logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

अन्तर्राष्ट्रिय |


अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने


वासिङ्टन, चैत २५ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाविरुद्धको खोप पाउने घोषणा गर्नुभएको छ ।

उहाँले मंगलबार सो कुराको घोषणा गर्नुभएको हो । उहाँले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि यो नयाँ घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

यसअघि उहाँले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गर्नुभएको थियो । तर पनि यहाँ जतिसक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । यसरी माग बढेपछि उहाँले सो कुराको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँ कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।

राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ ।

उहाँले अमेरिकामा पछिल्लो समयमा पनि कोभिडका संक्रमितहरु बढिरहेकोले अबका दिनमा यहाँ अझै समस्याको सामना गर्नुपर्ने अवस्था रहेको र अहिले नै कोभिडका विरुद्धमा विजय हासिल गर्ने अवस्था नरहेको भए पनि केही समयभित्रै सबै अमेरिकीलाई खोप भने दिइसक्ने जानकारी दिनुभयो ।

अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ । यहाँ अहिलेसम्म तीन करोड १५ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने यहाँका ५ लाख ७० हजारभन्दा बढी मानिसको कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?