logo
२०८० चैत्र १५ बिहीवार



तनहुँ जलविद्युत् आयोजनाकाे निरीक्षण, जनमैत्री बनाउन निर्देशन

अर्थ |


तनहुँ जलविद्युत् आयोजनाकाे निरीक्षण,  जनमैत्री बनाउन निर्देशन


अमरराज नहर्की

तनहुँ, माघ ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जलविद्युत् आयोजनालाई जनमैत्री हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।
निर्माणाधीन यो आयोजनाको शनिबार स्थलगत निरीक्षण गरेपछि ऋषिङ गाउँपालिका–१, झापुटारमा रहेको आयोजनाको कार्यालयमा मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिनुभएको हो । उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।

“यहाँको समाजसँग अझै घुलमिल बन्नुपर्छ, स्थानीय सरकारसँग समन्वय गरी अपनत्व बढाउनुपर्छ । जनमैत्री योजना हो भन्ने महसुस गर्न सक्नुपर्छ,” पोखरेलले भन्नुभयो । स्थानीयवासीको जीवनस्तर उकास्ने, विस्थापित परिवारलाई रोजगारी दिने सन्देश दिन सबैको जिम्मेवारी भएको पोखरेलले बताउनुभयो ।
कुलेखानी जलविद्युत् आयोजनापछि ४० वर्षपछि जलाशाययुक्त आयोजनाका रूपमा तनहुँ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले निर्धारित समयमा पूरा गर्न काम छिटो सम्पन्न गर्न कर्मचारी, प्राविधिकलाई निर्देशन दिनुभयो । उहाँले स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

तनहुँ जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पकारसँग मुख्यमन्त्री पोखरेलले कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको थियो ।
गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले ढिलो हुँदा लागत बढ्ने भएकाले समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

तनहुँमा निर्माणाधीन यो जलविद्युत् आयोजना १४० मेगावाट क्षमताको छ ।  ५० करोड ५० लाख अमेरिकी डलरका लागि एसियाली विकास बैङ्क, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपेली लगानी बैङ्क र नेपाल सरकार÷नेपाल विद्युत्
प्राधिकरणले संयुक्त रूपमा वित्तीय व्यवस्थापन गरेका छन् ।

जलाशयको कुल भण्डारण क्षमता २९ करोड ५१ लाख घनमिटर रहनेछ । आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काहुडाँडाभित्र एक हजार १६२ मिटर लामो सुरुङमार्ग निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पु¥याएर विद्युत् उत्पादन गरिने बताइएको छ ।  

तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किटको ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरमा रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?