logo
२०७८ बैशाख ६ सोमवार



माटोेको गुणस्तर सूचना (सम्पादकीय)

विचार/दृष्टिकोण |




राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोको प्रकार गुणस्तर तथा यसमा रहेका विविध तŒवको जानकारी प्राप्त हुनेगरी तयार गरिएको माटोको विद्युतीय नक्सा (डिजिटल म्यापिङ) नेपाली कृषिमा नयाँ अभ्यास हुने भएको छ । माटोमा रहेका विभिन्न तŒव वा गुण देखाउन जीपीएमको माध्यमबाट कम्प्युटर प्रविधिमार्फत तयार पारिएको नक्साले माटोको कृषि प्रयोजनबारे विस्तृत जानकारी दिने भएकाले यसलाई कृषिसम्बन्धी सूचना बैङ्कको एउटा पाटो भने पनि हुन्छ । माटोमा कुन पोषक तŒव छ वा छैन अथवा कुन तŒव बढी छ, माटोका कारण बिरुवामा कस्तो रोग लाग्ने सम्भावना रहन्छ र त्यसको रोकथामका लागि के गर्नुपर्छ भन्ने जानकारी किसानले पाउने सूचनामूलक प्याकेज उपलब्ध हुने भएकाले किसानले तदनुकूल खेती गर्ने र माटोमा पोषक तŒव मिसाउनेजस्ता पहलबाट मनग्य आम्दानी गर्न सक्नेछन् । किसानले कम्प्युटर वा मोबाइल एप्सबाट त्यस्तो एकीकृत जानकारी लिन सक्नेछन्, जसका लागि धेरै झन्झट गर्नु नपर्ने भएकाले यस्तो सुविधामा आमकिसानको पहँुच पुग्न सक्छ ।
परम्परागत कृषि प्रणालीमा खले गह्रोमा अनदी वा मुहाने गह्रोमा झिनुवा लगाउन अभ्यस्त किसानले माटोबारे यथेष्ट जानकारी पाएपछि कुन माटोमा कस्तो खेती गर्नेदेखि माटोका कारण बिरुवामा लाग्न सक्ने रोगबारे जानकार भई त्यसको उपचार गर्न सक्छन् । खेतीयोग्य पूर्वी तराईका झापा, मोरङ तथा सुनसरीलगायतका जिल्लामा ६० देखि ६५ प्रतिशत जमिनको माटोमा अम्लीय तŒव बढेर उत्पादनमा ह्रास आएको बताइएको छ । एक अध्ययनका अनुसार बर्सेनि पाँच प्रतिशतका दरले बढ्दै अम्लीय तŒवको मात्रा नियन्त्रण गर्न नसके तत्कालका लागि उत्पादकत्व घट्ने र भविष्यका लागि माटोमा उर्वरा शक्ति नै समाप्त हुने खतरा रहन्छ । जैविक मलको अत्यधिक प्रयोगले पहाडको तुलनामा तराईका खेतियोग्य जमिनको माटो अम्लीय हुने गरेकाले नेपालको अन्न भण्डार सुरक्षित गर्न पनि यस्तो सुविधा उपयुक्त हुनेछ । विभिन्न बालीका लागि चाहिने माटोको पीएच मान चाहिएजस्तो नभएर उत्पादकत्व घट्ने हुनाले कृषिमा गरिएको लगानीअनुसारको प्रतिफल पाउन चुनौती हुँदै गरेका अवस्था रोक्न यो सुविधा महŒवपूर्ण हुनेछ ।
समाजका हरेक क्षेत्रमा आधुनिकीकरणले प्रवेश पाएसँगै कृषिमा पनि आधुनिक प्रविधि वा उपकरणको प्रयोग व्यापक हुँदै छ । यसले कृषिमा लगानी गर्न आत्मबल बढ्छ । नेपालमा माटो परीक्षण गरेर खेती गर्ने प्रचलन धेरै कम छ । पुर्खाले जहाँ जे बाली लगाएका थिए, त्यहाँ त्यही बाली लगाउने प्रवृत्ति आमकिसानमा छ । तर, नयाँ सुविधाले कृषकले सम्बन्धित वेबसाइटमार्फत माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी लिएर त्यसअनुसार खेती गर्न सक्ने भएकाले विगतको अभ्यासमा परिवर्तन गर्न यो प्रविधि सहायक हुनेछ । सोझो बुझाइमा यस्तो नक्साङ्कन किसानलाई मात्र उपयोगी हुने देखिए पनि यो सुविधा कृषि क्षेत्रका नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक, कृषि उद्यमीलगायतलाई प्रत्यक्ष, परोक्ष उपयोगी हुनेछ । कुन खेतीका लागि कस्तो माटो उपयुक्त भन्ने जानकारी नभई गरिएको खेतीले अपेक्षित फाइदा नहुने भएकाले माटोको डिजिटल नक्सा बुधबार सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषि युगको नयाँ चरणमा पुगेको जुन विचार व्यक्त गर्नुभएको छ, त्यसअनुसार आमकिसानले सहज जानकारी पाउनेगरी प्रबन्ध मिलाउन आवश्यक छ । यसअघि सरकारी निकायबाट माटो परीक्षण हुँदै आएको थियो । सरकारले माटो शिविर सञ्चालन गरेर पनि यस्तो जानकारी दिने गरेको पनि पाइन्छ तर यसमा किसानलाई कति आश्वस्त र आकर्षण गर्न सकियो भन्ने प्रश्नले पनि यस्ता प्रविधि तथा सुविधाको औचित्य पुष्टि गर्छ । प्रदेश १ मा माटो परीक्षण मिनील्याब स्थापना तथा सुदृढीकरण गर्न यससम्बन्धी कार्यविधि २०७५ मा जारी गरिएको छ । यस्तै अन्य प्रदेशमा पनि यस्ता सुविधा उपलब्ध नभएका होइनन् तर विद्युतीय माध्यमबाट तत्कालै जानकारी पाइने भएकाले यस्तो प्रविधि र सुविधामा किसानलाई अभ्यस्त बनाउनुपर्ने पहिलो चुनौती छ । यस्तो सुविधा प्राज्ञिक अनुसन्धानभन्दा किसानले व्यवहारमा अवलम्बन गर्न सक्नेगरी विकास र विस्तार गर्न सक्दा नै यसको औचित्य पुष्टि हुनेछ ।