logo
२०७७ असार २७ शनिवार

पृथ्वीनारायण शाहकै योगदानले आजको नेपाल

अन्तरवार्ता |


2020-01-13-7010


दक्षिणतिर अङ्ग्रेजको साम्राज्य विस्तार हुँदै गएको तथा उत्तरतिर पनि बलियो राष्ट्र रहेको बेला नेपाल बाइसे, चौबीसे र भुरेटाकुरे राज्यहरूमा विभाजित थियो । त्यतिबेला गोरखाका युवा राजा पृथ्वीनारायण शाहले बलियो नेपाल निर्माणको सपना देखे । विभिन्न राज्यहरूलाई मिलाउने अभियानस्वरूप लडाइँ लडे । अनेक राजा–रजौटाहरूलाई परास्त गरी नेपाल एकीकरण अभियान अगाडि बढाए । पृथ्वीनारायणको कूटनीति चातुर्य र दूरदर्शिताका कारण अखण्ड नेपाल निर्माण सम्भव भयो । हामी देशका सम्मानित नागरिक बन्न पाएका छौँ । तर, पछिल्लो समय तिनै राष्ट्रनिर्माता नायक पृथ्वीनारायण शाहको योगदान, उनले शासन व्यवहारबारे केही नकारात्मक चर्चा पनि हुने गरेका छन् । खासमा पृथ्वीनारायण शाहको योगदान, अनुशरण गर्नुपर्ने विषय र कमजोर पक्ष के थिए ? यही विषयमा आजको गोरखापत्र संवादमा राजनीतिज्ञ तथा साहित्यकार मोदनाथ प्रश्रित, शिक्षाविद् केशव भट्टराई र अध्येता राजनलाल जोशीसँग छलफल छ ।

अहिलेको परिवेशमा पृथ्वीनारायण शाहलाई कसरी बुझ्नुपर्ला ?

प्रश्रित : एउटा श्लोकबाट सुरु गरौँ :
अराजकेहिलोकेऽस्मिन् सर्वतो विद्रुते भयात्
रक्षार्थमस्य सर्वस्य राजानमसृजन् प्रभु ।
अर्थात् चारैतिर अराजकता, भय भएको अवस्थामा सबैको रक्षा गर्न भगवान्ले राजालाई पठाए । यो श्लोक अहिले पढ्दा त्यतिबेलाको सन्दर्भमा बुझ्नुपर्छ । पृथ्वीनारायण राजा हुँदा बाइसे चौबीसे राज्य र राजाहरू थिए । उनीभन्दा पहिले लिच्छविकालमा मानदेवले पनि झन्डै अहिलेको नेपालजत्रै राज्य बनाए तर त्यो त्यति टिकेन । दुई÷तीन पुस्तामै बाइसे चौबीसे राज्यमा फक्र्यो । हजारौँ वर्षसम्म जातीय, भौगोलिक आधारमा राजा बन्ने परिस्थिति रह्यो । तिनीहरू फाट्टफुट्ट लडाइँ पनि गरिरहन्थे । भारतमा पनि खण्डा विखण्ड राज्यहरू थिए, विभिन्न व्यक्तिले एकीकृत गर्दै गए । पछि भारतमा ब्रिटिस आउने परिस्थिति बन्यो । धेरै सङ्घर्षपछि भारतलाई एकीकरण गरेका थिए । नेपालमा अनेक राजा–रजौटा थिए तर पृथ्वीनारायण शाहले एकीकरणका लागि अगाडि बढे । त्यतिबेला उनको अभियानको समर्थन र विरोध दुवै भएको थियो । नुवाकोट आइसकेपछि उनले उपत्यकामा हमला गर्ने सोच बनाए । सानै उमेरमा उनी भक्तपुरमा आएर बसिसकेका थिए । २० वर्षको उमेरमा राजा भइसकेपछि पहिले वरिपरिका किल्लाहरू भत्काउने उनको सोच बन्यो । उपत्यकामा लडाइँ गर्दा बढी समस्या कीर्तिपुरमा आइलाग्यो । त्यहाँ अलिकति टक्कर प¥यो, अलिकति सवक लिए । अरू ठाउँतिर कामजोर राज्य थिए, त्यसैले त्यस्तो धेरै कठिनाइ भएको थिएन ।
विश्वभर पहिले ठुल्ठूला राज्य थिए । विभिन्न सम्राट थिए । लडाइँ लडेर नै ठूलो र अखण्ड देश बनाउने काम विदेशमा पनि भयो । जसरी पृथ्वीनारायण शाहले योजना बनाए, त्यसैगरी अन्य देशमा पनि अभियान चलेको देखिन्छ ।
कूटनीतिक तथा भूराजनीतिक विषयमा राम्रो चेत थियो– पृथ्वीनारायण शाहमा । ठूला देश भारत र चीनबीचका हामी साना–साना राज्य छौँ, मिलेर अगाडि बढेमात्र टिक्छौँ, भारत र चीनले हेप्न सक्दैनन् भनेर ‘दुई ढुङगाबीचको तरुल’ भने । उनले एकीकरण अभियानलाई गण्डकीसम्म पु¥याए, त्यसलाई उनका उत्तराधिकारीहरूले अगाडि बढाएका हुन् । राम्रो पक्ष, सबैलाई सम्मान गर्नेखालको सोच उनको थियो । घरको दर्जीलाई समेत सम्मान गरेको उदाहरण भेटिन्छ । साना–साना राजा–रजौटाबाट पीडितहरूले अखण्ड नेपाल निर्माणमा साथ दिए । भेष बदलेर वनारसमा गएर विभिन्न हातहतियार लिएर आएका थिए । गोरखाका राजा भएकाले अलि अन्यभन्दा कुशल र व्यवस्थित थिए । ऐतिहासिक कुरा गर्दा लिच्छविकालमै एकीकरणको अभियान सुरु भएको थियो तर ठोस कदम पृथ्वीनारायण शाहले चालेको देखिन्छ । त्यो अभियान साकार पनि भयो । कल्पना गरौँ त नेपाल एकीकरण नभएको भए अहिले कस्तो अवस्थामा हुन्थ्यौँ ? विभिन्न जातजातिका राज्य भएका भए हाम्रो अवस्था के हुन्थ्यो ? त्यसैले पृथ्वीनारायण शाहको योगदान र त्यागका कारण हामी अहिले अखण्ड नेपालका नागरिक हुन पाएका छौँ । अन्तर्राष्ट्रिय सम्बन्धमा गएका छौँ, सहयोगी छन् । अब नेपाललाई कसैले केही गर्न सक्दैन । सम्मानसाथ बाँच्न पाएका छौँ । यही हाम्रा लागि गौरवको कुरा हो ।

जोशी : अहिलेसम्मको इतिहास हेर्दा पृथ्वीनारायण शाहलाई महान् बनाइएको छ । अलेक्जेन्डरभन्दा कम छैनन् भन्ने देखाइएको छ । पृथ्वीनारायण शाहले भूगोललाई ठूलो बनाएको सत्य हो । तर, नागरिकको मानसिकतामा दरिद्रता ल्याइदिए । विपक्षीलाई मारकाट गर्ने रणनीतिको विजारोपण गरे । एकीकरण होइन, विखण्डीकरण गरे । एकीकरण भनेको भूगोल जोड्नुमात्र होइन, सबैसँग मन मिलाउनु पनि हो । जातीय विद्वेष त्यहीँबाट सुरु भएको हो । जातभातको कुरा त्यहीँबाट सुरु भयो । युद्ध गर्दा बाहुनलाई अगाडि नलगाउनू, मगर ढिला हिँड्छन् भने । खाल्डो भनेको इनारका पानी खाने समुदाय भनेर चित्रित गरे । नेपालको इतिहासमा वैदेशिक हस्तक्षेपको सूत्रपात पनि उनैले गरे । भारतीय सेनालाई समेत ल्याएर युद्ध लडे । त्यो वैदेशिक हस्तक्षेपको सुरुवात थियो । विदेशी इतिहासकारहरूले राम्रो लेखेका छन् तर हामीले त्यसलाई आधार मानिरहेका छैनौँ, बाबुराम आचार्यहरूले लेखेको इतिहासमात्र पढेका छौँ, जसमा शासकको प्रशस्तीमात्रै छ । साँस्कृतिक विखण्डनको अभियान उनैले नै सुरु गरेको देखिन्छ । उपत्यकाका नेवारको सवालमात्र होइन, पूर्वका माझकिरातको इतिहास हेर्नुस् । डोटीमा पाँच सयजना महिला बेचेको उदाहरण हेरौँ । राज्य सञ्चालनका लागि साम, दाम, दण्ड भेदको कुरा गरिन्छ । तर, यहाँ छल र कपटको राजनीति गरेर एकीकरणको अभियान सुरु भएको थियो ।

भट्टराई : मैले यसरी बुझ्छु– पृथ्वीनारायण शाहकालसँगै विश्वको आधुनिक युग सुरु भएको थियो । त्यहीबेला अमेरिका स्वतन्त्र भएको थियो । फ्रान्समा क्रान्ति भएको थियो । त्यो बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान सुरु गरेका थिए । उनको कूटनीतिक क्षमता गज्जबको थियो । २० वर्षे उमेर भएका राजाले कहाँबाट सिके ? त्यस्तो अद्भुत क्षमता उनमा कहाँबाट आयो ? त्यतिबेला शिक्षादीक्षा थिएन । आमा र पुरेतले पढाएको शिक्षाको भरमा उनले नेपाल एकीकरणको कल्पना गरे । गण्डकीसम्म पुगे । पश्चिमका राज्य धेरै बलिया थिए, तिनीहरूसँग मित्रता गरेर अघि बढेका थिए । राजा भएपछि उनी पाँच÷छ वर्ष काठमाडौँ बसे । दुई वर्ष गोरखा र १८ वर्ष नुवाकोटमा बसे । त्यतिबेला तिब्बतसँग नेपालको व्यापार थियो । त्यसैले उनको बसाइ नुवाकोटमा बढी भयो । अहिले हामीले चीनबाट रेल ल्याउने कुरा गरिरहेका छौँ । तिब्बततर्फको व्यापारका लागि नुवाकोट उपयुक्त हो भन्ने त्यतिबेलै उनको सोच देखियो । यो उनको दूरदर्शिता थियो । केही मान्छेको कीर्तिपुरमा नाक काटेको सत्य हो । इतिहासकारले लेखेका छन् । लडाइँक्रममा केही ज्यादती भएको होला तर परिस्थितिअनुसार त्यो आवश्यक थियो कि ! त्यो प्रसङ्ग कर्क प्याट्रिकले पनि लेखेका छन् तर उनी पृथ्वीनारायण शाहको निधन भएको दुई दशकपछिमात्र नेपाल आएका र सुनेको भरमा नाक काटेको कुरा लेखेका थिए । ललितपुरमा काजीहरूको आततायी व्यवहार थियो । पछि पृथ्वीनारायण शाहले त्यसलाई समाधान गरे । उनका गुरु गोरखनाथ थिए तर मुद्रामा मच्छिन्द्रनाथको चित्र राखे । सेनामा सबै जातका मान्छे राखे । आज ब्रिटिसले ब्राह्मणलाई सेनामा लिँदैन । भारतमा पनि शिख, पठान बढी सेनामा छन् । युद्धका लागि लडाकु जाति चाहिँदोरहेछ । राजपुत नै चाहिँदोरहेछ । त्यो कुरा पृथ्वीनारायण शाहले बुझेका थिए । त्यसैले ब्राह्मणलाई सेनामा राखेका थिएनन् । उनको एकीकरणका बेला विद्रोह पनि खासै भएको देखिएन । सबै जाति समुदायलाई समेटेर अघि बढेका थिए । अर्को जातलाई समेट्न, स्वीकार गर्न सक्ने ठूलो क्षमता थियो उनीमा । जयन्त राना नुवाकोटका एकजना ठालु थिए । पृथ्वीनारायण शाहसँग लडाइँ हुँदा क्रूरतापूर्वक मारिएका थिए । तर जयन्तलाई दण्ड दिए पनि उनका परिवारका सदस्यको आजीवन भरणपोषण पनि शाहले गरे । यसले पनि उनी क्रूरमात्र हैन, उदार पनि थिए भन्ने सन्देश पाइन्छ । पृथ्वीनारायण शाहभन्दा तीन सय वर्ष पछाडि माओवादी सशस्त्र युद्धका बेला मुलुकले भोगेको अवस्था कस्तो थियो हामी सबै जानकार छौँ । नेपाल एकीकरणको अभियानमा केही क्रूरता देखिनुलाई दमन गरेको भनेर बुझ्नु ठीक हुँदैन । डोटीमा त्यतिबेला पृथ्वीनारायण शाहको राज्य पुगेकै थिएन । पाँच सयजना महिलामाथि ज्यादती गरेको कुरा अलि मिलेन कि ! अमेरिका स्वतन्त्र हुँदा त झन् त्यहाँका आदिवासीलाई दास बनाएर सिक्रीले बाँधी राख्ने व्यवहार गरेको देखिन्छ । त्यो युग र आज तुलना गर्न मिल्दैन ।

इतिहासलाई वर्तमानमा किन फरक–फरक बहस भइरहेको छ ? पृथ्वीनारायण शाहलाई कसैले नायक र कसैले प्रतिनायक भनिरहेको सुनिन्छ । यसलाई कसरी बुझ्दा राम्रो होला ?
प्रश्रित : नेपाललाई मात्र केन्द्रित भएर हेर्दा उपयुक्त हुँदैन । चीनमा पनि सयौँ राजा–रजौटा थिए । एकीकरण भएर अहिले विशाल चीन बनेको छ । किम इलसुङसँग भेट्दा मैले सोधेको थिएँ, ‘तपार्इं र माओ दुवैले क्रान्ति गर्नुभयो, के समानता र असमानता थिए ?’ उहाँले भन्नुभयो– माओले जमिनदार लाई कडाइसाथ ठीक पार्नुभयो । धेरैलाई मार्नुभयो । मैले जमिनदारलाई बोलाएर सम्झाउने काम गरेँ । तपाईंहरूका पितापुर्खाहरूले जमिनदारी गर्नुभयो तर अहिले प्रजातन्त्र, समाजवादको युग आयो । यस्तो अवस्थामा सबैलाई समानता गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था गर्नुपर्छ भनेर अगाडि बढेँ । उनीहरूले सहयोग गरे । तर, माओले त्यसको विपरीत गर्नुभयो । त्यसैले क्रान्तिका पनि स्वरूप फरक हुँदारहेछन् । विश्वका अधिकांश देशमा बलिया र बहादुरले नै समेटेर लगेको देखिन्छ । शत्रु पक्ष भन्दै दमन गर्न खोज्दा सफलता भएको देखिँदैन । अमेरिकामा आदिवासीलाई बीउका रूपमा मात्र छुट्टै एरियामा राखेका छन् । स्वतन्त्र अमेरिका बनाउँदा आदिवासीमाथि ठूलै ज्यादती गरिएको थियो ।
विश्वमा पहिलो चेतना ऋग्वेदका पालामा भयो । त्यो सभ्यताबाट आउँदै आजसम्म पुगेका छौँ । यति लामो सभ्यता भएको ठाउँमा हामी छौँ । एउटा जातले अर्को जातलाई अपमान गर्ने, एउटा राज्यले अर्को राज्यलाई परास्त गर्दै अहिलेको अवस्थामा सबै आएका हुन् । हाम्रो नेपालमा मात्र होइन, विश्वमा त्यही भएको हो । अहिले जाति, लडाइँलाई हेरेर एक–अर्कालाई दोष दिएर बस्नुहुँदैन । अहिले हामी एकतावद्ध भएका छौँ । जातभात छैन, छुवाछूत छैन, उहिलेका कुरा खुइले भनेर अहिले नयाँ सोचका साथ अघि बढ्नुपर्छ । पुरानो कुरा सोच्दा सद्भाव फेरि बिग्रन सक्छ । अब हामी नयाँ युगमा परिवेश गरिसकेका छौँ । त्यसैले अहिलेको युग सुहाउँदो सोच र सामथ्र्य बनाएर अघि बढ्नुपर्छ । हिजो के भयो छाडौँ, आज हामी सबै नेपाली भयौँ । त्यही सोचेर अघि बढौँ । आज हामी सबै नेपाली दाजुभाइ हौँ । गैसकेका कुरा अब फर्काउन पनि सकिँदैन । अहिले सबै समुदायबीच विवाहवारी सुरु भइसकेको छ । हिजो असभ्य युग थियो । अहिले युग सभ्य समाजमा प्रवेश गरेको छ । बितेका कुरा छाडेर नयाँ सोचका साथ अघि बढौँ । इतिहासलाई किताबकै पानामा छाडिदिउँ ।

जोशी ः चीनको प्रसङ्गलाई नेपालको परिस्थितिमा राखेर हेर्न मिल्दैन । युद्ध फूलको मालाले हुँदैन, त्यो ठीक छ । तर, रगत कहिलेसम्म बगाउने ? सिंहासनमा बसिसकेपछि भएभरका जनताको सम्पत्ति नष्ट गर्ने, धानबालीमा आगजनी गर्दै हिँड्न मिल्छ ? जब सर्वस्व हरण हुन्छ नि तब दसौँ पुस्तासम्म त्यो बिझाउने कुरा हुने रहेछ । पूर्वको माझकिरातमा पृथ्वीनारायण शाहले युद्ध जिते तर स–साना बालबालिका, गर्भवती महिलाको समेत हत्या गरिएको थियो । त्यो त बर्बरता थियो नि ! किन त्यस्तो गरे पृथ्वीनारायण शाहले ? राज्यमा दमनका शृङ्खला सुरु भएपछि चाहेर नचाहेर पनि नागरिक प्रतिशोधको भावनाले हेर्छन् । पृथ्वीनारायण शाहका पालामा सबैभन्दा बढी दुःख खसहरूले नै पाए । लमजुङ, मकवानपुरमा त्यही देखियो । जुत्ता लगाएर सलामी दिँदासमेत मान्छे काटिएका छन्, त्यतिबेला । त्यही गल्तीका कारण तिनका सन्तानमा अहिले पनि ‘पिन्च’ हुने गर्छ । इतिहासलाई बङ्ग्याउने काम गर्नुहुन्न जे छ, त्यही भनिदिनुपर्छ । रगत बगेकै हो । त्यसलाई नाइँनास्ती गर्नुहुन्न । युद्ध अपराधका घटना भएका थिए भने त्यो पनि भनिदिउँ, लेखिदिउँ । एकीकरणको अभियानताका विद्रोह पटक–पटक भएको थियो । छापामार युद्धको प्रारम्भ त त्यतिबेलै भइसकेको थियो । विद्रोही स्वभावका मान्छेलाई त्यतिबेलै काटिएको थियो । पृथ्वीनारायण शाहले रामराज्य स्थापना गरेको भए पछिसम्म विद्रोह हुने नै थिएन । सामूहिक भोजमा बोलाएरसमेत आगजनी गरेर मार्ने काम भएको थियो ।
ललितपुरमा पृथ्वीनारायण शाहलाई सिन्दुरजात्राका बेला सिलौटाले हिर्काएका थिए नागरिकले । के त्यो विद्रोह होइन ? भक्तपुरमा पनि त्यस्तै आक्रमण भएको इतिहास छ । मानवीय कमीकमजोरी हुन्छ, त्यो पृथ्वीनारायण शाहबाट पनि भएका होलान् । त्यसलाई दबाउनुहुँदैन, जे हो त्यही पाठकलाई अध्ययनका लागि लेखिदिनुपर्छ । पृथ्वीनारायण शाहको अभियान युद्धताका एउटा बन्दुकको ६० रुपियाँ पथ्र्यो । सुन तोलका १६ रुपियाँ थियो । इस्ट इन्डिया कम्पनीसँग आठ सयवटा बन्दुक उनले ल्याएका थिए । भारतबाट ‘मधेसी’लाई सेनाका रूपमा ल्याइएको थियो । पृथ्वीनारायण शाहले कीर्तिपुरमा नाकमात्र होइन नागरिकका कान, हातसमेत काटिएको इतिहास भेटिन्छ ।

भट्टराई ः कीर्तिपुरमा नाक काटेको कुरा सत्य हो । पृथ्वीनारायण शाहका गुरु, पुरोहितले नै लेखेका छन्, त्यो कुरा । तर हात, कान काटेको लेखिएको भेटिँदैन । यो प्रसङ्गमा आएको देखिँदैन । हामीले इतिहासकारले लेखेको कुरा अध्ययन गरेरै थाहा पाउने हो । अध्ययनमा त्यो भेटिँदैन । वास्तविकता के हो त ? त्यो कुरा पाठकलाई दिनु राम्रो हो तर अप्रसङ्गको कुरा ल्याएर तथ्य बङ्ग्याउनु राम्रो होइन । त्यतिबेला यातायातको सुविधा थिएन । मिडियाको विकास भएको थिएन । गलत कुरा देखाएर पृथ्वीनारायण शाहको चरित्र यही हो भन्नु पनि प्रासङ्गिक हुँदैन । नेपाल एकीकरण अभियानको समग्रताको मूल्याङ्कन गर्नुपर्छ । एकीकरणका बेला केही ठाउँमा ज्यादती, दमन भएका होलान् । तर, त्यसको बदलामा नेपाल एकीकरण पनि त भएको छ नि । त्यसो नगरेको भए सायद नेपाल एकीकरण नै हुने थिएन कि ! यसलाई समग्रतामा बुझ्दा बढी उपयुक्त हुन्छ होला ।

अहिलेको भूराजनीतिलाई हेर्दा पृथ्वीनारायण शाहको दिव्योपदेशको मूल्याङ्कन कसरी गर्दा राम्रो होला ?
भट्टराई ः त्यो दुर्गम ठाउँको मान्छे छोटै उमेरमा राजा हुनु, उनको कूटनीतिक क्षमतालाई पछिसम्मकाले अनुशरण गर्नु भनेको ठूलो कुरा हो । त्यसले नेपाललाई जोगाएको छ । नेपालीले पृथ्वीनारायण शाहसँगै सिकेर अङ्ग्रेज, भारत र चीनसँग पनि सहयोग लिने काम गरेका छौँ । जीविकाको शैली जुन छ, नेपालको अहिले पनि पृथ्वीनारायण शाहको देन हो । भारत, चीन, अमेरिका र अन्य मुलुकसँग कसरी सम्बन्ध बनाउने र विस्तार गर्ने कुरा त्यतिबेलादेखि नै आएको चेतना हो । त्यसले अहिलेसम्म काम गरिरहेको छ । तत्कालीन महेन्द्र, वीरेन्द्र र आजका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यही अनुशरण गर्नुभएको छ । सन्तुलित सम्बन्ध विस्तारको कुरा पृथ्वीनारायण शाहकै योगदान हो । ‘दुई ढङ्गाबीचको तरुल’ यो भनाइ पनि त्यसरी नै आएको हो । त्यो हरेक नेपालीले अनुशरण गर्नुपर्छ । अलिकति भारतसँग निकट हुँदा पनि मनमा घोचिने, चीनसँग नजिक हुँदा पनि घोचिनुका पछाडिका कारण के हो भने सन्तुलित सम्बन्ध राख्ने कुरा नै हो ।

जोशी ः मुख अगाडि जसले पनि राम्रो गर्छ । मुख पछाडि पनि राम्रो गर्नुपर्छ । पृथ्वीनारायण शाहले पनि त्यही गरे । बहादुर शाहको योगदान नभएको भए पृथ्वीनारायण शाहको योगदानको चर्चा कहाँ हुन्थ्यो ? २००७ सालमै गणतन्त्र आएको भए अहिले यो प्रसङ्ग उठ्दैनथ्यो । यक्ष मल्ल, मानदेवलाई किन नमान्ने ? उनीहरूले पनि एकीकरण अगाडि बढाएकै थिए । जङ्गबहादुरको योगदानलाई कसरी हेर्ने ? प्रताप मल्लको योगदानका कुरा पनि त छन् नि ।

प्रश्रितः खादन्न् गच्छामि हसन्न जल्पे
गतन्न सोचामितं कृतं नमन्वये
द्वाभ्यां तृतीयो नभवामि राजन्
किंकरणं भोज भोज भवामि मूर्ख ।
अर्थात् गुलियो कति खाने ? यो कुरा सम्झिनुपर्ने भयो । धेरै खाँदा सुगर हुन्छ । थोरै भएमा नमीठो हुन्छ । इतिहासका घटनाको कुरामा यसरी छलफल गर्दै जानुपर्छ । इतिहासलाई अध्ययन गरेर निस्कर्ष निकाल्नु बौद्धिक स्तरको काम हो । इतिहासले गरेको काम अब न वर्तमानमा ल्याउन सकिन्छ न इतिहासमा फर्किन्छ । त्यसैले अब हामीले मिलेरै बस्नुपर्छ । हिजोसम्म दलितको हातको पानी हामी खाँदैनथ्यौँ तर अहिले सबै चीजमा परिवर्तन भएको छ । यहीअनुसार अगाडि बढौं । सबै मिलेर नेपाल बनाऊँ ।

प्रस्तुति : लक्की चौधरी
तस्बिर : कविता थापा  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?