logo
२०८१ बैशाख १२ बुधवार



गाउँमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका सिल

फिचर |


गाउँमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका सिल


नेत्र शाही
खलङ्गा, साउन २३ गते । गाउँमा कोरोना भाइरस देखिएपछि गाउँपालिका क्षेत्रसहित केही गाउँ सिल गरिएको छ । जिल्लाको स्थानीय प्रशासन र कनकासुन्दरी गाउँपालिका जुम्लाले फरक–फरक सूचना जारी गरी गाउँपालिका सिल (आवतजावत बन्द) गरेको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका-३, लुम गाउँका ४२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले तीन दिनसम्मका लागि पूर्णरुपले बन्द गरेको सूचनामार्फत जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष नरवीर रावतद्वारा प्रकाशित सूचनामार्फत लुम गाउँको समुदायमा नै कोरोना भाइरस रोग देखिएकोले त्यसबाट थप सङ्क्रमण फैलन नदिन साउन २२–२५ गतेसम्म गाउँपालिका बन्द गरिएको हो । गाउँपालिकाले सो क्षेत्रका बासिन्दालाई आवतजावत बन्द गर्न सूचनामा आग्रह गरेको हो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय, जुम्लाले समेत एक सूचना जारी गर्दै कनकासुन्दरी गाउँपालिका वडा नं. ३ पूर्णरुपले सिल गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा सो स्थान सिल गरिएको जानकारी गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रेसित विज्ञप्तिमा, पूर्वमा मालिकाबोता, पश्चिममा विराट, उत्तरमा कालेकाँडा लेक र दक्षिण गोठीज्यूला बजारको चार किल्ला क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलापहरू पूर्णरुपले बन्द गर्न अर्काे निर्णय नभएसम्मका लागि सङ्क्रामक रोग, २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) अनुसार निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

यसै गरी कोरोना नतिजा नेगेटिभ भई फिर्ता पठाइएका तर सेल्फ क्वारेन्टाइनमा बसेका तीन जना सुरक्षाकर्मीलाई पुनः सङ्क्रमण देखिएको छ । उनीहरूलाई पुनः पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको हो । अहिले चार जना  आइसाेलेसनमा थपिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रमुख प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?