logo
२०८१ बैशाख १२ बुधवार



नियुक्त भएको केही घण्टापछि स्वीडेनमा प्रधानमन्त्रीद्वारा राजीनामा

अन्तर्राष्ट्रिय |


नियुक्त भएको केही घण्टापछि स्वीडेनमा प्रधानमन्त्रीद्वारा राजीनामा


काठमाडाैं, कात्तिक ९ गते । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिनुभएको छ । सरकारमा सहभागी पार्टीले अलग भएकाे घाेषणा गरेपछि उहाँले राजीनामा दिनुभएको हो । 

स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान भएकाले उहाँले राजीनामा दिएकाे भनाइ राख्नुभएकाे छ ।

 सरकारमा सहभागी ग्रीन पार्टीले बजेट अति दक्षिणपन्थी भएकाे कारणले प्रधानमन्त्रीलाई समर्थन जनाउन नसक्ने बताउँदै बाहिरिपछि बजेट फेल भएकाे थियाे ।

‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । उहाँले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि एकल बहुमतसहित आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गर्नुभएको छ ।

५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री पनि हुनुहुन्थ्यो । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डरसन नियुक्त हुनुभएको थियो । उहाँ नियुक्त भएपछि संसदमा सांसद्हरूले खुसी मनाएका थिए ।

संसद्का ३४९ सांसदमध्ये १७४ ले उहाँको विपक्षमा मत हालेका थिए । बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए । स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

एक दिनकाे लागि भए पनि उहाँ पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल हुनुभयाे । –बीबीसी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?