबदल भएको छ । कार्ल माक्र्सले भनेको ‘ठोस परिस्थितिको ठोस विश्लेषण गर’ र त्योअनुसारको नीति निर्धारण गर भन्नेले के देखाउँछ भने हाम्रो उत्पादन शक्ति, उत्पादन सम्बन्ध, उत्पादन प्रणाली, उत्पादन औजार, उत्पादनको स्वरूप परिवर्तनसँगै हाम्रा सङ्घर्षका स्वरूपहरूमा पनि अपडेटेड हुनुपर्छ, परिवर्तन हुनुपर्छ भन्ने हो । जस्तै, कमैया र हलिया मुक्ति भएको छ, यसको मतलब यो होइन कि अब सबै समस्याको हल भयो । तर, के भयो भने आधारभूत जुन अवस्था थियो त्यस रूपमा चाहिँ सुधार भएको हो ।
यस कुरामा स्पष्ट हुनुपर्छ कि विश्व कम्युनिस्ट आन्दोलनभन्दा नेपालको कम्युनिस्ट आन्दोलन जन्मदेखि नै फरक ढङ्गले अगाडि बढेको छ । २०१० सालमा काठमाडौँको महानगरको निर्वाचनमा मानिसले भाग लिएका छन्, त्यो कुनै रूस पक्ष, चीन पक्ष वा अरू कुनै पक्ष भएर भाग लिएका होइनन् । हाम्रो मौलिक पक्ष भएर भाग लिइएको हो ।
समाजमा वर्ग कस्तो छ, त्यो वर्गले समाज मुक्तिका एजेन्डाहरू बोकेको छ कि छैन भन्ने कुराहरू नै वर्गसङ्घर्षको मूल मर्म हो । चिटिक्क परेर टाई लगाएर हिँड्यौँ, त्यही भएर वर्गसङ्घर्ष छोड्याँै भन्ने कुराहरू एकदम सतही विश्लेषण हो । संयुक्त राष्ट्रसङ्घले अगाडि सारेका दिगो विकास लक्ष्यका १७ मध्ये १३ वटा त हाम्रो संविधानमै लेखिएको छ ।
हामीले मूल नीति नै छोड्यौँ भने विश्लेषण अत्यन्त सतही आलोचना हो । हो, व्यवहारमा हाम्रा त्रुटिपूर्ण छन्, कसका छन्, कति छन् त्यो कुरा मुख्य कुरा हो । कम्युनिस्ट पार्टीका ७० मानिस ठीक बाटोमा छन्, ठीक ट्र्याकमा छन् । केही आलोचना गर्ने तहका छन्, करिब पाँच प्रतिशत गम्भीर भड्काउका रूपमा छन् । आँटका साथ गलत कुरालाई निस्तेज गर्दै असल कुरालाई बलियो बनाउँदै बढ्नुपर्छ । निराशाको खेती अत्यन्त बढी भएको छ, सर्वनाश भयो, अब बिग्रियो, सकियो भन्ने हल्ला चलाइएको छ । अमेरिकामा हप्तामा तीन ठाउँमा बम विस्फोट हुन्छ र मानिस मारिन्छ, विद्यालयमा बालबालिका मारिएका छन् । सशस्त्र सङ्घर्षबाट क्रान्ति सम्पन्न भएको चीनमा सी चिनफिङ आएदेखि पाँच लाख मानिस भ्रष्टाचार मुद्दामा दण्डित भएका छन् । महाभारतकालदेखि आजसम्म संसारको जुनसुकै नाम गरेका राजनीतिक व्यवस्थामा पनि असल पनि छन्, ठीकठीकै पनि छन्, अत्यन्त खराब पनि छन्, समाज यस्तै हुन्छन् ।
देशका तेस्रो, चौथो तहका मानिस जेलमा छन् । दण्ड गर्ने प्रक्रिया पनि अगाडि बढेका छन् । दण्डित गर्नुपर्छ भने कुरा पनि अगाडि बढेको छ । दण्डित गर्ने काम पनि भइरहेका छन् । असल उद्देश्यका निम्ति खराबलाई टिक्न दिनुहुन्न भन्ने कुरा अगाडि बढिरहेका छन् । हामी ठीक ठाउँमा छौँ भन्ने कुराको यो प्रमाण हो । निराशाको प्रचार यथार्थभन्दा सय गुणा बढी भएको छ । आशाको किरण देखाउने नगन्यमात्र छ ।

डा. प्रसाईं : अहिले चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना औपचारिक दस्तावेजमा वर्गसङ्घर्षलाई प्रधान अन्तरविरोध मान्दैन । समाजको पछौटेपन र जनताको अगाडि जाने चाहनालाई अगाडि ल्याउन चाहन्छ र वर्गसङ्घर्षको आधारभूत प्रश्नलाई उसले ‘स्कीप’ गर्दछ । तर, नेपाल कम्युनिस्ट पार्टीको दस्तावेजहरूमा वर्गसङ्घर्षको स्थिति स्पष्ट छ । वर्गसङ्घर्ष प्रधान अन्तरविरोध छ भन्नेबित्तिकै कम्युनिस्ट पार्टी कोसँग उभिनुपर्छ भन्ने उनीहरूलाई सङ्कट पर्न सक्छ । कम्युनिस्ट पार्टी त मजदुरसँग खडा हुनुप¥यो । अहिले चीनले पुँजीवादको विकासमा पुँजीपतिलाई ‘प्रिभिलेज क्लास’ मा राखेको छ । भारतको भन्दा चीनका पुँजीपतिहरू अहिले ‘प्रिभिलेज’ अवस्थामा छ ।

निराशाको कारण पार्टीले आफ्ना दस्तावेजअनुरूप कार्यक्रम सञ्चालन गर्न नसेकर वा पार्टी नै विचलित भएर हो कि ? के पार्टी सन्तुष्ट छ ?

बडाल : विश्वमा हडतालको अगुवाइ जहिले पनि मध्यमवर्ग नै गरेको छ । माक्र्स, लेनिन र हाम्रै पार्टीका अग्रज नेताहरूको घर हेर्नुभयो भने पनि यो देखिन्छ । मध्यम वर्गले तलदेखि माथिको कुरा बुझेको हुन्छ त्यसैले असन्तुष्ट पनि हुन्छ । तर, कुरा के हो भने कुनै देशलाई कमजोर र समाप्त पारिदिनुप¥यो भने बहुसङ्ख्यक जनतालाई निराश बनाइदिए पुग्छ । यहाँ सुनिन्छ– बरु पञ्चायतमा काम भएको थियो । के बुझ्नुपर्छ भने, हिजो शीतयुद्धकालीन समयमा अनुदान सहयोगमा विभिन्न देशमा विकास भएको थियो, हामीकहाँ पनि आरटीआई भनेर अमेरिकी आर्थिक सहयोग, भारतीय प्राविधिक सहयोग र भूमि नेपालको भनेर सडक बनाउने भनियो । तर जुन समय विश्वको प्रगति भयो, नेपालमा भएन किन ? आज केही भएन भन्नु काठमाडौँ उपत्यकाबाहिर के थियो, के भइरहेको छ भन्ने नदेखेकाले भन्ने कुरा हो । हिजो र आजको गति तुलना गर्नु नै निराशाको खेती गर्नु हो । निराशाको खेती भएको छ, यो देशलाई कमजोर पार्न हो कि अज्ञानतावश हो, त्यो
तपाईंहरू बुझ्नूस् ।
हिजो राजा महेन्द्रले अमेरिकामा पढिरहेका भेषबहादुर थापालाई ल्याए । उनै डा. थापाले भनिरहनुभएको छ– हिजो भारत–चीन युद्धको समयका लागि मात्र भनेर भारतलाई दिइएको जमिन छाड्दै छाडेन, अहिले त नक्सै छापिदियो ! अनि यहाँ प्रचार भएको छ– केपी ओलीले लिम्पियाधुरा भारतलाई दिए भन्ने । तर, यथार्थ त विगतमा ३८ जना प्रधानमन्त्री कसैले नभनेको, पदासीन प्रधानमन्त्रीले लिम्पियाधुरा हाम्रो हो भनेर पहिलोचोटि ओलीले भन्नुभएको होइन र ? केही समयअगाडि कीर्तिनिधि विष्टले प्रधानमन्त्री ओलीसमेत हामीहरूसँग भन्नुभएको थियो, ‘उतिखेरै मैले उत्तरसँग पनि पारवहन सन्धि गर्न अठोट गरेको तर सकिएन, सेना हटाउन राजा डराए । त्यसो भए ‘म चेकपोस्ट हटाउँछु, तपाईंले मलाई प्रधानमन्त्रीबाट हटाइदिनुहोस्, तपाईंलाई सहयोग हुन्छ’ भनेपछि त्यो काम गरियो । अहिले तपाईंले पारवहन सन्धि गर्नुभयो, सबै तपाईंका प्रशंसक बनेका छन् ।’
के यी काम होइनन् ? आफ्नै पानीजहाज चलाउने भन्दा हावामा उडाइयो तर आज चितवनमा चल्यो त ! यो देशमा केही भएन भनेर योग्य मान्छेलाई अमेरिका, युरोपतिर बसाइँ सर्नबाट रोक्ने प्रयास भइरहेको छ तर केही मान्छे मानौँ केपी ओलीलाई समाप्त पारेपछि देश स्वर्ग बनिहाल्छजस्तो प्रचार गरिरहेका छन् । मैले त विचार दृष्टिकोणमा ओली तहको अरू नेता कोही देखेको छैन । राजकीय पदहरूको नियुक्तिमा पनि कुन वर्ग र तहलाई महŒव दिनुभएको छ भन्ने पनि हेरे भयो नि ।
वर्गसङ्घर्ष तत्कालीन परिस्थिति, उत्पादन प्रणाली र जनताको आवश्यकताअनुसार हुन्छ भन्न खोज्नुभएको होला डाक्टर सापले । हो, उदाहरणका लागि दुई नम्बर प्रदेशमा दलितहरूमाथि बहुआयामिक शोषण छ, ती ठाउँमा पुग्ने नयाँ कार्यक्रम आवश्यक छ । तर, त्यहाँ पनि शिर ठाडो पारेर स्वाभिमानको आवाज पहिलोपटक उठाउने त पुष्पलाल र उहाँकै कम्युनिस्ट पार्टी हो नि । अवश्य कम्युनिस्ट पार्टीले आफ्नो दृष्टिकोण दस्तावेजमा लेख्दा कसैको दबाबमा परेर लेख्ने वा मेटाउने होइन, लेखेपछि कार्यान्वयनमा जानुपर्छ । किनभने जनताले त्यही बुझ्छन् ।

डा. प्रसाईं : मेरो भनाइ– यस्ता स–साना सूची बनाएर यो त्यो ग¥यौँ भन्न थाल्नुभयो भने पञ्चायत वा काँग्रेसले पनि आफ्ना सूची देखाउन थाल्नेछन् । मूल कुरा त क्रान्तिकारी कम्युनिस्ट पार्टीको सरकार आएपछि आमजनताले क्रान्तिको अनुभूति कसरी गर्छन् भन्ने हो । जस्तो क्युबामा कम्युनिस्ट पार्टीको सरकारपछि दुई वर्षमै त्यहाँ जनताको साक्षरता, सचेतना यति बढ्यो कि उनीहरू पार्टीका दस्तावेज पढ्न, छलफल गर्न र सरकारका काममा सरोकार राख्न, बोल्न थाले । अमेरिका र चीनमा पनि शिक्षा त्यस्तै विकास भएको छ । मध्ययम वर्गको विकास भएको छ । हामीकहाँ पनि शिक्षाको विकास त भएको छ तर यो सबै के पुँजीवादको ग्लोबल फेनोमेना हो कि समाजवादका कारण हो ? मूल कुरा परिवर्तन आम रूपमा महसुस हुनुपर्छ । जनताले देख्छ त्यो । जब प्रधानमन्त्री कहीँ उभिएर यो, ऊ गरेँ भन्नुपर्ने परिस्थिति आउँछ, त्यहाँ केही समस्या रहेको बुझ्नुपर्छ ।

यो देशको अन्तर्राष्ट्रिय सम्बन्ध सम्पर्क बढेको छ । सकारात्मक सूचकहरू पनि छन् तर फेरि पनि निराशाको कुरा हुनुमा कतै सरकार र पार्टीबीचको दूरी पो जिम्मेवार छ कि ?

डा. प्रसाईं : हो, चीनसँगको निकटताले भारतीय हेजिमोनीमा गिरावट आएको छ । हाम्रो सार्वभौमसत्ताको अङ्क राम्ररी बढेको छ भन्ने कुरा त गर्नै पर्दैन नि, नाकाबन्दीको बेलाको अडानले हाम्रो स्वाभिमान उच्च भएको देखिएकै छ त्यो । अब कुनै भारतीय राजदूत हाम्रो मन्त्रालयमा गएर यो पुल बनाउन नबनाऊ भन्न सक्दैन नि । कुनै पनि देश पूर्ण सार्वभौमसत्ता सम्पन्न त हुँदैन नै । अमेरिकामा पनि इजरायली व्यापारी, अरबका राजाहरूको प्रभाव छ ।
पार्टी र सरकारबीच दूरी छ भन्ने त दस्तावेजमै बोलिएको छ । पार्टी र सरकारको ग्यापको कुरा दस्तावेजले नै टुङ्ग्याउला । पार्टी विधिबाट चलेको छैन । जनवाद, विधि कमजोर भएको छ । दस्तावेजमै विधिअनुरूप पार्टी नचलेको, व्यक्तिवाद लालच, व्यभिचार बढेको भन्नुको अर्थ के ? पार्टी गुटहरूको महासङ्घ बन्दै छ भनेर दस्तावेजमै लेखेको बाहिरकाले हो र ? यसलाई निराशाको खेती भन्नु राम्रो संवाद होइन । लोकतान्त्रिक पार्टीले त बरु बोल्न, आलोचना गर्न प्रोत्साहन पो गर्छ । कम्युनिस्ट पार्टीले हिजो जुन वर्गका जनताप्रति प्रतिबद्ध भएर कसम खायो सोअनुरूप वर्ग पक्षधरता देखाएर काम गरेको छ कि छैन ? आशा र निराशा त्यसले निर्धारण गर्छ ।
नेकपाले साँच्चै कम्युनिस्टका कार्यक्रम ल्याउने हो भने काँगे्रसले देश ठप्प पार्छ । अहिले सामान्यतया दुईवटा पार्टीको वर्गीय प्रतिनिधित्व एउटैजस्तो देखिएको छ । उनीहरूको नीतिमा रहेको ‘न्यु लिबरल’ नीति आधारमूत रूपमा कम्युनिस्ट पार्टीले पनि चाहिन्छ भनेको छ । दुवैले निजी क्षेत्र भन्छन् । के फरक छ र यो सरकारसँग केका लागि लड्ने भन्ने छैन ।
प्रधानमन्त्रीको आलोचना गर्नेबित्तिकै आक्रमक ढङ्गले प्रतिकार गर्नु लोकतान्त्रिक हुँदैन । यो समस्या अलिकति हामीकहाँ छ । विपक्षी आउँछ, आलोचना आउँछ, विरोध गरिन्छ । यो हो डेमोक्रेसी तर यो विरोधलाई कसरी प्रतिवाद गर्नुहुन्छ भन्ने हो । प्रधानमन्त्री वा कुनै मन्त्रीले ओँठेजवाफ फर्काउने तरिका होइन होला, कामले देखाउने होला नि । कामले देखाएपछि ती विरोध मत्थर हुँदै जान्छन् । वस्तुतः कामले मत्थर पार्ने हो तर हामीकहाँ आलोचना आयो भने अलि बढी असहिष्णु हुने संस्कृति बनेको छ ।
अहिले कम्युनिस्ट पार्टीको सरकार तानाशाह भयो भनेर लखेट्नुपर्छ र ?
त्यो कसले पत्यायो ? यो त बोल्ने मान्छे नै हावा भएन र ? यस्ता कुरामा चिन्ता गर्ने होइन । सरकार अधिनायकवादी भयो भनेर टुँडिखेलमा डेमोक्रेसीका लागि मोर्चा भयो र । बोल्नेलाई बोल्न दिनू ।

पार्टीको दस्तावेजमा क्रान्तिको बाँकी काम पूरा गरेपछि मात्र समाजवाद आउँछ भन्ने लेखिएको छ, वास्तवमा क्रान्तिका के कुरा आउन बाँकी छन् ? आजको सन्दर्भमा कम्युनिस्टको आचरण सिद्धान्त परिवर्तन भएको हो ?

बडाल : पार्टी र सरकारबीचको दूरीबारे भन्नुपर्दा पार्टी दुईवटा पार्टी एकीकरण भयो, स्वतः सबै कमिटी विघटित भए । नयाँ कमिटी आज पनि राम्ररी बन्न बाँकी छ । माथि पनि धेरै कुरा बन्न बाँकी छ, तल पनि बाँकी छ । त्यसैले केही ठाँउमा अलिकति छाडापन आएको होला, अब त्यो बिस्तारै हल हुँदै जान्छ ।
नेपाल कम्युनिस्ट पार्टी साँच्चिकै कम्युनिस्ट भएको भए काँग्रेसले विरोध गथ्र्यो, उस्तै–उस्तै भएकाले सहिष्णु भएको भन्ने कुरा अलि मिलेन । यी दुईमा केही फरक छ । बेलायतको लेबर पार्टीको ढाँचामा काँग्रेस गठन भएको हो । नेपाली काँग्रेस र नेपाल कम्युनिस्टमा आकाश–पातालको फरक होइन । समाजवाद दुवैको लक्ष्य हो । वर्तमान संविधान पनि नेकपा एक्लैले ल्याएको होइन, सबैले बनाएको हो । सबैले वर्ग दृष्टिकोणमा फरकमत राख्छौँ तर काँग्रेस एकाधिकारवादी पुँजीपति वर्गको प्रतिनिधित्वमात्र गर्ने दल होइन । श्रमजीवीले पनि काँग्रेसलाई मत हालेका छन् । एकदमै डिमार्केसन छ भन्ने होइन । विभिन्न आन्दोलनमा सबै सँगै सहभागी भएका हौँ । लोकतन्त्र स्थापनाकालदेखि नै सँगै लडेको पार्टी हो । त्यसैले कहाँ न कहाँको वर्गविभेदभन्दा पनि केही फरक हो भन्ने ढङ्गले हेर्ने हो ।
हाम्रो स्थापनाकालदेखि गणातन्त्र ल्याउने कुरा थियो । जनवादी जबज भने पनि क्रान्ति करिब–करिब पूरा भएको छ । अब दलहरूले पनि युद्धस्तरमा अघि बढाउनुपर्ने भनेको असमानताका जति आधार छन् त्यसलाई हटाउँदै जाने, आधारभूत वर्ग उत्थानका लागि अघि बढाउने, पछौटे उत्पादन प्रणालीलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्दै लैजाने, सरकारी शिक्षा र स्वास्थ्यमा थप सुधार गर्दै जाने नै हो ।
क्रान्ति कहिल्यै पूर्ण हुँदैन । पूरा अर्को समस्या हुन्छ । साम्यवादमा पुगेपछि पार्टी, वर्ग केही हुँदैन भन्ने परिकल्पना गरिएको छ । ११ बुँदे आचारसंहिता कम्युनिस्ट पार्टीको सदस्यता लिँदा शपथ खाने विषय हो । यो छुट्टै विषय होइन ।

प्रस्तुति : भउचप्रसाद यादव
तस्बिर : कविता थापा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?