logo
२०७८ बैशाख ९ बिहीवार



सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभावः पूनावाला

अन्तर्राष्ट्रिय |


सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभावः पूनावाला


मुम्बई, चैत २५ गते । भारतमा अस्ट्राजेनिकाको कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नुपरेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताउनुभएको छ । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना अस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय सञ्चार माध्यम एनडिटिभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नुपरेको बताउनु भयो ।

उहाँले कम्पनीलाई आफ्नो क्षमता बढाउन ४० करोड ८० लाख डलर थप आवश्यक परेको बताउँदै कम्पनीले भारत सरकारसँग वित्तीय सहायताका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

विगतमा आफूहरुले खोप निकासीबाट आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको भए पनि हाल भारतमै सीमित हुनुपर्दा खोप उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

सेरम इन्स्टिच्युटले कोभिसिल्ड खोप प्रतिदिन २० लाख डोजभन्दा बढी उत्पादन गरिरहेको छ, र यो खोप भारतमा अनुदानक रुपमा प्रति डोज करिब १५० भारतीय रुपियाँमा उपलब्ध गराइरहेको छ । तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गर्दछ ।

सेरमले विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्सलाई २० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।