logo
२०८१ बैशाख ८ शनिवार



इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीव्र

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा ५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीव्र
तस्विर-फाइल


बाली, इन्डोनेसिया, वैशाख ९ गते।
नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तीव्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् ।
बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराइमा डुबेको अनुमान गरिएको छ ।
रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराईमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ ।
अस्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले प्रारम्भिक रिपार्टले “भयानक त्रासदी” को सम्भावना देखिएको बताउनुभयो ।
जर्मन–निर्मित पनडुब्बी नौसैनिक जहाजहरुको अभ्यासकै क्रममा दुर्घटनामा परेको थियो । डुबुल्की लगाएको केही समयभित्रै जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।
नौसेनाका प्रवक्ता जुलियस विजोजोनोले तेल चुहिएको क्षेत्रलाई केन्द्रित गरी खोजी कार्य तीव्र बनाइएको जानकारी दिनु भएको छ, तर कुन ठाउँमा डुबेको हो भन्ने ठ्याक्कै खुट्याउन नसकिएको बताउनुभयो ।
सेनाले पनडुब्बीको खोजीका लागि छ वटा युद्धपोत र हेलिकप्टर पठाइ सकेको छ ।
संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, फ्रान्स र जर्मनी समेतका अन्य मुलुकले पनि सहयोगका लागि प्रस्ताव गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री मारिज पेनले यो घटना इन्डोनेसियाली जलसेनाका लागि निकै दुःखद स्थिति रहेको बताउनुभयो ।
छिमेकी मुलुकहरु सिंगापुर र मलेसियाले पनडुब्बीको खोजी कार्यका लागि जहाजहरु त्यसतर्फ पठाइसकेका छन् । इन्डोनेसियाली सेनाले युद्धपोतमा बढी तौल भए नभएको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन ।
बुधबार सेनाले पनडुब्बी निकै गहिराइमा डुबेको आशंका जनाएको थियो ।
करिब एक हजार ३०० टनको केआरआई नाग्गाला ४०२ पनडुब्बी सन् १९८१ मा निर्माण भएको हो । इन्डोनेसियाले पछिल्ला वर्षहरुमा आफ्ना युद्धपोतलाई अद्यावधिक र आधुनिक बनाउने प्रक्रिया थालेको छ । इन्डोनेसियासँग हाल जर्मन र दक्षिण कोरियामा निर्मित पाँच वटा पनडुब्बी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?