logo
२०८० चैत्र १६ शुक्रवार



चिनियाँ रोभर ‘चुरोङ’को मङ्गलमा सफल अवतरण

अन्तर्राष्ट्रिय |
बिज्ञान |


चिनियाँ रोभर ‘चुरोङ’को मङ्गलमा सफल अवतरण
तस्विर-सीएनएसए


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । चिनियाँ अन्तरिक्ष यान चुरोङ रोभर मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।सात महिनाको अन्तरिक्ष यात्रा तथा तीन महिनासम्म कक्षको परिक्रमापछि मङ्गलमा सफलतापूर्बक यान अवतरण गराउने चीन दोस्रो राष्ट्र बनेको हो । बीबीसीका अनुसार शनिबार सात बजेर १८ मिनेट जाँदा उक्त यानले मङ्गल टेकेको हो । यसअघि अमेरिकाले मङ्गलमा सफलतापूर्बक यान अवतरण गराएको थियो ।
चीनका राष्ट्रपति सी चिनफिङले एक विशेष सन्देश जारी गरेर उक्त यान अवतरण गराउने समूहलाई बधाइ दिनुभएको छ । रोभरको ‘सोलार प्यानेल’ खुल्न अवतरण गरेको १७ मिनेट समय लिएर पृथ्वीमा सङ्केत पठाएको थियो । छ पाङ्ग्रासहितको रोभर मङ्गल ग्रहको उत्तरी गोलार्धको हिस्सा यूटोपिया प्लेनीशिया समतल भूभागमा टेकेको छ ।
चुरोङ रोभरलाई तिअन्वेन–१ आर्बिटरले मङ्गलसम्म बोकेको थियो । मङ्गलमाथि तिअन्वेन–१ गत् फेब्रुअरी महिनामा आइपुगेको थियो । चिनियाँ भाषामा ‘चुरोङ’लाई अग्नि देवको रुपमा अर्थ्याइने गरिन्छ ।
पृथ्वीबाट मङ्गलको दूरी ३२ करोड किलोमिटर छ । मङ्गलबाट पठाइने रेडियो सन्देश पृथ्वीमा आइपुग्न १८ मिनेट लाग्छ ।
चुरोङको सफल अवतरणपछि यानले मङ्गलको ९० दिनको अवलोकन गर्नुका साथै भौगोलिक अवस्थाबारे अवलोकन गर्नेछ । यानमा जोडिएको अन्य पाँच उपकरणले मङ्गलमा विद्यमान लवणीय चट्टान र सतहमुनि बरफको उपस्थितिबारे अन्वेषण गर्नेछ ।
उक्त यान अमेरिकी अन्तरिक्ष संस्था(नासा)को ‘स्पिरिट’ र ‘अपरचुनिटि’ झैं देखिन्छ । यानको तौल करिब २४० किलोग्राम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?