logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच फोन वार्ता

अन्तर्राष्ट्रिय |


अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच फोन वार्ता


वासिङटन, भदौ २५ गते।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुका बीचमा सात महिनापछि बिहीबार पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि उहाँहरुबीच यो दोस्रो पटक वार्ता भएको हो । यसअघि उहाँहरुबीच बाइडेन निर्वाचित भएलगत्तै पहिलो पटक कुराकानी भएको थियो । झण्डै ९० मिनेटको टेलिफोन संवाद आपसीसम्बन्ध सुधार र अस्पष्टता न्यूनीकरणमा केन्द्रित भएको ह्वाइट हाउसले जनाएको छ ।
अहिले भएको कुराकानीका क्रममा उहाँहरुले आपसी द्वन्द्व न्यूनीकरण गर्दै अन्तर्राष्ट्रिय मामिलामा मिलेर काम गर्ने बारेमा छलफल गर्नुभएको बताइएको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले सम्बन्ध सुदृढीकरणका लागि अमेरिकासँग आग्रह गर्नुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ
उहाँले दुवै देशका नागरिकको हित र आपसी हितका लागि पनि चीन र अमेरिकाको सम्बन्ध सही दिशामा हुनुपर्नेमा जोड दिनुभएको थियो । दुई देशले आपसमा अझ बढी जिम्मेवार महसुस गर्दै विगतमा जस्तै सही दिशामा सम्बन्ध विस्तार गर्नका लागि जिम्मेवार ढङ्गले लाग्न र आपसी समझदारी र समन्वयका साथ अघि बढ्नुपर्ने चिनियाँ राष्ट्रपति जिनपिङले बताउनुभएको छ ।
ह्वाइट हाउस र बेइजिङ्का बीचमा कतिपय गलत बुझाइ, भ्रम र अस्पष्टता रहेकाले खुलेर छलफल गर्दै एक अर्काबीचको अस्पष्टतालाई न्यूनीकरण गर्नुपर्नेमा समेत उहाँहरुले कुराकानी गर्नुभएको थियो । कतिपय गम्भीर मत भिन्नताका बीचमा पनि नयाँ शिराबाट आसपी सम्बन्धलाई अगाडि बढाउनुपर्ने कुरामा चिनियाँ राष्ट्रपति सिले जोड दिनुभएको थियो ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार र शैलीकै आधारमा अमेरिकाको नयाँ सरकारलाई पनि हेर्न नहुनेमा अमेरिकी पक्षको जोड दिनुभयो । ट्रम्पको कार्याकालमा चीनसँग अमेरिकाको सम्बन्ध नराम्रोसँग बिग्रिएको थियो । विश्वका पहिलो र दोस्रो शक्तिशाली राष्ट्र मानिने अमेरिका र चीनबीचको द्वन्द्वले विश्वलाई नै चिन्तित बनाएको थियो । तर पछि द्वन्द्व मत्थर भए पनि सम्बन्ध सुधार भने भएको थिएन ।
दुई समकक्षीबीचको अहिलेको वार्ताले अमेरिका र चीनबीचको सम्बन्ध सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । उहाँहरुका बीचमा आपसीसम्बन्ध सुधारसँगै व्यापार, गुप्तचरी, महामारीलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । अमेरिकाले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञासमेत दिएकाले पनि अमेरिका र चीनका बीचमा सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि वाइडेन सरकार र चिनियाँ पक्षले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए ।
चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए भने अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको टिप्पणी गरेको थियो । विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा ठूलै मतभेद छन् । सबैभन्दा बढी मतभेद मानवाधिकार र लोकतन्त्रको विषयमा रहेको प्रष्टै देखिन्छ ।
त्यसैगरी व्यापारको विषयमा पनि अमेरिका र चीनका बीचमा ठूलो विवाद रहेको छ । डोनाल्ड ट्रम्पको कार्यकालमा त दुई देशबीच व्यापारयुद्ध नै चलेको थियो । त्यो युद्ध अहिले युद्धकै अवस्थामा नरहे पनि विवादको प्रमुख विषय भने बनेकै छ । अमेरिकाले चिनियाँ सामानमा ३६० अर्ब डलरभन्दा बढी कर लगाइदिएको थियो भने प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी सामानमा ११० अर्ब डलर कर लगाइ दिएको थियो ।
त्यसैगरी बाइडेनले आफ्ना पूर्ववर्तीले चीनविरुद्ध लागू गरेका कडाइ हटाउनुभएको छैन भने चीन अझै अमेरिकासँग असन्तुष्ट छ । दुई देशबीच अफगानिस्तानको विषयमा पनि तनाव देखिएको छ । बिहीबारको फोन वार्तामा अमेरिकाले चीनविरुद्ध लागू गरेका कडाइ हटाउने र अफगानिस्तानको विषयलाई लिएर एक अर्काको विरुद्धमा नलाग्ने बारेमा समेत छलफल भएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?