logo
२०८१ बैशाख ८ शनिवार



ग्रीसको इभियामा लागेको डढेलो नियन्त्रणमा

अन्तर्राष्ट्रिय |


ग्रीसको इभियामा लागेको डढेलो नियन्त्रणमा
तस्विर-फाइल


एथेन्स, ग्रीस, साउन २७ गते।
ग्रीसको इभियामा लागेको भीषण डढेलो नियन्त्रण हुन लागेको बताइएको छ । ग्रीसको इभिया टापुको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रक दिनरात सक्रियरुपमा लागेका छन् । इभिया टापुमा एक साताभन्दा बढी समयदेखि भइरहेको आगलागीको कारण सयौँ घरबारविहीन बनाएको छ भने अकल्पनीय क्षति भएको छ ।
जङ्गलमा लागेको डढेलो बिस्तारै नियन्त्रणमा आउँदै गरेको इस्टानिया शहरको इभिया टापूका मेयर यियानिस कोन्ट्जियासले राज्यद्वारा सञ्चालन टेलिभिजन ईआरटीलाई बताउनुभएको छ । हिजो मात्र घामको उज्यालो देखिएको विशालरुपमा फैलिएको धुवाँले बासिन्दालाई दिक्क बनाएको कोन्ट्जियासले बताउनुभएको छ ।
डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौँ घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो बिस्तारै नियन्त्रणमा आउने सम्भावना देखिएको छ । आगोबाट बच्न हजारौँ मानिस अन्यत्र पलायन भएका छन् ।
गत सोमबार आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा माग्नु भएको छ र जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताउनु भएको छ । राज्यका तर्फबाट भएका कमजोरीप्रति म व्यक्तिगतरुपमा क्षमा माग्दछु, मिचोटाकिसले टेलिभिजनमा सम्बोधन गर्दै भन्नु भएको थियो ।
डढेलोको कारण हालसम्म तीन व्यक्तिको मृत्यु भएको छ । एकजना अग्निनियन्त्रक थिए भने एक जना उद्योगी थिए । तेस्रो व्यक्ति भने एक जना बुल्डोजर चलाउने व्यक्ति रहेको थिए । अरु धेरै व्यक्ति धुँवा, पोलाई र चोटपटकका कारण अस्पताल भर्ना भएका छन् । युरोपेली वन डढेलो सूचना केन्द्रले ग्रीसमा गत जुलाई २९ देखि अगस्ट ७ सम्ममा ५६ हजार ६५५ हेक्टर वन क्षेत्र सखाप भएको जनाएको छ ।
नागरिक सुरक्षा अधिकारीका अनुसार युरोपेली युनियन र अन्य मुलुकले ग्रीसको आगालागि नियन्त्रण गर्न हालसम्म २१ वटा विमान, २५० वटा सवारी साधन र १ हजार २०० भन्दाबढी अग्निनियन्त्रक पठाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?