logo
२०८१ बैशाख ११ मंगलवार



स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा

अन्तर्राष्ट्रिय |


स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा
तस्विर-रोयटर्स


स्टकहोम, भदौ ६ गते। विश्वासको मत गुमाउनु भएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गर्नुभएको छ ।
झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उहाँले अब पार्टी नेतृत्वबाट समेत बिदा लिने आइतबार घोषणा गर्नुभएको छ । सोसल डेमोक्र्याट पार्टीको अध्यक्षसमेत रहनुभएका स्टेफनले आगामी नोभेम्बरमा आफूले पार्टीको नेतृत्वदायी भूमिकाबाट अलग हुने घोषणा गर्नुभएको हो ।
आगामी एक वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई फेरि विजयी गराउनका लागि आफूले जिम्मेवारी त्याग्न लागेको उहाँको भनाइ छ । पार्टीकै एक कार्यक्रममा उहाँले नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सहयोग होस् भनेर आफूले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको बताउनुभयो । उहाँको यो निर्णयलाई परिपक्व, जिम्मेवार र नैतिकतापूर्ण भएको भन्दै स्थानीय सञ्चारमाध्यमहरुले महत्वका साथ सकारात्मक तरिकाले सम्प्रेषण गरेका छन् । उहाँले आफू झन्डै १० वर्षदेखि पार्टी अध्यक्ष र सात वर्ष प्रधानमन्त्री भइसकेकाले अब यो श्रृङ्खलालाई अन्त्य गर्नुपर्ने निष्कर्षमा आफू पुगेको पनि उल्लेख गर्नुभएको छ । “मैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा जे जति समय, अवसर र जिम्मेवारी पाएँ, त्यो आफैँमा अति अतुलनीय र महत्वपूर्ण थिए, यो सधैँ रहिरहँदैन, एक दिन अवश्य अन्त्य हुनेछ, त्यो अन्त्य गर्ने दिन अहिले आएको छ,” उहाँले भन्नुभयो ।

आफूले अहिले नै जिम्मेवारी त्यागेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिन पाएमा सबैका लागि हित हुने ठानेको पनि उहाँले बताउनुभएको छ ।

मजदुर सङ्गठनबाट पार्टी राजनीतिमा आउनु भएका स्टेफनले सन् २०१२ देखि पार्टीको नेतृत्व गर्नुभएको हो भने सन् २०१४ र २०१८ को आम निर्वाचन पनि उहाँकै नेतृत्वमा पार्टीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

उहाँले दुई महिना अगाडि संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि अर्को प्रधानमन्त्री चयन नभएकाले अहिले पनि काम चलाउ प्रधानमन्त्री कै जिम्मेवारीमा हुनुहुन्छ ।

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।

स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जनाले मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।

स्विडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट त संसद् जोगिएको छ । तर नयाँ सरकार दिन भने असक्षम भएको छ । संसद् विघटन भएको भए निर्धारित समयभन्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।
विपक्षीहरूले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उहाँ स्विडेनको पहिलो प्रधानमन्त्री हुनुभएको छ । अर्पाटमेन्टका सम्बन्धमा भएको विवादका कारण उहाँका यसअघिका केही समर्थक दलहरुले अहिले समर्थन फिर्ता लिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?