logo
२०८१ बैशाख ८ शनिवार



अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

अन्तर्राष्ट्रिय |


अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार
तस्विर-बीबीसी


वासिङ्टन, भदौ ९ गते।
अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो । अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ ।
अफगानिस्तान छाड्न चाहेका मानिसहरुलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो । ह्वाइट हाउसका सह प्रवक्ता एन्डे«उ बाट्सले भन्नुभयो, “उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ । तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ ।” जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो ।

अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरुलाई पनि बाहिरिन मद्दत गरेको हो ।

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरुलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरुले प्रदेशका राजधानीहरु कब्जा गर्न थालेका थिए । प्रदेश राजधानीहरु कब्जा गर्न थालेको एक हप्तापछि उनीहरुले केन्द्रीय राजधानी नै कब्जा गरेका थिए ।

उनीहरु राजधानी कब्जाका लागि काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्नुभएको थियो । उहाँले थप रक्तपात र जनधनको क्षति हुन नदिनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेर हिँडेको बताउनुभएको छ ।

राष्ट्रपति घानीले देश छाडेपछि तालिबान विद्रोहीहरुले देशको सबै सत्ता आफूहरुको नियन्त्रणमा आएको र तालिबान विद्रोह अन्त्य भएको घोषणा गरेका छन् ।

उनीहरुले अहिले आफ्नै सरकार गठन गरेर आफ्नै तरिकाको शासन व्यवस्था लागू गर्ने तयारीसमेत गरेका छन् ।

अघिल्लो कार्यकालमा कठोर शासन व्यवस्था लागू गरेका तालिबान विद्रोहीहरुले अहिले भने शासन व्यवस्थामा केही लचकता अपनाउने अपेक्षा गरिएको छ । तर कतिपयले भने उनीहरु उस्तै कठोर नै हुने भएकाले समर्थन र सहयोग गर्न नसकिने अडान पनि व्यक्त गरिरहेका छन् ।

उनीहरुको शासन व्यवस्था कस्तो होला र सहकार्य गर्न सकिएला कि नसकिएला भन्ने उत्सुकता अहिले विश्व समुदायमा देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?