logo
२०८० चैत्र १५ बिहीवार



लेबनान विस्फोटमा मृतक सङ्ख्या एक सय नाघ्याे, चार हजारभन्दा बढी घाइते

अन्तर्राष्ट्रिय |
फिचर |


लेबनान विस्फोटमा  मृतक सङ्ख्या एक सय नाघ्याे, चार हजारभन्दा बढी घाइते


बेरुत, साउन २१ गते ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी एक सय भन्दा बढीको ज्यान गएको छ ।
करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।

विस्फोट निकै टाढासम्म सुनिएको यहाँका स्थानीयवासीले जनाएका छन् । अहिले पनि सो विस्फोटपछि धुवाँ उडेका तस्बिरहरू यहाँका सञ्चारमाध्यमहरूले दिइरहेका छन् ।
ती तस्बिरहरू हेर्दा अवस्था निकै क्षतविक्षत देखिएको छ । विस्फोटपछिका अनलाइनमा राखिएका भिडिओहरूमा धुवाँको विशाल मुस्लो देखिएको छ र यहाँ धेरै क्षति भएका भौतिक संरचनाको अवस्था पनि देखिएको छ ।

त्यस गोदाममा कुनै बाह्य आक्रमण भएका कारण यो विस्फोट भयो कि आफैँ विस्फोट हुन पुगेको हो भन्ने कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ । लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा राखिएको एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताउनुभएको छ ।

लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भन्नुभएको थियो । उहाँले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताउनुभएको छ ।

उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरूलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन भन्नुभएको छ ।
गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि सञ्चार माध्यमहरूले जनाएका छन् । प्रतिवेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औँल्याइएको थियो ।

विस्फोटप्रति राष्ट्रपति ट्रम्पसहित विश्वका नेताद्वारा दुःख व्यक्त
लेबनानमा भएको विस्फोटबाट कैयौँ नागरिकको ज्यान गएको घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । उहाँले सो घटनालाई एक डरलाग्दो घटना भन्नुभएको छ । ह्वाइट हाउसमा आयोजना गरिएको प्रेस भेटघाटमा सम्वाददाताहरूसँग उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, 'यो एकदमै डरलाग्दो घटना भएको छ, यसबाट लेबनानका कैयौँ नागरिकको ज्यान गएको छ, म लेबनान सरकार र त्यहाँका सबै नागरिकप्रति सान्त्वना दिन चाहन्छु ।' 
उहाँले लेबनानको सरकार र त्यहाँका नागरिकहरुसँग अमेरिकाको राम्रो सम्बन्ध रहीआएको छ म यस्तो अप्ठेरो परेको अवस्थामा लेबनान सरकारलाई आवश्यक सबै खालको सहयोग गर्न अमेरिका सरकार तयार छ भन्ने सन्देश दिन चाहन्छु ।

त्यसैगरी अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँहरूले यस्तो अवस्थामा जेजस्तो प्रकारको सहयोग गर्नु परे पनि आफूहरू तयार रहेको जानकारी लेबनान सरकारलाई गराउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?