logo
२०८० चैत्र १६ शुक्रवार



‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट

अन्तर्राष्ट्रिय |


‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट
तस्विर-नेमोन्यूज


वासिङ्टन, अमेरिका, भदौ ८ गते। अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।
अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बन्र्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ । एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो । सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन । यस बैठकमा अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने अगस्त ३१ को समय सीमा विस्तार गर्ने विषयमा छलफल समावेश भएको हुनसक्ने ‘द वाशिङ्गटन पोस्ट’ द्वारा सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ ।
बाइडेन प्रशासनका सबैभन्दा विश्वस्त कूटनीतिज्ञ बन्र्सले विदेशी सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । झन्डै ११ वर्षअघि बारादरलाई सीआईएले संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो ।
तालिवान नेता बाराडरले सन् २०१८ मा रिहा भएलगत्तै अमेरिकासँग शान्ति वार्ता सुरु गरेको बताउने गरिएको छ । सोमबार तालिबानले अमेरिकी सेनाको बहिर्गमनका लागि अगस्ट ३१ को समय सीमा विस्तार गर्न नसक्ने बताएको थियो ।
तालिबान प्रवक्ता सुहेल शहिनले स्काई न्युजसँगको कुराकानीमा यदि समय सीमाभित्र बहिर्गमन पूरा नभएमा यसबाट आउने ‘नतिजा’ प्रति अमेरिका जिम्मेवार हुनुपर्ने बताएका थिए । उक्त समूहले अफगानिस्तानबाट उद्धार कार्य जारी राख्न अमेरिका, बेलायतलगायतका पश्चिमी मुलुकलाई कुनै अतिरिक्त समय नदिने बताएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?