logo
२०८० चैत्र १६ शुक्रवार

   बाढीपहिरो प्रभावित क्षेत्र   



सतर्कता अपनाउन चिकित्सकको सुझाव

स्वास्थ्य |
मुख्य समाचार |


सतर्कता अपनाउन चिकित्सकको सुझाव


सरोज ढुङ्गेल

काठमाडौँं, कात्तिक ७ गते । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँबराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बाढीपहिरो तथा डुबान प्रभावित जिल्लामा झाडापखाला, ज्वरो, कमलपित्त, टाइफाइड, जन्डिसलगायतका समस्या देखिन सक्ने जानकारी दिनुभयो । बाढीपहिरो गएको क्षेत्रमा सङ्क्रामक रोगको जोखिम भएकाले सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो ।

बाढीपहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो, रुघाखोकी, जन्डिसलगायतका समस्या देखिने भन्दै उहाँले धनजनको क्षतिभन्दा स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । खानेपानीमा दिसा मिसिएमा तथा बाढीले पानी फोहोर हुँदा रोग फैलिन सक्ने भन्दै उहाँले पानी उमालेर खान तथा पीयूूष मिसाएर पिउन आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको स्वास्थ्य समस्या र समाधानका लागि छलफल भइरहेको बताउनुभयो । प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयमा बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य अवस्था तथा स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिइसकेको बताउँदै उहाँले बाढी तथा पहिरो आएको स्थानमा उद्धार गरिएका व्यक्तिहरू रहने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । बाढीपहिरो क्षेत्रमा पानीजन्य रोग झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइडलगायतका रोग फैलिन सक्ने जोखिम रहेकाले त्यहाँ रहेका स्थानीयले स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड उहाँले दिनुभयो । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न सफा पानी प्रयोग, शौचालय प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

बाढीपहिरो तथा डुबानमा उद्धार गरिएकाहरू विद्यालयमा बसेकाले विद्यालयमा शौचालय व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले झाडापखाला, टाइफाइड, खानाजन्य रोग फैलिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगहरू डेङ्गी तथा कालाजारलगायतका रोग लाग्न सक्ने भन्दै उहाँले समूहमा बस्दा सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

धेरै मानिस एकैठाउँमा बस्नुपर्दा सरसफाइको कमी हुने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै डा. पुनले कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन सुझाव दिनुभयो । शुद्ध खानेपानी, शौचालय, फोहोर व्यवस्थापनलगायत सरसफाइमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । अस्थायी शौचालय निर्माण गर्नेदेखि शुद्ध खानेपानी व्यवस्था, अस्थायी बासस्थान वा घरवरपर सरसफाइमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?