logo
२०८० चैत्र १५ बिहीवार



भारत पुगेका गैँडा फर्काउन समस्या

राष्ट्रिय |


भारत पुगेका गैँडा फर्काउन समस्या


वसन्त पराजुली

भरतपुर, माघ ९ गते । नेपाल–भारत सीमा क्षेत्रअन्र्तगत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो । नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको सो गैँडा नेपाल फर्केको मौका छोपी नेपाली प्राविधिकले उद्धार गरेर निकुञ्ज फर्काएका हुन् ।

निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भन्नुभयो, “एउटा वयस्क गैँडा त्रिवेणीको उखुबारीमा भेटिएको स्थानीयवासीले खबर गरेपछि निकुञ्जको प्राविधिक टोलीले त्यसलाई उद्धार गरेर यतै (निकुञ्ज) ल्याएको हो ।”
तर भारत पुगेका गैँडा र अन्य वन्यजन्तु फर्काउन त्यति सहज छैन । गैँडा उद्धार प्राविधिक टोलीका संयोजकसमेत रहनुभएका डा. श्रेष्ठले भन्नुभयो, “बगेर वा कुनै कारणले भारत पुगेका गैँडा कहिले फर्कन्छन् र उद्धार गरेर फर्काउन सकिन्छ भनेर कुरेरै बस्नुपर्ने बाध्यता छ ।”

“छवटा हात्ती परिचालन गरेर २० जनाको टोलीले गैँडालाइ डार्ट (बन्दुकबाट बेहोस बनाउने औषधि दिने कार्य) गरेर उद्धार गरिएको हो”, डा. श्रेष्ठले भन्नुभयो । यसरी उद्धार गरी ल्याइएको गैँडालाई सौराहा नजिकैको निकुञ्जको मध्यवर्ती क्षेत्रको कुमरोज सामुदायिक वनमा छाडिएको थियो ।निकुञ्ज भएर बगेका नारायणी, राप्तीजस्ता नदीमा बाढी आउँदा वन्यजन्तु बगेर भारत पुग्छन् । यसरी बगेर गएका वन्यजन्तु नेपाल फर्काउन गारो छ । यद्यपि तीन वर्षयता चारवटा गैँडालाई नेपाली भूमिमा फर्केको मौका छोपी उद्धार गरिएको निकुञ्जले जनाएको छ । त्यसअघि २०७४ साउन २८ गते आएको बाढीले बगाएर भारत पु¥याएकामध्ये नौवटालाई भारतीय क्षेत्रबाटै उद्धार गरेर निकुञ्ज फर्काइएको थियो । त्यस बेला २०७४ भदौ १ देखि मङ्सिर ३ सम्म भारतको विहार राज्यअन्तर्गत चुनभट्टा, शिवपुरगढी, मदनपुर, पिप्रासीबाट नौवटा गैँडा उद्धार गरी निकुञ्ज फर्काइएको थियो । निकुञ्जका प्रवक्ता गणेश तिवारी भन्नुहुन्छ, “त्यस बेला गैँडा उद्धारमा सजिलै सहयोग गरेका भारतीय वन अधिकारीहरू अहिले उता पुगेको गैँडा फर्काउन वास्ता गर्दैनन् । ”

उद्धार प्रक्रिया पनि जटिल छ । हात्ती लगाएर गैँडालाई बेहोस बनाई सुविधायुक्त काठको बाकसमा राखेर ट्रकमा हाली उद्धार गर्नुपर्छ । यो एक किसिमले गैँडाको स्थानान्तरण विधि हो ।
डा. श्रेष्ठ त पछिल्ला समय बगेर गएका गैँडा भारतीय चिडियाखानामा पुगेका दाबी गर्नुहुन्छ । त्यसबेला गैँडा फर्काएका सवालमा भारतमा नेतृत्व तहमै निकै बहस भएपछि उनीहरू त्यसपछि नफर्काउने निष्कर्षमा पुगेका बताइन्छ ।
“त्यसबेला त्यहाँको जिल्ला वन फरेस्टरले नै सहयोग गरेर गैँडा फर्काएका थिए तर अहिले त पोलिसी नै परिर्वतन गरेर उतै राख्ने निर्णयमा पुगेछन्,” डा. श्रेष्ठ भन्नुहुन्छ, “अहिले सुनिन्छ यताबाट बगेर गएका गैँडा पटनाको जुमा लगेर राखेका छन् रे !”

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङे गैँडा नेपाल र भारतमा मात्रै पाइने जनावर हो । चितवन राष्ट्रिय निकुञ्ज गैँडाको प्रमुख बासस्थानमध्ये एक हो । २०७७ मा गरिएको गणनाअनुसार चितवनमा ६९४ गैँडा छन् । यसका अलवा शुक्ला फाँटमा १७, बर्दियामा ३८ र पर्सामा तीन गरी ७५२ गैँडा नेपालमा रहेको तथ्याङ्क छ ।

नेपालबाट बगेर गएका कति गैँडा उता रोकिएका छन् भन्ने यकिन तथ्याङ्क कतै भेटिँदैन । २०७४ सालमा भारत पुगेका गैँडा नेपाल फर्काउने अभियानका नेपाली टोली संयोजक एवं तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत नुरेन्द्र अर्याल भारत पुगेका गैँडा नेपाल फर्कन सहज नभएको तर्क गर्नुहुन्छ ।

“गैँडालाई नदीले बगाउँछ भन्ने कुरा कल्पनाबाहिरको हो तर हाम्रा गैँडा बगेर नै भारत पुगिरहेका छन् । वन्यजन्तुको अन्तर्राष्ट्रिय कानुनले पनि वन्यजन्तु जहाँ जुन देशमा पुग्यो उसकै हुने व्यवस्था छ”, उहाँले भन्नुभयो, “भारतको सिक्किमबाट पूर्वी नेपालका विभिन्न क्षेत्रमा आइरहने जङ्गली हात्तीलाई नै हेर्नु न त्यो भारतको मात्रै सम्पत्ति रहेन नि !”

“गैँडा बगेर मात्रै होइन निकुञ्जको पश्चिमी क्षेत्रमा रहेको टेम्पल टाइगर र कानामाना क्षेत्रबाट भारततर्फ जाने गर्छन्,” हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रहनुभएका अर्याल भन्नुहुन्छ, “नेपालबाट भारत जान जङ्गलको बाटो ओरालोमा जति सहज छ त्योभन्दा धेरै गारो नेपाल फर्कन छ । नेपाल आउन ठाडो उकालो बाटो पर्ने हुँदा भारत पुगेका गैँडा सितिमिति फर्कन सक्ने अवस्था रहँदैन । ”

दुई देशका अधिकारीहरूको समन्वयमा जनावरलाई स्वतन्त्र आवागमनको व्यवस्था मिलाउन अर्यालको सुझाव छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?