logo
२०८१ बैशाख ८ शनिवार



परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार - राष्ट्रसंघ

अन्तर्राष्ट्रिय |


परिवारबाट अलग्गिएका सयौं बालबालिकाको अफगानिस्तानबाट उद्धार - राष्ट्रसंघ
तस्विर-आइआरसी


जेनेभा, भदौ २२ गते।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्थव्यस्थताबीच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ ।
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए ।
युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भन्नुभयो, “हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौ । अझै धेरै बालबालिकाहरूले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो संख्या थप बढ्नसक्ने छ । उनीहरूको पहिचान तथा छानविन गर्ने प्रयास जारी छ ।
यूनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौं मानिसहरू काबुल विमानस्थलमा ओइरिंदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए ।
अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिशनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, यूरोप लगायतका केही एशियाली मुलुकमा शरण दिइएको छ ।
जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो । फोरले भन्नुभयो, “विमानस्थलमा सङ्कट देखा परेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटीहरू कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्न सक्छु ।” छुट्टिएका बालबालिकाहरू ‘संसारका सबैभन्दा कमजोर केटाकेटीहरूमध्ये’ भएका उहाँले औंल्याउनुभयो ।
“पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरुलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्यक छ,” उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुब्र्ययबहार, उपेक्षा र हिंसाबाट जोगाउनुपर्छ ।”
युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?