logo
२०८० चैत्र १६ शुक्रवार



पुलिसलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्यो

खेलकुद |


पुलिसलाई हराउँदै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्यो
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । सशस्त्र प्रहरी बल(एपीएफ)ले नेपाल पुलिसलाई हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ । उसले नेपाल पुलिसलाई ३० रनले हराएको हो ।
एपीएफले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याउँदै नेपाल पुलिसले ४९ ओभर २ बलमा मात्र १७३ रनमा समेटिन पुग्यो । १५ रनमै तीन विकेट गुमाएर नेपाल पुलिसले कमजोर सुरुवात गर्यो । ओपनर सुनिल धमला, कुशल भुर्तेल र अमित श्रेष्ठले दोहोरा योगफल छुन नपाउँदै पेभेलियन फर्किदा पुलिस प्रारम्भिक दबाबमा आयो । मध्यक्रममा अनिल साह र दिपेन्द्रसिंह ऐरीले ४६ रनको साझेदारी गरेर केही आशा जगाएपनि दुबैजना लगालग पेभेलियन फर्केपछि नेपाल पुलिसको पारी धरमराउन पुग्यो । ऐरी ३३ र साहले २१ रनको योगदान दिनुभयो ।
पवन सर्राफले सर्वाधिक ४० रन बनाएर टोलिको योगफल १२५ रनसम्म पुर्याएपनि उहाँ पेभेलियन फर्के लगत्तै पुलिसको उपाधिको होडसम्म पुग्ने सपनामाथि तुषारापात भयो । राशिद खानले पूछारमा ३४ रनको पारी खेलेपनि जितका लागि अपर्याप्त भयो । आरिफ शेषले १६ रनको पारी खेल्नुभयो । फिल्डिङको क्रममा चोटग्रस्त भएपछि आरिफ मैदानबाट बाहिरिन पुग्नुभएको थियो ।
एपीएफका लागि भुवन कार्कीले सर्वाधिक चार तथा कमल ऐरी, अविनाश बोहोरा र शरद् भेषवकारले सामान दुई दुई विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको एपीएफले ४३ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर मध्यक्रममा भुवन काकार्कीले ४२ र शंकर रानाले ४४ रनको पारीको योगदान दिएर टोलिको योगफल सामान्य योगफलसम्म पुर्याउनुभयो ।
पुलिसका लागि आरिफ शेषले दश ओभरमा ३१ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई तथा राशिद खान र सागर ढकालले एक एक विकेट लिनुभयो ।
भुवन कार्की प्लेयर अफ द् म्याच घोषित हुनुभयो । प्रतियोगिता अन्तगर्त बिहीबार हुने दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मीले प्रदेश २ को सामना गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?