logo
२०८० चैत्र १६ शुक्रवार



भ्यागुताको पूजा गरी भोजन खुवाइयो

समाज |


भ्यागुताको पूजा गरी भोजन खुवाइयो


यलु जाेशी

काठमाडौं, साउन १९ गते । जनैपुर्णिमाको दिन नेवार समुदायका किसानहरु धान खेतमा पुगेर भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाँटी राखेर खुवाउने चलन रहिआएको छ ।
सहरी क्षेत्रमा बस्ने नेवारीहरूको धान खेत कमै छ तर पनि बारीमा भएपनि भ्यागुतालाई क्वाँटी र रोटी खुवाउने चलन रहेको छ ।

लोकन्थलीस्थित आफ्नो बारीमा भ्यागुतोलाई पातमा रोटी र क्वाँटी खुवाउन आमन्त्रण दिइरहनुभएको कुसुम श्रेष्ठ भन्नुहुन्छ, ‘भ्यागुताले वर्षा गर्न सहयोग गर्ने भएकोले जनैपुर्णिमाको दिन भ्यागुतोलाई क्वाँटी दिएपछि मात्र हामीले खान्छौ ।

प्रा.डा. चुण्डा बज्राचार्य भन्नुहुन्छ, ‘भ्यागुतालाई भात खुवाउने पर्वलाई नेपाल भाषामा ‘ब्या जा नकेगु’ भनिन्छ । भ्यागुताले किसानले लगाएको बालीनाली बिर्गार्ने कीरा खान सहयोग गर्छ ।
खेती गर्दा कुटोकोदाली चलाउने क्रममा भ्यागुता मर्न पनि सक्छ । त्यस्तो महत्त्वपूर्ण जीवलाई बचाउन उद्देश्यले भात खुवाउने गरेको हो ।’

उहाँका अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरेको थियो । एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले पनि जनैपूर्णिमाका दिन तिनले गरेको गुण सम्झेर भात खुवाई कृतज्ञता ज्ञापन गरेको हो ।

नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने चलन छ । राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरू गुँला बाजा ९एक प्रकारको बाजा० बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्दछन् ।

यसैगरी लप्टे (पात) मा क्वाँटी, रोटी, भात, चिउरालगायतका परिकार बनाइ नयाँ ठिमीका गंगा दुवाल क्वाँटी बोकेर खेतमा भ्यागुतोलाई खाना खुवाउन पुग्नुभयो ।

‘नेवार समुदायले जनैपूर्णिमाको दिन क्वाँटी पकाएर खेतमा भ्यागुतोलाई खुवाउने चलन छ । भ्यागुताले खान्छ नै भन्ने छैन, तैपनि एक भाग छाडिदिनु परम्परा हो,’ उहाँले भन्नुभयो, ‘भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैनन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने गरिन्छ । त्यसैले यो दिन भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन छ ।’

जनैपूर्णिमा अवसरमा मठमन्दिरमा जनै फेर्ने र रक्षाबन्धन बाँध्नेहरूको भीड भए पनि भक्तपुरका किसान खेतको आलीमा बसेर भ्यागुतालाई क्वाँटी खुवाउनमा व्यस्त देखिन्थे । भक्तपुरमा जनैपूर्णिमाका दिन किसानले लप्टेमा खानेकुराको साथै रक्षाबन्धनको धागो, सिन्दूर र ऐना ९भातमा गाडिएका मुलाका चाना० राखेर पनि लाने चलन छ ।

आफू हिँडेपछि भ्यागुताले खान्छन् भन्ने विश्वासमा दुवालले क्वाँटीसहितको परिकार धानको बोटमै राखिदिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?