logo
२०८० चैत्र १६ शुक्रवार



रणनीतिक योजना कार्यान्वयन गर्दै नगरपालिका

राष्ट्रिय |


रणनीतिक योजना कार्यान्वयन गर्दै नगरपालिका


नगेन्द्र सापकोटा

काठमाडौँ, असार २५ गते । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकालाई समृद्ध बनाउने गरी पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । उक्त रणनीतिकअन्तर्गत छवटा महानगरपालिका, ११ उपमहानगर र २७६ वटा नगरपालिकाको भूगोल, स्थानीय आवश्यकता र औचित्यका आधारमा योजना बैङ्क बनाई वित्तीय सङ्घीयता कार्यान्वयन गर्न रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको हो ।
चालूू आर्थिक वर्षबाट सुुरु गरिएको रणनीतिक योजना कोरोना भाइरसका कारण यस वर्ष केही सुस्त भए पनि आगामी चार वर्षमा व्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, आर्थिक, सामाजिक रूपान्तरण र नगरपालिकाले स्थानीय स्रोतसाधन आफैँ परिचालन गर्न सक्ने लक्ष्य लिएको सङ्घले जनाएको छ ।
नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले २९३ वटै नगरपालिकामा पाँचवर्षे रणनीतिक योजना पूर्ण रूपमा कार्यान्वयनमा आएपछि व्यवस्थित सहर निर्माण हुने बताउनुभयो ।
उहाँका अनुसार पाँच वर्षपछि सबै नगरपालिकामा स्थानीय स्रोतसाधन परिचालन, उद्योगधन्दा सञ्चालन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास भएको, नेपालका छवटा महानगर र ठूला नगरपालिका अन्तर्राष्ट्रिय स्तरका नगरपालिकाका रूपमा विकास हुनेछन् ।
सङ्घले नेपाल सरकारका पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी सहितको विज्ञ टोली चयन गरी प्रविधिमैत्री सेवा प्रवाह, सुशासन, व्यवस्थित विकास निर्माण र आधुनिक सहर निर्माणका लागि पाँचवर्षे रणनीतिक योजना बनाएको हो ।
महानगर, उपमहानगर र नगरपालिकाले नेपाल सरकारको दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ आफैँले पाँचवर्षे रणनीतिक योजना बनाई कार्यान्वयनमा ल्याएको हो ।
महानगर, उपमहानगर र नगरपालिकाका सबै वडाको पाँच वर्षभित्र सशक्तीकरण गर्न सङ्घ, प्रदेशका निकायसँग सम्झौता गरी कार्यान्वयन गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, स्थानीय आर्थिक विकास, सेवा प्रवाहमा नयाँ आयाम सिर्जना गर्ने, नगर सुशासन र विकास व्यवस्थापन गर्ने पाँचवर्षे रणनीतिक योजनामा उल्लेख छ ।
पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीले अन्तर्राष्ट्रिय स्तरमा व्यवस्थित नगर निर्माणका लागि रणनीतिक योजना बनाई कार्यान्वयनमा ल्याइएको बताउनुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्यञ्जू श्रेष्ठले नगरपालिकाले बनाएको पाँचवर्षे राणनीतिक योजना पूर्ण रूपमा कार्यान्वयनमा आएपछि समृद्ध नगरपालिका निर्माण हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?