logo
२०८१ बैशाख ८ शनिवार



जनावरबाट मानिसमा कोरोनाभाइरस सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

अन्तर्राष्ट्रिय |
बिज्ञान |


जनावरबाट मानिसमा कोरोनाभाइरस सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ
तस्विर-फाइल


बेइजिङ, चैत्त १६ गते। चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।
एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोनाभाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ ।
अनुसन्धानका नतिजाहरु यसअघि अपेक्षा गरिए अनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्नहरु अनुत्तरित  छन् । यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न पटकपटक ढिलाइ गरिएको छ । चिनियाँ अधिकारीहरुले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने जानकारी गराउनुभएको थियो ।
एपीले जेनेभास्थित डब्लुएचओको कार्यालयका एक कूटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । तर उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन ।अनुसन्धाताहरुले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन् । जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोनाभाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको माशुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतरा रहे पनि त्यसमा त्यति बढी सम्भावना देखिएको छैन ।
कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ । तथापी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स–कोभ–२ भाइरस बीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुनसक्ने देखिएको छ ।
प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक (प्यान्गोलिन)मा पनि भेटिएको उल्लेख छ, तर मिन्क (पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालामा पनि कोभिड भाइरस संक्रमण हुने खतरा देखिएको छ । यी जीवजन्तुबाट पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिएको प्रतिवेदनमा भनिएको छ ।
उक्त प्रतिवेदन डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्गमस्थल उहानको भ्रमणमा आधारित छ ।

उहान मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको बताउँदै यसका केही तथ्यजाँच र अनुवादको काम भइरहेको जनाकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “मेरो विचारमा केही दिनभित्रै सम्पूर्ण प्रक्रिया पूरा भइसक्ने र यसलाई सार्वजनिक गरिनेछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?