logo
२०८० चैत्र १६ शुक्रवार



बाइडेनको पदभार ग्रहण समारोह, सुरक्षा कडा, उपस्थिति थोरै हुने

अन्तर्राष्ट्रिय |


बाइडेनको पदभार ग्रहण समारोह, सुरक्षा कडा, उपस्थिति थोरै हुने
तस्बीर ः साभार सीएनएन


इश्वरचन्द्र झा
काठमाडौं, माघ ६ गते । संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डीसीमा बुधबार मध्यान्ह एक समारोहका बीच राष्ट्रपति निर्वाचित जोइ बाइडेनले पदभार ग्रहण गर्नुहुनेछ । उक्त समारोहमा बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिदै व्हाइट हाउसको यात्रा गर्नुहुनेछ । तर सत्ता हस्तान्तरण समारोह आयोजना हुनुभन्दा दुई साता अघि मात्रै क्यापिटोलमै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि बिगत झैं समारोह सामान्य तवरले समारोह आयोजना नहुने आँकलन गरिएको छ । उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो ।
बीबीसीले कोभिड–१९ को बढ्दो सङ्क्रमण र ट्रम्प समर्थित कार्यकत्र्ताको आक्रमणको जोखिमका बीच शपथ समारोह हुने हुँदा अमेरिकी सुरक्षा निकायले तयारीमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
समारोहका लागि सुरक्षाको चुस्त प्रबन्ध गरिँदैछ । गत् सातादेखि नै नेशनल गार्ड्स क्यापिटोल पुग्न सुरु गरिसकेका छन् । करिब २५ हजारको संख्या नेशनल गार्ड्स सुरक्षा दिनेछन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदको शपथ लिँदा करिब आठ हजार नेशनल गार्ड्स परिचालन गरिएको थियो ।
पेन्टागनले परिचालन गरिने सैन्य दस्तामध्ये केहीलाई हातहतियारबाट सुसज्जित रहन अनुमति दिइसकेको छ । केहीले स्वचालित राइफल्स र केहीले ‘हयाण्ड गन’ बोकेको तस्विरहरु समेत सार्वजनिक भएको छ । शहरका बीचमा अवस्थित क्यापिटोलसम्म पुग्ने बाटो बन्द गर्ने र सम्बन्धित ब्यक्तिलाई मात्रै पहुँच दिन सुरक्षाकर्मीहरु जिम्मेवार हुनेछन् ।
राष्ट्रपति निर्वाचित जोइ बाइडेनले आफ्नो गृहनगर विल्मिगटनबाट वाशिंगटन डीसी पुग्न सोमबार नै रेल यात्रा गर्ने बताएपनि सुरक्षाको कारण देखाउँदै उहाँले आफ्नो योजनामा बदलाब ल्याउनुभएको छ ।
निर्वाचित राष्ट्रपति सधैं आफ्ना असंख्या समर्थकको सामुने शपथ लिने परम्परा रहेको छ । तर यसपटक भने त्यसो हुने छैन् । क्यापिटोलमा आक्रमण हुनु अघि नै बाइडेनको शपथ समारोह आयोजक समितिले समर्थकलाई घरमै बसेर समारोह हेर्न जोड दिएको छ । परम्परागत् ठूलो भिडले समारोहलाई आकर्षित र उत्साहित बनाउनुभन्दा कोभिड–१९ को सङ्क्रमण फैल्ने माध्यम बन्न सक्ने भन्दै समितिले यसप्रकारको चेताबनी दिएको छ ।
मञ्च नजिकको तस्विर समेत सार्वजनिक गरिएको छ । जस अनुसार समारोहस्थल नजिक एक सय वटा कुर्सी राखिएका छन् । उक्त आसन विशिष्ट अतिथिका लागि हुनेछन् । सामाजिक दूरीको पालना हुने गरी कुर्सीलाई अलग्याइएका छ । अतिथिले समारोहस्थल प्रबेश गर्नु ठीक अघि कोभिड–१९ को रिपोर्ट निगेटिभ भएको हुनुपर्ने र फेस मास्क अनिवार्य लगाएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।
नेशनल मल अगाडि बढी संख्यामा समर्थक हुने छैनन् । यसअघि सन् २००९ मा बराक ओबामाले राष्ट्रपति पदको शपथ लिँदा मल अगाडि करिब २० लाख समर्थक जमा भएका थिए ।

(बीबीसीकाे समाचारमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?