logo
२०८० चैत्र १५ बिहीवार



छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

शिक्षा |


छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द


लोकेन्द्र जोशी

दार्चुला, फागुन १८ गते । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिनुभयो ।

 प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक ६–७ जना छात्राहरु बेहोस हुने गरेका छन् । करिब एक हप्तादेखि मावि सिप्टीमा अचानक छात्राहरु रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको उहाँले बताउनुभयो । सुरुमा ९/१० कक्षामा अध्ययनरत छात्राहरुमा यस्तो समस्या देखिएकोमा पछिल्लो सयम आधारभूत कक्षाका छात्राहरुमा पनि त्यस्तो समस्या देखिन थालेको छ । विद्यालयमा अध्ययनरत छात्राहरु बेहोस हुन थालेपछि यह1ी फागुन २० गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक धामीले बताउनुभयो ।

मंगलबार र बुधबार सरोकारवालाहरुसँग छलफल गरेर फागुन २० गतेदेखि विद्यालय खोल्ने तयारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा त्यस्तो समस्या देखिएपछि वडाध्यक्ष, प्रहरी प्रशासन, विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा छात्राहरु बेहोस हुन थालेपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरु समेत त्रसित बनेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिनुभयो । विद्यार्थी रुने, कराउने, काँप्ने तथा बेहोस हुने जस्ता समस्या बेलाबेला जिल्लाका विभिन्न विद्यालयमा देखिदै आएको छ । नौगाड गाउँपालिकाका गणेश विनायक मावि सिप्टी संगै अन्य विभिन्न वडामा रहेका विद्यालयमा पनि यस्तो समस्या देखिन थालेको उहाँले बताउनुभयो । यसअघि दार्चुलाका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुन थालेपछि क्षमा पूजासमेत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?