logo
२०८१ बैशाख ७ शुक्रवार



घरघरमा देउडा नृत्य गरी गौरा पर्व मनाइयो

मनोरञ्जन |
समाज |


घरघरमा देउडा नृत्य गरी गौरा पर्व मनाइयो
तस्बिरः विकास द्वारे


यलु जोशी
काठमाडौँ, भदौ १० गते । सुदूरपश्चिममा मनाइने गौरा पर्व पनि कोरोना सङ्क्रमण तथा निशेधज्ञाको बीचमा राजधानीका घर घरमा देउडा नृत्य गरी बुधबार मनाएका छन् ।
भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइने गौरा पर्व कोभिड १९ को कारण घरमा औपचारिक पूजाआजा गरी मनाइयो । बर्सेन राजधानीको टुडिँखेलमा आयोजना गर्ने गौरा पर्व यो वर्ष भने घरको कौसीमा सीमित भएको शारदा जोशीले जानकारी दिनुभयो ।
देउडा नृत्यलाई देश विदेशमा प्रदर्शन गरी सुदूरपश्चिमको संस्कृति जोगाइराख्ने अभियानमा रहनुभएको जोशीले कोभिड १९ को कारण घरमा दिदीबहिनीबीच नै पूजाआजा गरी देउडा नाचगान गरी मनाएको जानकारी दिनुभयो ।

गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रुपमा मनाउने गर्दछन् ।
देउडा गायक नन्दकृष्ण जोशीले प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्रलाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको जनविश्वास रहेको जानकारी दिनुभयो ।

अभियन्ता जोशीले गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार बसी आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँच थरीका (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ । बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ । गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गरिने जानकारी दिनुभयो ।

उहाँले बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा ’बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने पनि बताउनुभयो ।
जोशीका अनुसार गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा(आजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

देउडा गायक जोशीले विशेष नेपाली मौलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख सुखः बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिने बताउनुभयो ।
उहाँले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास रहेको बताउनुभयो ।

यो पर्वको धार्मिक र सामाजिक महत्व रहेकाले धुमधामसँग मनाउने गरेको व्रतालु महिलाहरूको भनाइ छ । गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पति पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको व्रतालु महिलाहरूको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?