logo
२०८० चैत्र १६ शुक्रवार



म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

अन्तर्राष्ट्रिय |


म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने
तस्विर–टीआरटी वल्र्ड


याङ्गुन, वैशाख ४ गते।
म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो ।
लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका छन् । तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन् ।
म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ वर्षको अवसरमा कैदी बन्दीहरुलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरुलाई रिहा गर्न लागिएको हो । गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन् । त्यसैगरी सात सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
मृत्यु भएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरुको भनाई छ ।
आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरुले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघलगायतका धेरै निकाय र मुलुकहरुले पटक पटक आग्रह गरेपनि म्यान्मारमा हिंसात्मक घटनाहरु भइरहेको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ ।
तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरुलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?