logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा ८३ लाख ब्यक्तिले खोप लगाए

अन्तर्राष्ट्रिय |


भारतमा ८३ लाख ब्यक्तिले खोप लगाए
तस्विर–बीबीसी


नयाँदिल्ली, फाल्गुन ३ गते। भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका छन् ।
विगत तीन दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको मन्त्रालयले जनाएको छ । भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो । देशभर करिब ८३ लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।
यसैबीच, आइतबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन चार लाख ८६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ ।
विश्वभर कोभिड–१९ बाट करिब १० करोड १९ लाख व्यक्ति संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा चार लाख ९७ हजार, ब्राजिलमा दुई लाख ३९ हजार, मेक्सिकोमा एक लाख ७४ हजार, बेलायतमा एक लाख १७ हजार, इटालीमा ९३ हजार र फ्रान्समा ८१ हजारको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो । कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ । विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?