हामी कतै झुक्दैनौं, कतै कोल्टिदैनौं :प्रधानमन्त्री

अन्तरवार्ता |


2019-10-04-2242


 

सुरेशकुमार यादव
काठमाडाँैं, असोज १६ गते । मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपीङको बहुप्रतीक्षित नेपाल भ्रमण हुने समाचारले नेपालीमा ठूलो उत्साह पैदा गराएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन उच्चस्तरको तयारीमा नेपाल सरकार जुटिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको भ्रमणले दुई देशको मित्रता अझ उचाइमा पु¥याउने बताउनुएको छ ।
उहाँले यो भ्रमणबाट नेपालले के पाउने भन्ने सूची नहुने भन्दै स्पष्ट पार्नुभयो ,‘‘ कुनै पनि देशका सरकार प्रमुख वा राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुँदा हामीले के के पाउने भनेर सूची बनाएर बस्नु हुँदैन । हामीले मित्रताको अपेक्षा गर्नुपर्छ । म कुनै देश भ्रमणमा जाँदा वा कुनै देशका राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा पहिलो अपेक्षा के भनेरभन्दा हामीले भौतिक अपेक्षा तपसिलका प्रतिफलका रूपमा आउने कुरा हो, मुख्य कुरा मित्रता अभिवृद्धिको कुरा हो ।’’
 विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति राष्ट्रका प्रमुखकाे नेपाल भ्रमण हुने समाचारले अहिले विश्वको ध्यान नेपालतर्फ तानिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको बहुमतको सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन उच्च प्राथमिकता दिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर समृद्धिको यात्रामा नेपाल हिँडिसकेको छ । खासगरी प्रधानमन्त्री ओलीले नेतृत्व गर्दै अगाडि बढिरहनुभएको छ । प्रस्तुत छ, प्रधानमन्त्री ओलीले  समामचार माध्यमका सम्पादक तथा  पत्रकारहरूसँग बिहीबार गर्नुभएको कुराकानी ः

  • निकट भविष्यमा चीनका राष्ट्रपतिको भ्रमण हुँदैछ । त्यो भ्रमणको विशिष्टता के हुन्छ र अपेक्षा के के हुन्छ ?


कुनै पनि देशका सरकार प्रमुख वा राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुँदा हामीले के के पाउने भनेर सूची बनाएर बस्नु हुँदैन । हामीले मित्रताको अपेक्षा गर्नुपर्छ । म कुनै देश भ्रमणमा जाँदा वा कुनै देशका राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा पहिलो अपेक्षा के भनेरभन्दा हामीले भौतिक अपेक्षा तपसिलका प्रतिफलका रूपमा आउने कुरा हो, मुख्य कुरा मित्रता अभिवृद्धिको कुरा हो । मित्रता अभिवृद्धि भयो भने अरू कुरा प्रतिफलको रूपमा हुँदै जान्छ । मित्रता भएन भने अरु कुराहरू समाप्त हुँदै जान्छ । त्यस कारण मैले मित्रतालाई प्राथमिकतामा राखेको छु । कुनै पनि कुरालाई मित्रताको मूल्यसँग गाँस्नु हुँदैन । मित्रताको मूल्य सर्वाधिक हुन्छ, मुख्य कुरा त्यो हो । मैले कुरा गर्दा त्यसमा बढी जोड दिन्छु । मेरो उच्चस्तरीय कुराकानीमा मित्रताको कुरा हुन्छ । त्यो मित्रताले भोलि के दिन्छ त्यो बेग्लै कुरा हो । मैले मित्रताको कुरालाई लाभाहानिको रूपमा हेरेको छैन । मित्रतालाई मित्रताको रूपमा लिनुपर्छ, त्यसले लाभैलाभ हुन्छ ।

  • चीनसँग अपेक्षा धेरै गरिएको छ, केही सम्झौता हुने अपेक्षा गर्न सकिन्छ कि सकिँदैन ?


मैले अघि पनि भने नि अपेक्षा आफ्नो ठाउँमा छ तर मेरो भावना भनेको मित्रतामा जोड दिने हो । मैत्री सम्बन्धमा जोड दिने हो । देशहरू, नेताहरू, सरकारहरू तथा जनता–जनताबीचको सम्बन्ध रहेको हुन्छ । मित्रता बहुआयामिक ढङ्गले बढोस्, जसमा हामी व्यापार वृद्धि गर्न सकौँ, जसले लगानी निम्त्याउन सकोस् । सम्बन्धको कुरा गर्दा ‘टेक्नोलोजी ट्रान्सफर’ गर्न सकौं । बढी अपेक्षा भनेको त्यही हो । के देलान भनी त्यति गतिलो अपेक्षा हुँदैन । के देलान भनी कसैसँग त्यति गर्दैनौं । मित्रता मुख्य कुरा हो । लगानी मुख्य कुरा हो, व्यापार मुख्य कुरा हो । यो कुराको अपेक्षाभन्दा मित्रतामा जोड दिनुपर्छ ।

  • नेपाल सी विचारधारामा जाने भयो भन्ने प्रचारहरू भएका छन् । तपाईले पहिला पनि भन्नुभएको थियो, सबैको आ–आ–आफ्नो मोडेल हुन्छ, नक्कल गरियो भने नक्कली हुन्छ । खासमा कुरा के हो स्पष्ट पार्दिनुस् न ?


मैले हिजो (असोज १५) मोहनचन्द्रदास गन्धीजीको १५० औं वार्षिकोत्सव मनाए । उहाँको शान्तिपूर्ण विचारहरूको प्रशंसा गरेँ । अब नेपाल कता जाने हो तपाई नै भन्नुस् । अहिले पनि उहाँको विचार सान्दर्भिक रहेको छ । जहाँ परमाणु अस्त्रहरू बनिरहेका छन्, ती आफैँमा खतरा छ । त्यसका लागि शान्ति चाहिएको छ र शान्तिका पक्षका विचार ठीक भनेको थिएँ । भारतको स्वतन्त्रता सङ्ग्राममा दुईटा कुरा जबर्जस्त रूपमा उठे । एउटा सुवासचन्द्र वोसको क्रान्तकारी विचार र अर्को महात्मा गान्धीको शान्तिपूर्ण विचार । दुईवटै ठीक छन् । शान्ति आँकाक्षा हो । सुवासचन्द्र बोसको त्यतिबेलाको लाइन यथार्थ थियो । दुइवटै आफ्नो ठाउँमा ठीक छन् । एउटा तत्कालीन यथार्थ हो र एउटा आँकक्षा हो । नेपालमा कुन लागू गर्ने हो । विभिन्न विद्वान्का विचार पढ्छौं ।
विभिन्न वैज्ञानिकको खोज अनुसन्धान तथा अध्ययन पढ्छौं । विभिन्न प्राविधिक तथा खोजहरू पढ्छौं । त्यसलाई आफ्नो देशको परिवेशअनुसार रचनात्मक ढङ्गले लागू गर्छौं, कुरा त्यो हो । तराईको बोली हिमाली भेगमा लगाउन खोज्यो भने हुँदैन, हिमालका बाली तराईमा लगाउन खोज्यो भने हुँदैन । हिउँदमा लगाउने बाली गर्मीमा लगायो भने हुँदैन । गर्मीमा लगाउने बाली जाडोयाममा लगाउँदा हुँदैन । हावापानी आफ्नो परिस्थिति परिवेश आ–आफ्ना पृष्ठभूमि हुन्छ । हामी सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हौं । हाम्रो परस्थिति र अरूको परस्थिति मिल्दैन । चीन कति अगाडि गइसक्यो, चीनको परस्थितिसँग हाम्रो परिस्थिति मिल्दैन । भारत हामीभन्दा धेरै अगाडि गइसक्यो, ऊसँग पनि हाम्रो परस्थिति मिल्दैन । जापान कति हो कति अगाडि त्योसँग पनि मिल्दैन । अमेरिका पनि अगाडि छ त्योसँग पनि मिल्दैन । हाम्रो परिस्थिति हामीसँग मिल्छ । हाम्रा आवश्यकता छन, ती आवश्यकता अनुसार अगाडि बढ्नुपर्छ । त्यसकारण कुनै विषयमा छलफल गर्दा, कुनै विचारमा छलफल गर्दा संकीर्ण र दरिद्रता सोचले त्यस्ता विचारहरु उत्पन्न हुन्छ कि त्यही विचारमा समाहित भयो, त्यही विचार अँगालियो । त्यो सङ्कीर्णता हो । त्यो हामीलाई बद्नाम गर्ने प्रयास हो । नेपाल सी विचारधारामा गयो भन्ने, भनेको चीनजस्तो विकसित हुन आँट्यो भन्न खोज्या हो ? त्यो अहिले सम्भव छैन नि त्यो कुरा । चीनजस्तै हुनलाई त हामीलाई धेरै समय लाग्छ । त्यसैले त्यो फाल्तु हल्ला हो । बुद्धिजीवी भएर अवौद्धिक तर्क गर्नेहरु पनि छन् । उनीहरूको कुरा सुनेर मलाई दाया मात्र लाग्छ ।

  • अन्तर्राष्ट्रिय जगत्ले नेपाललाई सुन्न थालेका छन्, तपाईले अहिले सरकारको नेतृत्व गर्नुभएको छ । तपाईलाई कस्तो लागेको छ ?


नेपाल वास्तवमा स्वाधीनताको अभ्यास गर्न थालेको छ । नेपाल सर्वाभौमसत्ता सम्पन्न देश थियो । स्वतन्त्र राष्ट्र थियो तर आफ्नो स्वतन्त्रताको, आफ्नो स्वाधीनताको स्वाधीन ढङ्गले अभ्यास गर्न आँट गर्नुप¥यो नि, त्यो अभ्यास गरिरहेको थिएन । पूर्णरूपले आफ्नो स्वाभिमानको प्रयोग गरेर हामी असंलग्न छौं, हामी स्वतन्त्र छौं । हामी त्यसै अनुसार व्यवहार गर्न सक्नु प¥यो नि । त्यो भइरहेको छैन । त्यस अवस्थाबाट नेपाल बाहिरिएको छ । वास्तविक अर्थमा नेपाल आफ्नो स्वाधिनताको, आफ्नो स्वतन्त्रताको आन्तरिक वा बाह्यरुपमा पूर्णरूपमा प्रयोग गरिरहेको छ । त्यसकारण नेपाल देखिन थालेको छ, सुनिन थालेको छ । अब स्वतन्त्र ढङ्गले डिल गर्न सक्छ, स्वतन्त्र ढङ्गले बोल्छ । हामी कतै झुक्दैनौं । कतै कोल्टिदैनौं । नेपाल नेपालको रूपमा आफ्नो स्वतन्त्र नीतिमा उभिन्छ । राष्ट्रियहितमा अवश्य अगाडि छ । त्यसमा राष्ट्रिय हित हुने भयो, यसमा लाभ हुन भयो भनेर हामी क्षणिक लाभमा पनि जाँदैनौं ।
राष्ट्रियहितका कुराले कहिलेकाही मान्छेलाई बहकाई दिन्छ । क्षणिक लाभमा हामी जाँदैनौ, हामी राष्ट्रिय हितका, राष्ट्रिय चरित्रका हाम्रो स्वाधीनताका, हाम्रा तटस्थताका, हाम्रो शान्तिको पक्षधरताका, हाम्रा विश्वबन्धुत्वको आधारभूत नीतिहरु छन् । सार्वभौम समानताका नीतिहरू छन् । शान्तिका पक्षधरताका नीतिहरू छन् । न्यायपूर्ण व्यवस्थाका नीतिहरू छन् । संयुक्त राष्ट्रसंघका बडापत्र अनुसार चल्ने हाम्रो प्रतिबद्धता छन् । असंलग्न सिद्धान्तका आधारमा चल्ने हाम्रा प्रतिबद्धता छन् । त्यसबाट विचलित नभइकन हामी अन्तर्राष्ट्रिय सम्बन्ध परिचालित गर्दा तीनवटा कुरामा ध्यान दिन्छौं । एउटा राष्ट्रियहित, अर्को न्यायोचित कुरा तथा तेस्रो अन्तर्राष्ट्रिय उत्तरादायीमा हामी ध्यान दिन्छौं ।
तसर्थ यो दृढताका साथ हामी अगाडि बढेपछि हामीले नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा परिभाषित गरेका छौं । त्यो भन्दा बढी हामी ‘वाटरलिंक’मा जाँदैछौं । एयरलिंकमा हामी गइसकेका छौं । टेलिलिंकमा हामी गइरहेका छौं । त्यसकारण हामी अब हिजोको भूपरिवेष्ठित होइनौं । समय परिवर्तित भएको छ । त्यस अनुसार हामी अगाडि बढेका छौं । गत वर्ष संयुक्त राष्ट्र संघमा नेपालका प्रधानमन्त्रीले गरेको सम्बोधनलाई आफ्नो समापन मन्तव्यमा संयुक्त राष्ट्रसंघका अध्यक्षले स्मरण गर्नु र नेपालको कुरा उल्लेख गर्नु र त्यसको महत्वको बारेमा बोल्नु भनेको नेपाललाई सुन्न थालेको हो बुझ्न सकिन्छ । अहिले छिमेका सम्बन्धलाई समधुर र विश्वसनीय उचाइमा पु¥याएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि माथि उठाएको छ । तसर्थ अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाललाई सुनिन थालेको र देखिन थालेको कुरा सही हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?