logo
२०८१ बैशाख ६ बिहीवार



मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

पढ्नै पर्ने |


मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता


छवि पाण्डे
बुटवल, वैशाख ६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सोमबार दिउँसो १ बजेर १५ मिनेटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका तर्फबाट अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ । अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका छन् ।
केसी अहिलेपनि लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।
एक साता अघिदेखि नै लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर सङ्कलन सुरु भएको थियो । लुम्बिनी प्रदेशमा सत्ता साझेदारीका लागि जसपा निर्णायक शक्तिका रुपमा देखिएको छ ।
उसका ६ सांसद छन । जसपा विभाजित भए मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास नहुन सक्छ ।
यसैबीच जसपामा दुई गुट देखिएकोले लुम्बिनी प्रदेशको सत्ता समीकरण कसरी अघि बढ्छ भन्ने अझै टुङ्गो छैन । ८७ सांसद रहेको प्रदेश सभामा दुई सांसदको पद रिक्त हुँदा सांसद सङ्ख्या ८५ छ ।
नेकपा एमालेका ४१ सांसद छन भने नेपाली काँग्रेस १९, नेकपा माओवादी १७, जसपा ६ र राष्ट्रिय जनमोर्चाको एक सांसद छन् ।
अविश्वास प्रस्ताव गरेसँगै सोमवार दिउँसो दुई बजे काँग्रेस र माओवादीका तर्फबाट पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?