logo
२०८० चैत्र १६ शुक्रवार



बढ्यो खोप घट्यो कोरोना

स्वास्थ्य |


बढ्यो खोप घट्यो कोरोना


सरोज ढुङ्गेल

नेपालमा कोरोनाविरुद्ध खोप लगाउन थालिएको धेरै भएको छैन । २०७७ साल माघ ८ गते भारतले अनुदानमा पठाएको १० लाख मात्रा कोभिशिल्ड खोप माघ १४ गतेदेखि लगाउन सुरु गरिएको थियो । त्यो बेला स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई मात्र खोपको प्राथमिकतामा राखिएको थियो । स्वास्थ्यकर्मीसँगै पत्रकार, सरसफाइकर्मीलाई पनि खोप उपलब्ध गराउन थालियो । सरकारले प्राथमिकताका आधारमा खोप लगाउने कार्य सुरु गरे पनि धेरैजसो स्वास्थ्यकर्मीले खोप लगाउन आनाकानी गरे । धेरैजसो पत्रकारले पनि त्यो बेला खोप लगाएनन् । खोप प्रयोगका लागि ल्याइएको हो कि भन्ने भ्रम उनीहरूमा थियो तर पछिल्लो समय खोप लगाउने बढेका छन् । खोपप्रतिको भ्रम पनि हट्दै छ । जब कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भयो । यो बेला खोप लगाउने मानिसको लाइन जताततै देख्न सकिन्थ्यो तर सीमित खोप सबैलाई पुग्ने त कुरै भएन । खोप लगाउन पाउनेले चाहिँ ठूलो युद्ध जीतेसरह नै भयो । अघिल्लो सरकारको पालामा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा खोप लगाएका थिए भने नौ लाख ३२ हजार ८६८ जनाले पूर्ण खोप लगाएका थिए । अहिले पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ८४ लाख १५ हजार ६७ (३८ दशमलब ७ प्रतिशत) पुगेको छ । यस्तै पूर्ण खोप लगाउनेको सङ्ख्या ६४ लाख ७० हजार १९५ (२९ दशमलव ७ प्रतिशत) पुगेको छ ।

भारतबाट १० लाख मात्रा खोप प्राप्त भएसँगै प्राथमिकता तय गरेर सरकारले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, पत्रकार र बैंकरलाई खोप लगाउन सुरु गरेको थियो। त्यसपछि विभिन्न चरणमा ६० वर्षमाथिका मासिसलाई खोप लगाउन सुरु गरियो । पछिल्लो समय १८ वर्षभन्दा माथिकाले पनि खोप लगाउने मौका पाए । यस्तै सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षकलगायतलाई पनि खोप लगाइयो ।
यतिखेर सरकारले खोपको प्राथमिकतामा सबैलाई पारेको छ । पछिल्लो समय सरकारले उमेरभन्दा पनि बढी जनघनत्व र आवातजावत भइरहने स्थान विशेषमा बसोबास गर्ने सबैलाई खोप दिएको छ । सरकारले हरेक वडामा चुनावको बुथजस्तो खोप केन्द्र राखेको छ । एकैदिन तीनलाखभन्दा बढीलाई खोप लगाइएको तथ्याङ्क छ । सरकारले बालबालिकालाई खोपको सुनिश्चितता गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक करोड ८८ लाख मात्रा खोप आइसकेको छ ।

१६ लाख मात्रा खोप चीनबाट तुरुन्तै आइपुग्नेछ । यस्तै फाइजर खोप ६० लाख मात्रा र मोडर्ना ४० लाख मात्रा अमेरिकाबाट तथा थप ६० लाख मात्रा भेरोसेल चीनबाट आउने पक्का भइसकेको छ । यो खोप सन् २०२१ को अन्त्यसम्ममा आउनेछ । सरकारले दशैँसम्म ३३ प्रतिशतलाई खोप लगाउने बताएको थियो तर ३५ प्रतिशतलाई खोप लगाइसकेको छ । चैतसम्ममा शतप्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । यही गतिमा खोप लगाउने कार्य अगाडि बढेमा चैतसम्ममा शतप्रतिशतलाई पक्कै पनि खोप लगाउन सकिनेछ । पछिल्लो समय खोपको व्यवस्थापनमा सरकार जुटिरहेकोे छ । अहिले काठमाडौँ उपत्यकामा ७७ प्रतिशतभन्दा बढी मानिसले पूर्ण खोप लगाइसकेका छन् । यस्तै पहिलो मात्रा खोप ८५ प्रतिशतभन्दा बढीले लगाइसकेका छन् । चितवन, पोखराजस्ता पर्यटकीय क्षेत्रमा धेरैलाई खोपको व्यवस्था भइसकेको छ । सरकारको तर्फबाट निःशुल्क खोप चैतसम्म लगाउने गरी व्यवस्थापन भइरहेको छ ।
खोप ल्याएपछि मुख्य विषय भनेको व्यवस्थापन नै हो । अहिले यही व्यवस्थापनको कारणले खोपको अभाव भएको छैन । पहिले उमेर समूह अनुसार मात्र खोप लगाइन्थ्यो । जिल्लास्तरमा खोप लगाइँदैनथ्यो । जुन जुन ठाउँमा लगाउनुपर्ने हो, लक्षित समूहलाई नलगाई उमेर अनुसार मात्र लगाइने गरिन्थ्यो । पछिल्लो समय होटल तथा पर्यटन व्यवसायी, विद्यार्थी सबैलाई खोप लगाउनुपर्छ भनेर व्यवस्था गरिएको छ ।

बालबालिकालाई पनि खोप

विरोध खतिवडा, मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सबैभन्दा ठूलो चुनौती खोपको हो । हाम्रो सरकारले खोपको अभाव हुन दिनेछैन । ५० प्रतिशत खोप आइसकेको छ । बाँकी खोप आउने क्रममा छ । भारतले दुई वर्षदेखि १२ वर्षसम्मका बच्चाहरूका लागि खोप सुरु गरिसकेको छ । त्यो खोपको लागि पनि पहल भइरहेको छ । दुई वर्षमाथिका बच्चाहरूका लागि पनि खोप ल्याइन्छ । त्यसका लागि पनि प्रयास गर्नेछौँ । यसबाहेक दुई करोड मात्रा खोप आवश्यक पर्ने पूर्वानुमान छ । त्यसमध्ये अधिकांश बालबालिका पर्नेछन् । १२ वर्षमाथिका बालबालिकाका लागि अमेरिकासँग सम्झौता भइसकेको छ ।
तेस्रो लहर आउने अनुमान गरिएको छ । त्यसका लागि पनि आन्तरिक तयारी भइरहेको छ । बाँकी बजेटले तर्जुमा गरेका विषयहरूलाई पनि प्राथमिकता दिइनेछ । कोरोनाभन्दा बाहेकका स्वास्थ्यका विषयलाई पनि समेटिनेछ । जनताले खोप लगाउन पाएनन् भन्ने अवस्था आउन दिनेछैनौँ ।


पाँच करोड मात्रा खोप सुनिश्चित

उमेश श्रेष्ठ, राज्यमन्त्री, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि एक करोड ७७ लाख मात्रा खोपको व्यवस्थापन भयो । म स्वास्थ्य मन्त्रालयमा आइसकेपछि खोपको व्यवस्थापनलाई तिब्रता दिएँ । शिक्षक, उद्योगी, कर्मचारी, व्यवसायीलाई खोप लगाउन सफल भएँ । दैनिक तीन लाखभन्दा बढीलाई खोप लगाइयो । जापान सरकारबाट पाएको कोभिशिल्ड खोप वृद्धवृद्धालाई दोस्रो मात्रा लगाइसकेका छौँ । ज्येष्ठ नागरिकहरू छ÷सात महिनादेखि खोप नलगाई बसेका थिए । उनीहरूलाई खोप लगाउन सफल भयौँ । बाँकी खोप एघार/बाह्र कक्षा अध्ययन गरिरहेका विद्यार्थी, १८ वर्षभन्दा माथिका विद्यार्थीलाई लगायौँ । कलेज पढ्ने विद्यार्थीलाई पनि खोप लगायौँ । विशेष गरेर ठूलाठूला शहर जहाँ धेरै जनघनत्व छ, त्यहाँ खोप लगायौँ । सीमा क्षेत्रमा पनि सबैलाई खोप लगाउन सफल भयौँ ।

यसपछि नेपालका उत्तरी भेगमा रहेका १३ वटा जिल्लामा पूर्ण खोप लगाउने व्यवस्था गर्यौं । पाँच करोड ५० लाख मात्रा खोप सुनिश्चित गरिसकेका छौँ । सुनिश्चित भएको खोप विस्तारै आउनेछ । अब केही दिन भित्रै फाइजर र मोडर्ना खोप आउँछ । जसमा एक लाख मात्रा खोप फाइजर आउँदैछ । तिहार लगत्तै मोडर्ना खोप पनि आउँछ । पुस–माघभित्र फाइजर र मोडर्ना (बच्चालाई लगाउन मिल्ने) खोप आइसक्छ । बच्चालाई लगाउन मिल्ने एक करोड मात्रा खोपको सुनिश्चितता भइसकेको छ । उक्त खोप पनि आउनेछ । एक करोडमध्ये ४० लाख मात्रा खोप मोडर्ना र ६० लाख मात्रा फाइजर खोपको व्यवस्थापन गरेर बालबालिकालाई लगाउँछाँै । त्यसमा विश्व बैङ्क र एडिबीबाट पैसाको पनि सुनिश्चित भइसकेको छ । त्यसपछि हामीले गाभीबाट पनि खोप किन्छौँ । गाभीले संसारभरका गरिब तथा विकासोन्मुख मुलुकलाई निःशुल्क तथा थोरै लागतमा खोप उपलब्ध गराउने गर्दछ । गाभीले एक करोड ५० लाख मात्रा खोप उपलब्ध गराउनेछ । ६० लाख मात्रा खोप दशैँ सकिनेबित्तिकै आउने निश्चित भइसकेको छ । भेरोसेल खोप ६० लाख मात्रा अबको केही दिनभित्रै आउँछ । हामीले लक्ष्य अनुसार दशैँसम्म ३३ प्रतिशतलाई खोप लगाउने भनेका थियौँ । अहिले लक्षित समूहको ३५ प्रतिशतलाई लगाइसकेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?